सुन र सिक्री : तिब्बतको यात्रा विवरण – २
- असार २१, २०८३
एउटा निजी स्कूलमा एक कार्यक्रममा मलाई स्वास्थ्यसम्बन्धी छलफल गर्न बोलाइएको थियो । स्कूल जाँदा शिक्षकले विद्यार्थीलाई भनेको सुनेँ, “हजुरले के भनिबक्सेको, भनिस्योस् न ।”
त्यो वाक्यांश सुनेपछि मैले ठानेँ, शिक्षकले विद्यार्थीसँग जिस्केको होला अथवा विद्यार्थीले केही गल्ती गरेपछि रिसाएर त्यसरी ‘भनिस्योस् न’ भनेको होला । तर पछि थाहा भयो कि सबै शिक्षकले विद्यार्थीसँग त्यसैगरी बोल्दा रहेछन् । मैले उनीहरूसँग तपाईंहरूले किन विद्यार्थीलाई तपाईं, हजुर भनेको भनेर सोध्दा उनीहरूले जवाफ दिए, “हामीलाई आजकल त्यसैगरी बोल्नू भनिएको छ ।”
यस्तो निर्देशन कसले दियो भन्ने जिज्ञासा राख्दा उनीहरूले पाठ्यपुस्तक र तालिमहरूको उदाहरण दिए । पाठ्यपुस्तकमा प्रश्नको उत्तर दिनुहोस्, खाली ठाउँ भर्नुहोस् भनेर लेखिएको छ । अनि तालिम गर्दा पनि विद्यार्थीहरूलाई तपाईं भन्नुहोस् भनेर सिकाइन्छ भन्ने उनीहरूको कुरा थियो ।
त्यो निजी स्कूल थियो । त्यसैले विद्यार्थीलाई बढी आदर गरेको होला भन्ठानेँ । पछि पहाडी जिल्लाका केही सरकारी स्कूलमा जाँदा पनि सानासाना विद्यार्थीलाई पनि शिक्षकहरूले हजुर÷तपाईं सम्बोधन गरेको सुनेपछि त उदेक नै लाग्यो । हुँदा हुँदा कति बाबुआमाले समेत छोराछोरीलाई स–साना नानीलाई, विद्यार्थीलाई तपाई भन्ने चलन कसरी आयो होला भनेर मैले धेरै शिक्षकहरूसँग सोधेँ । केही सरकारी स्कूलका शिक्षकले भने, “हामीलाई तालिम दिँदा नै विद्यार्थीलाई आदर गरेर बोल्नुपर्छ भनेर सिकाइन्छ । अनि विद्यार्थीले पनि सिक्छन् रे । अब त बानी नै परिसक्यो विद्यार्थीलाई तपाईं भन्ने ।
अनि विद्यार्थीले तिमी, तँ भन्न कहिले सिक्छन् त भन्ने प्रश्न गर्दा त्यस्ता शब्द किन सिक्नुपर्यो ? सबैलाई आदर गरेर तपाईं नै भने भइहाल्यो नि भन्ने उत्तर आयो ।
उनीहरूले त्यसो भनेपछि मैले आफ्नो स्कूल पढ्दाको समय सम्झिएँ । हामी स्कूलका नजिकका साथीलाई तँ भन्छौँ, तिमी भन्छौँ । त्यो सम्बोधन जीवनभर रहन्छ ।
४० वर्षअघि स्कूलमा सँगै पढेका केही साथीलाई अहिले पनि तँ भन्छु, कलेज पढ्ने साथीलाई चाहिँ तिमी भन्छु । तिनीहरूमध्ये कुनै औपचारिक मञ्चमा सँगै बस्दा मात्र ‘तपाईं’ भन्छु, मञ्चबाट ओर्लने बित्तिकै तिमी भन्छु ।
यसरी शिक्षकले विद्यार्थीलाई तपाईं भन्दैमा आदर गरेको बुझिन्छ र ? यसो गर्दा त हाम्रो भाषाको सुन्दरता नै जान्छ । अङ्ग्रेजीमा एउटै मात्र तिमी सम्बोधन छ भन्दैमा नेपालीमा त्यसै गर्नु उपयुक्त होला र ?
म पछिल्लो ३ महिनामा तराई र पहाडका गरेर ४०–४५ स्कूलमा गएँ । तराईको, सुदूरपश्चिमका केही स्कूलहरूमा चाहिँ शिक्षकहरूले विद्यार्थीलाई प्रायः तिमी नै भनेर सम्बोधन गरेको सुनेँ । तर, पहाडका, काठमाडौँका स्कूलमा भने तपाईं थोरै सुनेँ । त्यसरी हरेक स्कूलमा जाँदा मैले शिक्षकहरूलाई सोधेँ, “के तपाईँहरू आफ्ना छोरा छोरीलाई पनि तपाईं भन्नुहुन्छ ?”
उनीहरूले उत्तर दिए, होइन उनीहरूलाई तिमी भन्छौँ । बदमासी गरे भने गाली गर्दा चाहिँ तँ भन्छौँ ।
मैले मेरी छोरीहरूलाई केही बदमासी गर्दा तपाईं भन्थेँ । मैले तपाईं भनेपछि छोरीहरूले बुझ्थे कि केही गल्ती भएको छ ।
३०–४० वर्षअघि हाम्रा स्कूल, कलेजका शिक्षकले हामीलाई तिमी नै भन्थे । अहिले विद्यार्थीलाई तपाईं भन्दैमा उनीहरूको मान बढ्ने होइन, ‘तिमी’ भनेर राम्रोसँग व्यवहार गर्दा उनीहरूको सम्मान हुन्छ भन्ने कुरा कसले सिकाउला ?
कति बाबुआमाले आफ्ना सन्तानलाई, भतिजा, भतिजीलाई ‘तँ’ भनेर सम्बोधन गर्छन् । साथी, ठूलालाई तपाईं भन्छन् । त्यसो गर्दा बालबालिकाले कसलाई तपाईं, कसलाई तिमी, कसलाई तँ भन्ने कुरा सिक्छन् ।
तँ भन्ने शब्द पहिले आफू भन्दा कमजोर दासदासीहरूलाई, दलितहरूलाई प्रयोग गरिन्थ्यो, सायद त्यसैले यो शब्द अपमानसँग गाँसियो होला । स्कूलमा पनि पहिले पहिले शिक्षकहरूले विद्यार्थीहरू, विशेषगरी दलित समुदायका विद्यार्थीलाई ‘तँ’ भनेर सम्बोधन गर्थे ।
तर, समाजमा आएको परिवर्तन सँगै, विद्यार्थीलाई अपमानित गर्नु हुँदैन, पिट्नु हुँदैन भन्ने भावना विकसित हँुदै आयो । सायद अपमानजनक शब्द प्रयोग नगर्ने भनेर छलफल भयो होला ।
तँ, तिमी पनि प्रयोग नगर्ने सबैलाई आदर गरेर बोल्नुपर्छ भनेर आवाज उठेपछि लौ त तपाईं भन्ने गरी तालिम दिइयो । तर विद्यार्थीलाई तपाईं भन्नुपर्छ किनभने शिक्षकले जे भन्यो, विद्यार्थीले त्यही सिक्छन् भन्ने अर्थ लगाइयो ।
भर्खर स्कूल जान थालेका ४–५ वर्षका नानीलाई पनि शिक्षकले तपाईं भने । हिन्दी भाषामा पनि तु, तुम र आप जस्ता आदरार्थी शब्दहरू छन् । भारतका स्कूलमा शिक्षकले स्कूलका विद्यार्थीलाई ‘तुम’ अर्थात् ‘तिमी’ भन्छन् । अङ्ग्रेजी स्कूलमा त ‘यू’ भनेपछि मिलिहाल्छ ।
आफ्नो भाषालाई समृद्ध बनाउनुको साटो सबैलाई तपाईं सम्बोधन गर्दा विद्यार्थीलाई मान गरेको बुझ्ने ठान्नु ठीक होइन । त्यसै गर्ने हो भने त भविष्यमा ‘तँ’ र ‘तिमी’ जस्ता शब्द त शब्दकोषमा मात्र भेटिन सक्छ ।
Leave a Reply