भर्खरै :

पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने

पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने

मध्यपुर, ९ पुस । यही पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुँदै छ । मध्यपुरको बोडे, थिमि र नगदेशमा हुने सो महोत्सवमा आन्तरिक र बाह्य पर्यटक भित्याउने र स्थानीय उत्पादनको बिक्री बढाउने उद्देश्य रहेको छ ।
महोत्सवमा मध्यपुरका सरकारी र संस्थागत विद्यालयको तीन ठाउँमै सांस्कृतिक कार्यक्रम र बोडेमा विज्ञान तथा शैक्षिक प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । बोडेको नछुटोल र विष्णुघाट टोलमा नेवार समुदायमा चल्ने व्रतबन्ध, विवाहसम्बन्धी प्रदर्शनी हुनेछ । त्यस्तै हस्तकला, मूर्तिकला, काष्ठकला, छ्वालीकला, फोटो तथा चित्रकला प्रदर्शनी पनि हुनेछ । धिमे बाजा र बाँसुरी बाजाको पनि प्रदर्शनी हुने सो महोत्सवमा बोडेको पलेस्वां पुखु (कमलपोखरी) मा वाटर साइक्लिन हुनेछ ।
लाछिटोलमा पुस्तक प्रदर्शनीबाहेक सांस्कृतिक नाचगान हुनेछ । बोडेको विभिन्न टोलमा हुने वः मरी, योमरी र चटामरीको प्रदर्शनी महोत्सवको अर्काे आकर्षण हुनेछ । थिमि र नगदेशमा पनि विभिन्न प्रदर्शनी हुनेछ ।
मध्यपुर थिमि नगरपालिकाले महोत्सव सफल पार्न प्रचारप्रसार गरिरहेको छ । महोत्सवको आकर्षण बढाउन मन्दिर र पाटीहरू सफा गरिएका छन् । महोत्सव अवलोकन गर्न आउनेहरूको लागि खाद्य महोत्सवको पनि व्यवस्था गरिएको छ । यसरी नै खपला टोलका द्वारहरू आकर्षक बनाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *