भर्खरै :

लेखेकी रहेछन् पारिजातले आफैसित….

लेखेकी रहेछन् पारिजातले आफैसित….

जीवनका फरक फरक आभाहरू हुँदा रहेछन् । कतिले त्यसलाई शब्दमा कोछनर्् र देखिन्छन् । कतिका आभाहरू भोगाइमै घोलिएर सकिँदा रहेछन् । पारिजात यस्तै एउटा जीवन हो जो लेखिएका छन् र देखिएका छन् । निराशा र शून्यताको बिच अस्तित्वको खोजी गर्दै पारिजात पारिजात बनेका छन् । आज उनै पारिजातको नितान्त वैयक्तिक पाटो अभिव्यञ्जित पुस्तक ‘ भावुकताको सूर्यास्त अनास्थाको अन्धकार’ पढ्न पाइयो । पारिजातलाई नजिकबाट चिन्न पाइयो । उनका कृतिहरूको लेख्य आधार र अभिव्यञ्जना सजिलै बुझ्न पाइयो । यद्यपि, एउटा प्रश्न भने बाँकी नै रह्यो कि मुखियाजीले पारिजातको भौतिक जीवनमा स्थान नपाउनुको कारण के रहेछ ? जबकि पारिजातले मुखियाजीलाई मानसिकरूपमा कहिल्यै छोड्न सकिनन् यद्यपि मुखियाजीप्रतिको आफ्नो भावना कहिल्यै साट्न चाहिनन् ।
प्रस्तुत पुस्तक यसैकारण पनि विशेष छ कि पारिजात आफैले आफ्नो यो संस्मरणलाई पुस्तकमा उल्लेखित धनुवर मुखियाको जीवन रहञ्जेल प्रकाशन नगर्न भनेका रहेछन् ।
शारीरिक कठिनाइ र त्यसको समयमा राम्रो उपचार नपाउनका नैराश्यता र दिक्दारीले निम्त्याइएका पीडा र कुण्ठाहरूमा पारिजातलाई पढ्दा कता कता पाठक मन सिरिङ्ग हुन्छ । उपन्यासभित्र त कुनै काल्पनिक पात्रलाई उभ्याइन्थ्यो तर स्वकथनमा वास्तविक घटनाको वर्णन र आफ्ना प्रिय लेखकका चोटहरू कल्पन गा¥हो हुँदो रहेछ । एकताका पारिजातलाई नैराश्यता र शून्यताका प्रेषक, निस्सारतावादी र विसङ्गतिवादीका कोणबाट मात्र पनि हेरिन्थ्यो, कारण उनका औपन्यासिक कृतिहरूको झुकाव त्यसैमा बढी केन्द्रित देखिन्थे । तर, उनको विसङ्गतिवादभित्रको अस्तित्ववाद र क्रान्तिकारी चेतले छुट्टै आभा फैलाएको छ । यसै संस्मरणमा उनका वैचारिक पक्ष, मानसिक तथा शारीरिक अवस्थाप्रतिको द्वन्द्व, विवशता र बाध्यताहरूबिच बितेका आफ्ना कष्टपूर्ण दिनहरूको वर्णन पाइन्छ । पारिजात साँच्चिकै पीडा लुकाएर हाँस्ने व्यतिm रहेछन् । उनी एकान्तमा आफैसित लड्दै रुँदा रहेछन् । सायद शब्दहरूमा पनि उनी नरोइदिएकी भए पारिजातका हाँसोका अर्थहरू खुल्ने नै थिएनन् । यसै कुरालाई लिएर प्रकाशकीयमा लेखिएको छ, ‘पारिजातको चिन्तनलाई परिष्कृत बनाउँदै आधी आकाशसम्म ल्याई पु¥याउने प्रारम्भिक गोरेटोको एउटा घुम्ती हो यो कृति । स्वपहिचानका मामिलामा कसैसँग सम्झौता नगर्ने, अरुको सहानुभूतिबाट टाढै रहने र श्रमप्रति निष्ठावान् रही रोगले दिएको शारीरिक पीडा खपेरै बाँच्न प्रेरित भइरहने पारिजातको अन्तर्दृष्टि यसमा प्रस्टसँग आएको छ ।’ (पृ.झ)
पारिजात आप्रवासी नेपाली जसले जीवनभर नेपाली साहित्यका लागि कलम चलाइन् तर नेपाली हुनुको प्रमाण कहिल्यै पाइनन् । आफ्नो जीर्ण शरीरमा कुचिएर पनि मानवता र अस्तित्वको खोजी गर्न नेपाली परिवेशलाई छोडिनन् । प्रस्तुत संस्मरण २०२८ सालतिर लेखिएको रहेछ । आफू शारीरिकरूपमा निकै शिथिल हुन थाल्दाका भोगाइहरू सँगसँगै परिवार, समाज, सरकारी संयन्त्र, आफैभित्र बाँधिएर रहेको प्रेम, रोगसितको क्षण क्षणको लडाइँ अनि आफ्नो स्वाभिमान र कोमलताभित्रको कठोरता आदि कुराहरू पारिजातले बिनारोकटोक लेखेका छन् ।
नैराश्यतामा डुवेर उनले लेखेकी छन्, “लाग्छ म अघोर दुःखी छु यस संसारमा । मानसिक शान्तिको मेरा निम्ति कुनै पनि औषधि छैन । सुखलाई मैले कहिल्यै खोज्न जानिनँ । सुखको अघि पुगिसकेपछि म सधैँ घमण्ड गरेर हिँडेकी छु ।” (पृ.८)
आफूले अस्वीकारेको प्रेमका विषयमा उनी लेख्छन्, “अर्थात् एउटा मान्छे चुकिसकेको छ मेरो जीवनमा ।……… उनी एउटा अटल गहिराइसम्म बुझिदिन सक्ने खालका मान्छे छन् स्वभावले । आवश्यकताभन्दा बढी भलादमी र एउटा मेधावी छात्र स्कूल–कलेजको । दृष्टता मैले कहिल्यै पाइँन उनमा । उनी पनि त कविता लेख्छन्, कथा लेख्छन् । शिष्ट अगाध सम्मान गरिदिन्छन् र बस यति भन्छन्, “अनौठी छ्यौ, अद्वितीय छ्यौ ।” हामी स्वीकार गर्छौँ एक अर्काका असफलतालाई, पाएर हराउनुको पिरलाई र अब कहिले नपाउनुको निस्सारतालाई ।” (पृ.१३–१४)
खिइँदै गइरहेको शरीर र मानसिक तनावले व्याप्त अवस्था र त्यसबिच देखिने यन्त्रवत हाँसो माथि व्यङ्ग्य गरेर कवि भूपीले पारिजातको नाममा कवितै लेखेका पनि रहेछन्, ‘के बाँच्छ्यौ तिमी बरु आत्महत्या गर ।’
पारिजात !
स्वास्थ्यवद्र्घक टनिकको विज्ञापनमा
छापिएको तस्बिरको नक्कली हाँसो जस्तो दिन
आधुनिक कल्चरल सोमा लोक कलाककारका रूपमा
नक्कली सम्मान पाएर
काँधमा सारङ्गी र आँखामा व्यथा बोकेर
झुप्रोतिर पैदल लम्किएको गाइने जस्तो साँझ
लाटोकोसेरोको फर्फराहट
स्यालको रुवाइ
भुस्याहा कुकुरको भुकाइ
र घोर एकाकीपनले भरिएको रात
यी तीन चीजले बन्द छ पारिजात
यी तीन सीमाभित्र बन्द छ पारिजात ।
– भूपी शेरचन ( पृ.३१)
कविताभित्रको व्यङ्ग्यले पारिजातलाई कति चिमोटे छ र लेख्छिन्, ‘कस्ता कटु व्यङ्ग्यहरू लुकेका छन् यस कविताभित्र ? मलाई डर लाग्छ, कहीँ सबैले देखिसकेका त छैनन् मेरो यो निर्धो अवस्थालाई ? के भूपी परिचित छ मेरो एकाकीपनसँग ? असम्भव के छ , कविको बुझ्ने क्षमता निकै पो सूक्ष्म हुन्छ । (पृ.३१)
पारिजातको जीवनमा जति नै शारीरिक र मानसिक कठिनाइहरू आइपरे तापनि लेख्य जीवन जिउने जिजीविषा भने कहिल्यै टुङ्गिएन र त उनले लेखेकी छन्, जीवनको सबै पक्षमा हरेस खाए तापनि कलमको अघि म सधैँ जिउँदो र सक्रिय बनिरहेकी छु । (पृ.३२)
नेपाली लेखकहरूको साझा भोगाइ अर्थात् आर्थिक अभाव । पारिजात मात्रलाई यसले किन छोडोस् । लेखकहरू आफ्नो स्वाभिमानलाई छोड्न कहिल्यै सक्दैनन् र स्वाभिमानीका पीडाहरू सजिलैसित कसैले बुझ्न सक्दैनन् । आफूलाई भेट्न आएका कविमित्रहरूको सल्लाहमा उपचारका निम्ति सरकारसित आग्रह गर्ने शिलशिलामा उनी लेख्छन्, मजस्तो उपचार नपाएर थन्को लाग्ने अरु थुप्रै छन् नि, दाइ । किन मैलेमात्र यो अधिकार पाउनुपर्छ र ? यसरी सुटुक्क दर्खास्त हाल्न मेरो मन राजी हुँदैन, यो काम मलाई मिठो कुरो लुकाएर एक्लै खाए जस्तै लाग्छ । यस अर्थमा म ज्यादै काँतर पो छु त । सोच्छु, सबैले यस खालको सुविधा पाए पो बेस हुन्छ । (पृ.५०)
पछि महाराजाधिराजकै नाउँमा बिन्ती पत्र लेखिन्छ । राजकीय प्रज्ञा प्रतिष्ठानका तर्फबाट जुनै अस्पतालमा गएर भए पनि रोग निदान गर्न सक्ने व्यहोरामा परिपत्र आउँछ । तर, अस्पतालहरूले चिट्ठीको ओजन बुझ्दैनन् त्यसमाथि पारिजातको स्वाभिमानले भुक्न मान्दैन र लेख्छन्, हातमा सरकारी त्यो चिट्ठी राखेर सोच्छु, मेरो अवस्था ठीक त्यो भिखारीको जस्तो छ, जो हातमा सक्कली मोती लिएर बजारमा बेच्न आउँछ । तर, उसलाई कसैले विश्वास गर्दैन र ऊ उपहासको पात्र हुन्छ । कारण, मोती पाउन सक्ने ऊ मान्छे नै होइन । (पृ.५२)
‘फलफूल खान सरकारबाट आएको पाँच सय रुपियाँ म इमानदारीपूर्वक फर्काइदिन्छु । आखिर यो पाँच सय रुपियाँले मलाई कति दिन थेग्छ । कति दिन भौँतारिएर मैले एउटा नागरिकताको प्रमाणपत्र त पाउन सकिनँ यहाँ ।’ (पृ.५३)
आफ्नो शारीरिक पीडालाई लिएर उनले आफ्नै बुबाप्रति समेत नैराश्यता र रिस पोखेकी छन् । आफ्नो सन्तानको उपचारलाई भन्दा आफ्नै स्वार्थलाई महत्व दिने र सन्तानका पीडालाई हल्का रूपमा लिएको भन्दै व्यङ्ग्य वाण हानेको कुरा पनि उनले लुकाउन सकेकी छैनन्, “चिट्ठी पढिसकेपछि व्यङ्ग्यले मेरो सारा अनुहार विकृत हुन्छ । अनिदो र मानसिक तनावले झुत्रो भएको मनस्थिति कटु भइदिन्छ ।” म जवाफमा लेख्छु, “सत्तरी वर्षको महन्त तन्नेरी हुँदै छ, बधाई तपाईँलाई, तपाईँको अनुसन्धानलाई, म आफ्नो जल्दोबल्दो उमेरमा गजबसँग बूढी भइसकेकी छु । हुन सक्छ म मर्छु पनि ।” (पृ.६८) चिट्ठी पोस्ट भइसकेपछि आफैसित टुक्रिएर उनी कति रुन्छन् त्योभन्दा बढ्ता उनका बुबा टुट्छन् र आत्मग्लानिमा डुबेर कति रात निदाउन सकेन छन् र छोरीको सामिप्य चाहेछन् । रोगको पहिचान समयमा हुन नसक्नु नै पारिजातको निम्ति अभिश्राप बनेछ । परिवारले उनका समस्याहरूलाई मात्र मनोवैज्ञानिक असरका रूपमा लिएछन् र आत्मबलको उपचार गराउन खोजे जसको पीडा पारिजात मात्रले बुझ्न सके । आफ्ना सारा शारीरिक र आर्थिक उल्झनहरूबिच पनि साहित्यिक गोरेटाहरू खन्दै अघि बढ्नु उनको महानता हो । समाज र जीवनलाई हेर्ने दृष्टिकोणमा आएका विविध चिन्तनले पारिजातमा गतिशीलता देखाइदिन्छ । निस्सारताभित्र सारता, शून्यताभित्रको अस्तित्वको खोजी र चरम विद्रोहका पदचापहरू हामी उनका कृतिहरूमा पाउँछौँ । प्रस्तुत संस्मरण पनि यसैको एउटा क्रम हो जहाँ पारिजातले नेपाली साहित्यको आँगनमा इमानदारीतापूर्वक आफूलाई प्रस्तुत गरेका छन् । आफ्ना भोगाइ र चिन्तनका आवेगहरूलाई सामान्यिकरण गरेका छन् । पुस्तकको शीर्षकमै कृतिको निचोड भेटिन्छ । यसलाई पारिजात आफैले नाम दिएकी हुन् वा प्रकाशनको क्रममा जुराइएको हो ? यसले पाठक मनलाई पारिजातभित्रको लुकाइएको पाटो खोज्न कर लगाउँछ ।
पारिजातकै इच्छाबमोजिम अनुशासित रहेर अप्रकाशित कृतिको संरक्षण गर्नु हुने सुकन्या दिदी तथा समय र लगन जुराएर कृतिलाई पुस्तकाकार स्वरूप प्रदान गर्ने पारिजात स्मृति केन्द्रप्रति धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *