चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान
- असार २२, २०८३
अप्रिलका दिन थिए । वासन्ती घामले सुनौला किरण फैलाइरहेको थियो, युद्धले डामेका गाजाका खेतहरूमा; उजाड बस्तीहरूमा । त्यही बेला मेरो परिवारले केही गम्भीर निर्णय लियो ।
मेरा बुबा मुटुको समस्याले सिकिस्त हुनुहुन्थ्यो । ६ महिना लामो जातिसंहारले उहाँको अवस्था नाजुक भइसकेको थियो । ती ६ महिना कटाउन पनि हामीलाई आकाशै थामेजस्तो भएको थियो ।
केही अन्तर्राष्ट्रिय सङ्घसंस्था र स्वास्थ्य मन्त्रालयबाट बुबाको उपचारका लागि इजिप्ट लग्ने अनुमति पाएका थियौँ ।
अनुमतिपत्र मे १६ गतेको थियो ।
सबैको बसोबासको बन्दोबस्त मिलाउन आमा र दिदीलाई पहिले नै पठाउन हामीले इजिप्टको दलाललाई धेरै पैसा तिरेर यात्राको अनुमतिपत्र मिलाएका थियौँ ।
अप्रिलको अन्त्यतिर आमा र दिदीले घर छोड्नुअघिको कुरा थियो त्यो । हामी सबै मध्य गाजाको देएर अल–बलाहस्थित हाम्रो घरको आँगनमा बसेका थियौँ ।
त्यो हाम्रो अन्तिम जमघट थियो ।
त्यो रात हामी धित मरुञ्जेल गफियौँ । हामीले आफ्ना भावी सपनाबारे कुरा ग¥यौँ । हाम्रो अवस्थाबारे कुरा ग¥यौँ । हामी बाँच्छौँ कि भोकभोकै मर्छौँ त भनी अनुमान साटासाट ग¥यौँ । हामीफेरि सामान्य जीवनमा फर्किन सकौँला त भनी घोत्लियौँ ।
त्यो साँझ बुबा निकै पीडामा हुनुहुन्थ्यो । ओछ्यानमा जानुअघि उहाँ मुस्काउनुभयो । भन्नुभयो, “धैर्य राखे आराम मिल्छ ।”
बर्बाद योजना
अप्रिल ३० मा आमा र दिदी इजिप्ट जानुभयो ।
मे ६ मा इजरायली सेनाले रफाह क्षेत्रमा धमाधम हमला गर्न थाल्यो र मे ७ गते इजिप्ट जाने रफाह नाका कब्जा ग¥यो ।
हाम्रो योजना इजरायली जातिसंहारले भताभुङ्ग पा¥यो । आमा र दिदी घरबाट निस्केको तीन दिनपछि हामी घर छोडेर नजिकै एउटा पालमा बस्न बाध्य भयौँ । बमबारी कति बाक्लो थियो भने बुबा र म कतै जान सकेनौँ । त्यही अड्के जस्ता भयौँ ।
यताउता भौतारिँदै हामी पश्चिम गाजाको अल–मवासी क्षेत्रमा पुग्यौँ । त्यहाँ स्वयंसेवकहरूले हामीलाई बालुवामा ससानो पाल टाँग्न मद्दत गरे । त्यतिञ्जेल हामीले सबै सुखसुविधा गुमाइसकेका थियौँ । हामीसँग बदल्नलाई लुगासमेत थिएन ।
बमबारी दन्किने र सेलाउने गथ्र्यो । मेको अन्त्यतिर हो कि जूनको आरम्भतिर हो कुन्नि, एक रात म बमबारीमा पर्दापर्दै बाँचे । विस्फोटले गर्दा मैले आफूले टेकिरहेको जमिन अचानक धर्मराएको महसुस गरेँ ।
कता जाने, कसलाई गुहार्ने, मैले मेसै पाइनँ । हप्तौँसम्म मैले सानातिना सामानको लागि पनि नातागोता र साथीहरूलाई गुहार लगाइरहेँ । गुन्द्री, चकटीका लागि पनि मैले अरुलाई बोलाइरहेँ । तर, मलाई सघाउन त्यहाँ कोही थिएन ।
सकसको बेला मेरो कुनै असली साथी रहेनछ भनी आफैलाई सान्त्वना दिएँ । फेरि यस्तो बेला नसघाउने पनि कहीँ साथी हुन्छ र ?
म बुबाको मुख हेर्थेँ र बलियो देखिन खोज्थेँ । तर, उहाँ अति पीडामा हुनुहुन्थ्यो । उहाँ त्रस्त हुनुहुन्थ्यो । मेरो हाल पनि उस्तै थियो । भाग्नु नै प¥यो भने पनि उहाँलाई लिएर कसरी भाग्ने होला ? यही सोचिरहन्थेँ ।
बालुवामा लाग्ने कीराकिरीले बुबालाई सुत्न दिन्थेनन् । असुविधालाई उहाँले चुप लागेरै खप्नुभयो र मलाई पनि सान्त्वना दिन खोज्नुभयो । तर, उहाँलाई पनि सान्त्वना दिने कोही चाहिएको थियो ।
मेरो छातीमा आगोले पोलेझैँ छटपटी थियो । भित्रभित्रै आक्रोश, असहायपन र निराशा महसुस गरिरहेँ ।
शोक
पीडामा हामी मात्र थिएनौँ । अरु पनि उस्तै पीडाबाट गुज्रिरहेको, अरुले पनि सबथोक गुमाएको र भोकभोकै मर्ने डरले आत्तिएको देखेर मैले आफू नातागोता अनि साथीसङ्गीप्रति कठोर बनेको महसुस गरेँ ।
हामी सबै एउटै डुङ्गामा छौँ । हामी सबै जसोतसो बाँच्ने धामा गर्दै छौँ ।
भाँडभैलो र गञ्जागोलबिच हामी आशा खोज्न जुट्यौँ । हामी अर्थात् बुबा, म र अनायासै भेटिने मानिसहरू आगो बालेर ताप्न बस्यौँ । आपसमा पुराना दिनका सम्झना साटासाट ग¥यौँ । पीडा र छटपटीबिच हाँस्न खोज्यौँ ।
दिन पनि हप्ताजत्तिकै लामा लागे । इजरायली जातिसंहार झनभन्दा झन् बाक्लिँदै गयो । जीवित रहने हाम्रो अठोट पनि बढ्दै गयो ।
अल–अजार विश्वविद्यालयमा मैले फार्मेसीको पढाइ जारी राखेँ । कक्षा कहिले चल्थ्यो त कहिले चल्थेन । वास्तवमा २०२३ अक्टोबर ११ को दिन हाम्रो विश्वविद्यालयमा बमबारी भएको थियो । त्यसपछि पनि पटकपटक त्यहाँ बमबारी भइरह्यो । तर, अनलाइनमा रेकर्ड गरिएका लेक्चर हेर्न पाइन्थ्यो ।
यसको अर्थ लेक्चर डाउनलोड गर्न र गृहकार्य बुझाउन मैले इन्टरनेट भएको इलाका खोज्नुपथ्र्यो । यसकारण, बुबालाई अल–मवासीमै छोडेर बेलाबेला म यताउता लाग्नुपथ्र्यो ।
अगस्त महिना आयो । बुबाको अवस्था असाध्यै नाजुक थियो । उहाँ मुस्किलले खानपिन गर्नुहुन्थ्यो । उहाँको निर्धो स्वर सुनेर मलाई खपिनसक्नु हुन्थ्यो ।
तर, मेरो परीक्षा पनि नजिकिँदै थियो । अगस्त २३ गते काकाकी छोरीलाई बुबासँग छोडेर म पढ्न गएँ ।
त्यही दिन बुबा बित्नुभयो । आमा र दिदी गएपछिका सबै महिना म र बुबाले सँगै बिताएका थियौँ । तर, अन्तिम क्षणमा म उहाँसँग थिइनँ ।
त्यो साँझ पश्चिम गाजाको त्यो बलौटे तटमा रहेको हाम्रो सानो पालमुनि म एक्लै बसेँ । मेरो मुटु भक्कानियो । दर्के झरीझैँ आँखाबाट बर्बरी आँसु खसे । उहाँको हाँसो नै नभएको संसारमा म कसरी बाँच्न सकुँला ? हाम्रो घरै गुञ्जायमान हुने उहाँको बलियो र घन्किँदो स्वर नसुनी जीवनमा कसरी अघि बढ्न सकुँला ?
बुबा बित्नुभएको खबर आमालाई कसरी सुनाउने ? मलाई थाहा थिएन । तैपनि, आफूसित बचेको थोरैतिनो बल जुटाएर मैले उहाँलाई बताउने निधो गरेँ ।
उहाँको शोकलाई म यहाँ शब्दमा उतार्न सक्दिनँ ।
आशा
परीक्षामा म पास भएँ ।
म अल–मवासीमै बस्छु । बलौटे तटमा मेरो एउटा सानो पाल छ ।
म अझै पनि एक्लै छु ।
एकान्तमा म आजभोलि केही लेख्ने गर्छु । डायरीमा म आफ्ना भावना र विचार टिप्ने गर्छु ।
लेख्नाले अतिकति आराम मिल्छ ।
इजिप्टमा अन्ततः हामी बस्न मिल्ने ठाउँ भेटाउनुभएछ आमा र दिदीले; आमाले सुनाउनुभयो । खबर सुनेर गौरव लाग्यो तर कताकता मन आत्तिएझैँ भयो । म त्यहाँ पुगे फर्केर गाजा आउँला त ? बुबाका सबै सम्झौताहरू बास गरिरहेको मेरो यो मातृभूमि यत्तिकै छोडेर के म जान सकुँला त ?
तर, रफाह नाका अझै बन्द छ । मलाई छनोट गर्ने सुविधा छैन ।
मेरो छनोट शोक र आशाबिच अड्कियो ।
जातिसंहारबारे जति कुरा गरे पनि तिनीहरूले केही कुरा कसैलाई बताउँदैनन् । जतिसुकै क्षति र विनाश भए पनि; सदैव, सर्वत्र, सबैका आँखामा पीडा मडारिने भए पनि; भोक र सन्त्रासले आच्छुआच्छु पारे पनि जीवनरथ चलिरहन्छ ।
जीवन चलिरहन्छ र कसरी बाँच्ने भन्ने छनोट गरे पुग्छ । बुबाले सधैँ हामीलाई दृढ बन्नू र चुनौतीको सामना गर्नबाट कहिल्यै नभाग्नू भनी सिकाइरहनुहुन्थ्यो ।
त्यसैले मैले आशा रोजेँ । आफ्नो मनको घाउ पुर्न मैले आशा रोजेँ । मैले आशा रोजेँ किनभने मेरो परिवारलाई आशा चाहिएको छ; मेरा जनतालाई आशा चाहिएको छ; बुबा बाँच्नुभएको भए पनि उहाँलाई आशा चाहिन्थ्यो ।
मेरा बुबा मुन्दर हम्दुनाएक सुचीकार हुनुहुन्थ्यो । मलाई लाग्छ, हामीलाई उहाँको आशीर्वाद सदैव रहनेछ र मेरो जीवनयात्रामा उहाँ सदैव साथ रहनुहुनेछ ।
(लिना गाजाकी लेखिका तथा फार्मेसीकी छात्रा हुन् ।)
डिसेम्बर १९, २०२४
अनुवाद : सम्यक
Leave a Reply