भर्खरै :

आफ्ना जनताको पुरानो पीडा अभिव्यक्त गर्ने गाजाका युवा कवयित्री एवं उपन्यासकार हेबा

आफ्ना जनताको पुरानो पीडा अभिव्यक्त गर्ने गाजाका युवा कवयित्री एवं उपन्यासकार हेबा

इजरायली सेनाले अक्टोबर ७, २०२३ पछि जथाभावी हवाई बमबारी सुरु गरेपछि गाजावासीहरूलाई उत्तरमा आफ्नो घर छाडेर दक्षिणतिर भाग्न चेतावनी दिएको थियो । अन्य हजारौँ प्यालेस्टिनीहरू जस्तै, ३२ वर्षीया कवि र लेखक हेबा अबु नादाले पनि उत्तरमा आफ्नो घर त्यागिन् र दक्षिणी गाजाको खान युनिस सहरमा आफ्ना आफन्तहरूसँग शरण खोजिन् । यद्यपि, जातिवादी इजरायली शासनको व्यापक बमबारी अभियानले दक्षिणी गाजालाई पनि छोडेन र युवा आशावादी प्यालेस्टिनी कवि एवं उपन्यासकारसहित धेरै विस्थापित मानिसहरूलाई मार्यो । संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेझैँ “गाजामा जाने कुनै सुरक्षित स्थान छैन ।”
प्यालेस्टिनको साहित्यिक वृत्तमा लोकप्रिय नाम र आफ्नो लेखनका लागि धेरै पुरस्कार जितेकी हेबा अबु नादाको जन्म सन् १९९१ मा साउदी अरबको मक्कामा भएको थियो । तिनको जन्म गाजाको उत्तरपूर्वी प्यालेस्टिनी गाउँ बेइट जिरजाबाट बसाइँ सर्न बाध्य शरणार्थी परिवारमा भएको थियो । १९४८ मा अरब–इजरायली युद्धमा परिवारलाई विस्थापित गर्दै यो गाउँलाई इजरायली सियोनिस्ट सेनाले कब्जा गरेको थियो । त्यसपछि उनको परिवार गाजापट्टीमा सर्न बाध्य भएको थियो ।
एक युवा महिला प्यालेस्टिनी कवि र लेखकको रूपमा अबु नादाले तीन कवितासङ्ग्रह सहलेखन गरिन् । २०१७ मा उनले आफ्नो पहिलो उपन्यास “उक्सुजिनलासलिल–मावता (मृतका लागि अक्सिजन होइन) को लागि उपन्यास वर्गमा रचनात्मकताको लागि शारजाह पुरस्कारमा दोस्रो स्थान जितिन् । आफ्नो उपन्यासमा, अबु नादाले न्यायको मुद्दा उठाइन्, कब्जामा रहेको प्यालेस्टिनीहरूको कठोर वास्तविकतालाई प्रकाशमा ल्याइन् र यसलाई २०११ को अरब विद्रोहसँग तुलना गरिन् ।
३२ वर्षीया लेखिकाले आफ्ना लेखहरूमार्फत आफ्ना जनताको बलियो इच्छाशक्ति, स्वतन्त्र र सम्मानजनक जीवनको चाहना, कब्जाकारी इजरायली शासनले गरेको जातीय भेदभाव र सत्ता कायम राख्ने लालसामा तानाशाही शासनद्वारा गरिएका अनगिन्ती अत्याचारहरूलाई चित्रण गरेकी छिन् ।
उनको चर्चित उपन्यास ‘अक्सिजन इज नट फर द डेड’ अहिले चौथो संस्करणसमेत प्रकाशित भइसकेको छ ।
‘गाजाकी छोरी’ भनेर चिनिने हेबा अबु नादाले प्यालेस्टिनका प्रख्यात कवि नाहिद अल–रेयसको नाममा आयोजना गरिएको प्रतियोगितामा लघुकथा श्रेणीमा प्रथम स्थान हासिल गरिन् ।
अल–अक्सा तुफान अपरेसनपछि, अबु नादाले आफ्नो सामाजिक सञ्जाल खाताहरू प्रयोग गरी इजरायली हवाई हमलाहरूको परिणामस्वरूप साधारण प्यालेस्टिनीहरूले सामना गर्नुपरेको समस्याहरूको दैनिक विवरण प्रस्तुत गरिन् ।
अक्टोबर २० को फेसबुक पोस्टमा अबु नादाले लेखिन्,

“ईश्वरसित, हामी गाजामा या त सहिदहरू हौँ वा मुक्तिका साक्षीहरू,
र हामी सबै हामी कहाँ हुनेछौँ हेर्न पर्खिरहेका छौँ ।
हामी प्रत्याशामा खडा छौँ, हे ईश्वर तपाईँको दिव्य प्रतिज्ञाको”
सोही दिन ती युवा लेखिकाको हत्या भयो । उनको शक्तिशाली आवाज सदाको लागि मौन भयो ।
उनको दुःखद हत्यापछि, प्यालेस्टिनको संस्कृति मन्त्रालयले इजरायली हवाई आक्रमणमा लेखकको मृत्युप्रति गहिरो शोक व्यक्त गर्न फेसबुकमा लेख्यो । “साहित्यमा उनको ठुलो योगदानको लागि व्यापकरूपमा मान्यता प्राप्त अबु नादाले आफ्ना विचारोत्तेजक उपन्यासहरू, कविता र कथाहरूका साथ अमिट छाप छोडेका छन्,” मन्त्रालयले पोस्ट गरेको छ ।
अक्टोबर ८ मा लेखिएको उनको अन्तिम ट्वीटमा, गाजा–आधारित कविले लेखेकी थिइन्, “गाजाको रात रकेटको चमकबाहेक अँध्यारो छ,
बमको आवाजबाहेक शान्त,
प्रार्थनाको आरामबाहेक डरलाग्दो,
सहिदहरूको ज्योतिबाहेक कालो ।
शुभरात्रि, गाजा ।”
आफ्नो मृत्युको एक दिनअघि अबु नादाले घेरामा परेको इलाकामा इजरायली नरसंहार अभियानमा आफ्ना साथीहरू गुमाएकोमा शोक व्यक्त गरेकी थिइन्, “मेरो साथी सर्कल घट्दै छ, जताततै छरिएका सानो कफिनमा परिणत हुन्छ । मिसाइल प्रक्षेपण हुँदा, म मेरा साथीहरूसँगको क्षणिक क्षणहरू बुझ्न सक्दिन ।
“यी नाम मात्र होइनन्, यी हाम्रा प्रतिबिम्ब हुन्, प्रत्येकको अनुहार र पहिचान छ ।”
क्लिनिकल पोषणमा मास्टर डिग्रीको साथ अबु नादाले अनाथहरूको शिक्षाको लागि जोशका साथ काम गरिन् । उनी गाजामा गिफ्टेड चिल्ड्रेन (अनाथ बालबालिका) का लागि केन्द्रमा साइन्स क्लबकी नेता थिइन् । प्रायः बच्चाहरूसँगको उनको काम र उनीहरूसँग साझा गरेको विशेष सम्बन्धको बारेमा पोस्ट गरिरहन्थिन् ।
‘आशाको योद्धा’ को रूपमा प्रशंसा गरिएको, अबु नादाको फेसबुक पोस्टले आफ्नो कब्जामा रहेको भूमिको मुक्तिको लागि सङ्घर्ष गरिरहेको प्यालेस्टिनीको रूपमा उनको निडर विश्वास व्यक्त गरिन् ।
हामी आफैलाई अराजकताको बिचमा आनन्दको अवर्णनीय अवस्थामा भेट्टाउँछौँ :
“भग्नावशेषहरूको बिचमा, एउटा नयाँ सहर देखापर्छ–हाम्रो लचिलोपनको प्रमाण,
पीडाको रोदन हावामा प्रतिध्वनित हुन्छ, डाक्टरहरूको रगतले दागिएको लुगामा मिसिन्छ,
शिक्षकहरूले आफ्ना गुनासोहरूको बाबजुद, आफ्ना साना विद्यार्थीहरूलाई अँगालो हाल्छन्, जबकि परिवारहरूले प्रतिकूलताको सामना गर्दा अटल बल प्रदर्शन गर्छन् ।”
उनको मृत्युको केही दिनअघि, युवा कविले यी पङ्क्तिहरू रचना गरिन्, उनको रक्तस्राव मातृभूमिको उदास चित्र चित्रण गरिन् ः
“हामी अहिले सातौँ स्वर्गमा छौँ
नयाँ सहर निर्माण गर्ने रगतले लत्पतिएको पोशाकमा चिकित्सकहरू,
शिक्षकहरू आफ्ना विद्यार्थीहरूसँग धैर्य, दुःखले अछुतो परिवार,
संवाददाता स्वर्गको फोटो खिच्दै,
अमिट प्रेमको गीत गाउने कविहरू,
सबै गाजाबाट आएका हुन्,
माथि नयाँ गाजा निर्माण गर्दै,
गाजा, निर्दोष ।”
प्यालेस्टिन अभूतपूर्व मृत्यु र विनाशबाट गुज्रिरहेको बेला यो शक्तिशाली कविता मानव चेतनाको गहिरो कुनाबाट निस्कन्छ ।
मारिएका कविले लेखेका यी उत्तेजक पदहरूले प्यालेस्टिनीहरूले मृत्युको सामना गर्ने तरिकालाई उनीहरूको दृढ विश्वास र विश्वासलाई देखाउँदै भयानक सुन्दर तरिकामा सञ्चार गरेकी थिइन् । अबु नादाको असामयिक मृत्युले उनलाई सुरु गरेका परियोजनाहरू पूरा गर्न समय दिएन ।
युवा कविसँग नजिकबाट काम गरेका विश्वविद्यालयका प्राध्यापक यासेर शाहिनले असाधारण विद्यार्थी र सहकर्मी गुमाएकोमा दुःख व्यक्त गरे । उनीहरूले ‘आयला’ नामक चलचित्रमा सहकार्य गर्दै आएको उनले बताए ।
“आज मैले गाजामा मेरा एक विद्यार्थीको हत्याको डरलाग्दो र दुःखद समाचार प्राप्त गरेँ, एक साहसी र प्रभावशाली कवयित्री र लेखिका हिबाले सधैँ विश्वव्यापी रूपमा प्रदर्शन हुने चलचित्र लेख्ने सपना देखे,” उनले सामाजिक सञ्जाल पोस्टमा लेखे ।
“हामीले उनको कुनै पनि पटकथा पूरा गर्न सक्नुअघि हिबा मारिइन्, केही मस्यौदा चरणमा छन्, अरूहरू पूरा हुने प्रक्रियामा छन् । हिबा तिम्रो पटकथा कसले पूरा गर्छ ?”

– प्रेस टीभी अनलाइनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *