भर्खरै :

सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित हुन नहुने

सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित हुन नहुने

भक्तपुर, १० पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा संस्थाको ३१ औँ स्थापना दिवसको अवसरमा अन्तरविद्यालय÷सहकारी हाजिरजवाफ प्रतियोगिता सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडाध्यक्ष कवांले हाल युवाहरू उच्च शिक्षापश्चात् बिदेसिने गरेको प्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीहरूलाई राष्ट्रप्रति उजागर बनाई जिम्मेवार बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताको पहिलो प्रश्न सोधी प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उहाँले सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही संस्थाका सदस्यहरूलाई सुसूचित गर्नुपर्नेमा जोड दिँदै हाजिरीजवाफ प्रतियोगिताका समसामयिक प्रश्नहरूले विश्वका थुप्रै ज्ञान जान्ने अवसर हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जना स्थानीय युवाहरूको अगुवाइमा स्थापित यस संस्था हाल १७,००० भन्दा बढी सदस्यको परिवार बन्न सफल भएको बताउनुभयो । उहाँले सिद्धि गणेश साकोस सहकारी सिद्धान्तको पालना गरी समुदायमा आधारित रहेको बताउँदै हाजिरीजवाफ प्रतियोगिताले किताबी ज्ञानका साथसाथै अरु ज्ञानको अनुभव दिई प्रतिस्पर्धा गर्न मद्दत पु¥याउनेछ भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले प्रतियोगिता विद्यार्थीहरूको क्षमता र सीप प्रर्दशनी गर्ने मञ्च रहेको बताउनुभयो ।
कार्यक्रमका सभापित एवम् शिक्षा उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले एक आपसमा सहकार्य गर्नु नै सहकारी हो भन्दै सहकारी संस्थाले सदस्यहरूलाई अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानी सिकाउनुपर्ने बताउनुभयो ।
संस्थाका निमित्त व्यवस्थापक चन्द्रप्रसाद दुमरुले संस्थाको ३१ औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी दिँदै प्रतियोगिताले सहभागी सम्पूर्णलाई वित्तीयरूपमा साक्षर बन्ने अवसर पनि रहेको बताउनुभयो ।
शिक्षा उपसमितिका सचिव किरण बनमालाले स्वागत गर्नुभएको थियो भने उपसमितिका सदस्य रामहरि ताम्राकारले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।
अन्तरविद्यालय÷सहकारी हाजिरीजवाफ प्रतियोगिताको फाइनलमा १६५ अङ्कसहित बासु माध्यमिक विद्यालय प्रथम, १६० अङ्कसहित वागीश्वरी माध्यमिक विद्यालय द्वितीय, १२५ अङ्कसहित पारागन एकेडेमी (ख) तृतीय, १२० अङ्कसहित पारागन एकेडेमी (क) सान्त्वना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *