भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
चिनियाँ कम्युनिस्ट पार्टीलाई निर्देशन गर्ने सैद्धान्तिक आधार माक्र्सवाद–लेनिनवाद हो । चिनियाँ कम्युनिस्ट पार्टी समस्त चिनियाँ जनताको नेतृत्वको केन्द्रीय शक्ति हो । यो शक्तिबिना समाजको उद्देश्य पूरा हुन सक्दैन । माक्र्सवादी–लेनिनवादी सिद्धान्त र विचारबाट सुसज्जित भएरै चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतामा नयाँ कार्यशैली ल्याएको छ । आज चीन विश्वलाई बाटो देखाउने देश बनेको छ । क्रान्तिकारी सिद्धान्त तथा इतिहासको ज्ञान र व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहोउञ्जेल कुनै राजनीतिक दलले क्रान्तिकारी आन्दोलनलाई विजयतर्फ लैजान सक्दैन । नीति नै क्रान्तिकारी पार्टीको व्यावहारिक कारबाहीहरूको आरम्भ बिन्दु हो । नीति र कार्य नीति पार्टीका ज्यान हुन् । यसको पालना र कार्यान्वयन पार्टीका सबै नेता कार्यकर्ताले गर्नुपर्ने हुन्छ । माओ त्सेतुङले भनेका थिए, “वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै विशेष वर्गको सदस्य हुन्छ र हरेक किसिमको विचारमा विशिष्ट वर्गको छाप हुन्छ ।” कुनै पनि प्रतिक्रियावादी तथा साम्राज्यवादका आक्रामक शक्तिहरू आफूखुसी इतिहासको मञ्चबाट ओर्लन चाहँदैनन् । बरु, उनीहरू आफ्नो प्रभाव कायम गर्न अनेक मन्त्रयुद्ध र षड्यन्त्रहरू रचिरहन्छन् ।
क्रान्तिकारी पार्टी भनेको जनताको पथप्रदर्शक हो । क्रान्तिकारी पार्टीले बहुमत जनताको प्रतिनिधित्व गर्छ । त्यसले जनतामाझ भ्रम फैलाउँदैन† गलत बाटोमा लग्दैन† झूटको राजनीति गरेर, लोभलालच देखाएर जनतालाई फसाउँदैन । माओ त्सेतुङको नेतृत्वमा बनेको चिनियाँ कम्युनिस्ट पार्टीले बहुमत जनताकै प्रतिनिधित्व गरेर सङ्घर्ष गरेको थियो† सङ्घर्ष गरेर सफलता पाएको थियो । तर, प्रतिक्रियावादीहरू आफू हारे पनि कुनै न कुनै षड्यन्त्रहरू बुनेर फेरि सत्तामा जाने प्रयास गरिरहेका हुन्छन् । यसकारण, राजतन्त्रात्मक या पुँजीवादी व्यवस्था अन्त भए पनि उनीहरू जनतामाझ विभिन्न किसिमबाट लागिरहेका हुन्छन् । नेपालमा राजतन्त्र अन्त्य भएको दसकौँ भयो । तर पनि यहाँ राजावादीहरू क्रियाशील छन् । यस्तो क्रियाकलाप जहाँ पनि हुन्छ । चीनको प्रगतिमा बाधा हाल्न, चिनियाँ–सरकारप्रति चिनियाँ जनताको विश्वास गुमाउन साम्राज्यवादी अमेरिकाले अनेक षड्यन्त्र बुनिरहेको कुरा संसारका राष्ट्र प्रमुख र न्यायप्रेमी जनतालाई थाहा नभएको होइन ।
नेता माओ त्सेतुङले भनेका थिए, “संशोधनवाद वा दक्षिणपन्थी अवसरवाद पुँजीवादी ढङ्गको विचार हो । संशोधनवादी र दक्षिणपन्थी अवसरवादीहरू मुखले मात्र माक्र्सवादी हुन् ।” उनीहरू भौतिकवाद र द्वन्द्ववादको विरोध गर्छन् । उनीहरू समाजवादी निर्माणको विरोध गर्छन् । नेपालका आफूलाई ठुला भनिने कम्युनिस्ट पार्टीहरू सरकारमा रहे पनि नरहे पनि समाजवादी प्रचार अभियानमा लागेका सच्चा कम्युनिस्टको विरोध गर्छन् । समाजवाद स्थापनाको निम्ति लागेको दलबाट शिक्षा लिएर आफू पनि समाजवादी समाज निर्माणमा लाग्नुपर्ने हो । तर, ती नै दलको चर्काे विरोध गरिएको हुन्छ । सच्चा कम्युनिस्ट पार्टीको विरोध गरेर आफू अझ सच्चा पार्टीको परिचय दिने कुत्सित प्रयास यहाँ भइरहेको छ । समाजवादी क्रान्तिको निम्ति समाजवादी शिक्षा जनतामाझ पु¥याउनुपर्छ; जनतालाई त्यसबारे सुसूचित र सङ्गठित गर्नुपर्छ । के नेपालका सबै कम्युनिस्ट पार्टीहरू समाजवादी क्रान्तिको बाटो तयार गर्न लागिरहेका छन् ? सरकारको नेतृत्व गर्न पाएपछि कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार भुल्ने, छाड्ने या बेवास्ता गर्ने कम्युनिस्ट पार्टीले देशमा आमूल परिवर्तन गर्ला भन्ने विश्वास छैन ।
कम्युनिस्ट पार्टी सरकारमा होस् या नहोस् आफ्नो सिद्धान्त र विचार छोड्दैन । सिद्धान्त र विचार नै दलको काम गर्ने आधार भएको हुँदा त्यसलाई व्यवहारमा लागु गर्न अघि बढ्नुपर्ने हो । नेपालका ठुला भनिने कम्युनिस्टहरू अर्काे कम्युनिस्ट पार्टीको विरोध गरेर पुँजीवादी पार्टीको समर्थन गरी घाँटी जोड्न पुग्छन् । उनीहरू मित्रलाई शत्रु र शत्रुलाई मित्र ठानेर साँठगाँठ गर्छन् । हरेक कम्युनिस्ट पार्टीले सत्यलाई हृदयङ्गम गर्नुपर्छ; बहुमत जनताको पक्षमा वकालत गर्नुपर्छ । समाजवादी मुलुकहरू विकास, न्याय, समानता र शान्ति चाहन्छन् । उनीहरू विश्व युद्ध चाहँदैनन् । तर, साम्राज्यवादी देशहरू विश्व युद्ध गरेर या देश देश जुधाएर आफ्नो हतियार बेची धनी बन्न चाहन्छन् । यो नै समाजवादी देश र साम्राज्यवादी या पुँजीवादी देशको फरक हो ।
संसारभरिका साम्राज्यवादी र प्रतिक्रियावादीहरू कम्युनिस्टको सरकार या वामपन्थीहरूको सरकार चाहँदैनन् । तिनीहरू कहिले पनि कम्युनिस्टहरूलाई माथि उठाउन चाहँदैनन् । साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाको छाप मेटिएला, सधैँ पहिलो देश नहोला र संसारमा राम्रो छाप पर्ला भनेरै अमेरिकाले चीनको विरोध गरिरहेको हो† चीनलाई कमजोर पार्न, चीनको विकासमा अवरोध पार्ने खालका षड्यन्त्रहरू बुनिरहेको हो । कहिले तिब्बतमा उपद्रव गर्न दलाई लामालाई उचाल्ने त कहिले हङकङलाई उचालेर चीनको विरोध गर्ने भूमिका बनाइरहेको छ । साम्राज्यवादी देशहरूको त्यो प्रयासलाई असफल पार्दै चीन अघि बढिरहेको छ । चीन विश्वका शान्तिप्रेमी, न्यायप्रेमी र जनतासँग विकासको अवधारणा ल्याउँदै एकाकार गरिरहेको छ; विश्वका देश र जनताको विश्वास लिने काम गरिरहेको छ । आज साम्राज्यवादी देशहरूको बदनाम हुँदै छ; संसारका जनतासामु उदाङ्गिँदै छ किनभने अमेरिकाले विश्वको निम्ति सुकर्म होइन कुकर्म गरिरहेको छ । यो विश्वले देखिरहेको यथार्थ हो ।
Leave a Reply