भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक र कर्मचारीहरू आन्दोलित

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक र कर्मचारीहरू आन्दोलित

भक्तपुर, १० पुस । भक्तपुर क्यान्सर अस्पतालमा चरम बेथिति बढेको भन्दै एकातिर अस्पतालका डाक्टर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् भने अर्कोतिर निमित्त कार्यकारी निर्देशक डा.उज्जल चालिसेको विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नवौँ तहका डाक्टर चालिसे वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलनिकट व्यक्ति भएको कारण मन्त्री पौडेल स्वयंले उनको पक्षपोषण गरिरहेको बताइन्छ ।
मन्त्री पौडेललाई खुसी पार्न चालिसेले जथाभावी कर्मचारी भर्ना गरेर अस्पताललाई आर्थिक बोझ थोपरेपछि अस्पतालका कर्मचारीहरू रूष्ट बनेका हुन् । २०७७ कार्तिक २३ गतेदेखि स्वास्थ्य मन्त्रालयमातहत आएको उक्त अस्पताललाई मन्त्रालयले उपकरण खरिद गर्नेबाहेकको बजेट दिएको छैन । कर्मचारीको तलब आफ्नै स्रोतले खुवाउनुपर्छ । जसका कारण चिकित्सक र कर्मचारीलाई तलब खुवाउनसमेत धौधौ रहेको बताइएको छ ।
क्यान्सर अस्पतालमा अहिले बिरामीहरू सहज उपचार नपाएर छटपटिरहेका छन् । विगत २६ वर्षदेखि नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकार मातहत आएपछि अस्पतालमा हाल आएर राजनीतिक नियुक्तिले अनियमितता तथा बेथितिको चाङ लाग्दै आएपछि अख्तियारले समेत उजुरीमा छानबिन गरिरहेको छ ।
सरकारी अस्पतालभित्रै सिटिस्क्यान निजी कम्पनीले सञ्चालन गरिरहेको छ । सर्वसाधारणको हितमा खुलेको सो अस्पतालमा प्रात्ेट ल्याब विगत नौ वर्षदेखि चलिरहेको छ । बिरामीले ल्याब जाँच गरेबापत लिने शुल्कको ७० प्रतिशत रकम निजी ल्याबलाई दिने गरिएको छ ।
सरकारी अस्पतालको फार्मेसीबिना टेन्डर वर्षौदेखि अनियमितता गरिँदै कुनै निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने र बिरामीलाई मर्का पर्ने काम जारी हुँदा पनि नियामक निकायको ध्यान नपुगेको कारण अख्तियार धाउनु परेको गुनासो छ ।
ल्याब टेस्टका लागि उपकरण भए पनि निजीमा पठाउने गरिएको छ ।
कन्फर्म कार्यकारी निर्देशकका रूपमा रहेका डा. ऋषिकेशनारायण श्रेष्ठ उमेरहदका कारण अवकाश भएपछि चालिसेले निमित्त पाएका थिए । अहिले अस्पतालभित्र डा. चालिसेबाहेक अतिरिक्त रमेक प्याजु र जगन्नाथ भुर्तेलको हालीमुहाली चलेको गुनासो छ ।
कुनै पनि कर्मचारीलाई निमित्त प्रमुख दिँदा तीन महिनाका लागि दिइन्छ । तर, राजधानीकै मुटु भक्तपुरमा रहेको केन्द्रीय अस्पतालजस्तो निकाय अहिले पनि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । स्रोतका अनुसार कास्की घर भएका चालिसे वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलका सहपाठी हुन् ।
भक्तपुर क्यान्सर अस्पताल सञ्चालन गठन आदेशमा ११ तहको कर्मचारी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुने व्यवस्था छ । क्यान्सर अस्पतालमा कार्यरत नभए नेपालका ११ तहमा कार्यरत जुनसुकै अस्पतालका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउन सकिने प्रावधान छ । स्वास्थ्य क्षेत्रको सुधारको नारा लगाउदै आएका मन्त्री प्रदीप पौडेलले निमित्तकै भरमा अस्पताल सञ्चालन गरिरहेका छन् ।
डा. चालिसेलाई त्यहाँ राख्नुमा मन्त्रीका आफन्तहरूलाई जागिर दिनु पनि रहेको स्रोतको दाबी छ । हालैमात्र मन्त्री पौडेलले डा. सोविता बानियाँलाई नियुक्ति दिएका छन् भने मन्त्रीकै आदेशमा केही महिना अगाडि मनिष ठाकुरलाई रेडियोलोजिस्ट नियुक्त गरेका छन् ।
पदपूर्ति समितिलाई जानकारी नदिई करारका कर्मचारी भर्ना गरिएपछि अस्पतालका चिकित्सक र कर्मचारीहरू आन्दोलित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *