भर्खरै :

सहकारी वित्तीय कारोबारमात्र होइन

भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टी को ४४ औं पार्टी स्थापना दिवसको अवसरमा सहकारी समाज नेपालको आयोजनामा एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले चीनमा क्रान्तिपछि पारस्परिक सहयोग दल ,प्राथमिक सहकारी संस्था, अगाडि बढेका सहकारी र जनकम्युन हुँदै कृषि विकासमार्फत् चिनियाँ जनताको जीवनस्तर उकासेर समाजवादी आन्दोलनलाई अगाडि बढाएको चर्चा गर्नुभयो । उहाँले नेपालमा पनि सहकारीहरुले जनताको जीवनस्तर बढाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थामार्फत् वित्तीय कारोवारमात्र नभई उद्योगधन्दा कलकारखाना पनि सञ्चालन गरेर देशको सेवा गर्नुपर्ने बताउनुभयो । साथै सहकारीले विभिन्न देशको भाषाको ज्ञान दिलाएर सहकारीकर्मीको सांस्कृतिक स्तर पनि उठाउनु जरुरी भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पार्टीको उद्दयेश्य देशभक्त उद्योगी व्यापारी, प्रगतिशील वुद्दिजिवी र कामदार जनताको नेतृत्व भएको जनताको प्रजातन्त्र हुंदै समाजवाद र साम्यवादमा पुग्ने हो । तसर्थ सहकारी पनि समाजवादको आधारसीला भएकोले सहकारीकर्मीहरुले पनि यसतर्फ सोच्नुपर्ने बताउनुभयो । उहांले पुंजीवादी व्यवस्थामा सहकारी ऐन पनि पुंजीपतिहरुबाटै निर्देशित हुन्छ त्यसो भएतापनि सहकारी समाजका साथीहरुले जनहितमा बढी भन्दा बढी कसरी काम गर्न सकिन्छ भन्ने सोचेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले विदेशी सामान ल्याएर उठेको भन्सारबाट देशको अथतन्त्र बलियो नहुने चर्चा गर्नुहुंदै भारतीय एकाधिकार पूँजीको कारण अर्थतन्त्र परनिर्भर हुंदै गएकोले सहकारीकर्मीहरुले उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । सहकारीले अन्धविश्वासलाई चिरेर विज्ञान र प्रविधिको क्षेत्रमा समाजलाई डोर्याउन पनि भूमीका खेल्नुपर्ने बताउनुभयो ।
गोष्ठिमा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले उत्तर कोरियामा सहकारी र नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले क्युवामा सहकारी विषयमा प्रस्तुतीकरण गर्नुका साथै प्रदेशसभा सदस्य सृजना सैंजुले नेमकिपाको सिद्धान्त विचार अनुसार देश र जनताको सेवाको लागी प्रदेश सभामा काम गर्ने बताउनुभयो । सहकारी अध्ययन समाज नेपालका अध्यक्ष केदार खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका राधेश्याम सुवालले सम्पती शुद्धिकरण, कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन र विशिष्टिकृत संघ संस्थाका विषयमा प्रस्तुतीकरण गर्नुका साथै समाजका महेन्द्र बखुन्छे र मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *