भर्खरै :

सहकारी अभियान वर्गीय आन्दोलनकै महत्वपूर्ण पाटो

सहकारी अभियान वर्गीय आन्दोलनकै महत्वपूर्ण पाटो

मध्यपुर, पुस ६ । सहकारी आन्दोलन काम गरी खाने जनताको आर्थिक, सांस्कृतिक र सामाजिक स्तर उठाउनको लागि अगाडि बढ्नुपर्दछ । रूसमा समाजवादी क्रान्तिको सफलतापश्चात् सहकारी अभियानमार्फत नै समाजवादी व्यवस्थालाई निरन्तरता दिने कार्य गरिएको थियो ।
उक्त विचार नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सांसद सृजना सैजुले नीलबाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा व्यक्त गर्नुभएको हो ।
उहाँले पुँजीवादी व्यवस्थामा सहकारीले पनि पुँजीपतिहरूलाई नै बलियो बनाउने कार्य गर्ने र सहकारीको आर्थिक अनियमितता र घोटालालाई राज्य आफै लागेर संरक्षण गर्ने गरेको तथ्य नेपालको सहकारीका ठगीका श्रृङ्खलाबद्ध घटनाले पुष्टि गरेको बताउनुभयो ।
उहाँले सहकारी अभियान पनि वर्गीय आन्दोलनकै महत्वपूर्ण पाटो भएकोले किसानहरूलाई सङ्गठित गरी पुँजीवादी व्यवस्थालाई कमजोर बनाउन सहकारी अभियान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिनुभयो । समाजवादी अवधारणाअनुरूप चलेका विभिन्न देशहरूमा कुल गार्हस्थ उत्पादनमा सहकारीको मात्रै एकतिहाइ योगदान रहेको भए तापनि नेपालमा सहकारी अभियानले दिशा लिन नसक्नु र राज्यको जिम्मेवारीहीनताको कारण देश कृषिमा परनिर्भर भएको तथ्य उजागर गर्नुभयो ।
उहाँले नेपाली जनताले खाइनखाई जम्मा गरेको रकमसमेत भारत पुगेको र जनताले आफ्नो बचतसमेत फिर्ता लिन नपाएको स्पष्ट पार्नुभयो ।
मध्यपुर थिमि नगरपालिका वडा ८ का अध्यक्ष रमेश थापा श्रेष्ठले स्थानीय पालिकाले आजभोलि विदेश जाने युवाहरूको ट्याक्स क्लियरेन्स, नाता प्रमाणितजस्ता काम बढी गर्नुपर्नाले युवाहरूमा विदेश पुगेपछि सबै समस्याको समाधान हुन्छ भन्ने गलत धारणा व्याप्त भएको विचार राख्नुभयो ।
उहाँले कुनै सीपमा दक्षता हासिल गरी देशभित्रै रोजगारी सिर्जना गर्न सके देश आत्मनिर्भर हुनुका साथै श्रमप्रति सम्मान बढ्ने कुरामा जोड दिनुभयो ।
द्योमा जगत वृद्धाश्रमका अध्यक्ष प्रेमचन्द्र अदुवाले सामाजिक प्राणी भएपछि समाजसेवाको भावनाबाट प्रेरित हुनुपर्ने तथा दुःखी असहायलाई सक्दो सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो ।
सिद्धि गणेश साकोसका विष्णुराम दुमरू, भक्तपुर साकोसका कृष्णसुन्दर प्रजापति, कोपिला साकोसका अध्यक्ष विक्रम वैद्य, थोपा साकोसका अध्यक्ष पञ्चलाल राजवाहक, महालक्ष्मी साकोसका सानुलक्ष्मी गसी, थिवोदिन साकोसका अध्यक्ष प्रेमजन थापा, सिद्धिकाली साकोसका अध्यक्ष वीरकृष्ण प्रजापति, धर्मपुर साकोसका दिलकृष्ण बाटाले साधारणसभाको सफलताको शुभकामना दिनुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव बुद्धकृष्ण चक्रधर, आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिकृष्ण भासिंक र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक प्रकाश नोकुले प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि सैंजुले सहकारीका सदस्यका एसईईमा उत्तीर्ण छोराछोरीहरूलाई प्रशंसा पत्र, मेडल तथा मायाको चिनो वितरण गर्नुभएको थियो भने संस्थाका अध्यक्ष केदार खड्काले अतिथिहरूलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष केदार खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सुरेन्द्र था श्रेष्ठ र अम्बर दली श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *