भर्खरै :

भक्तपुर साकोसमा प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर साकोसमा प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर, १४ पुस । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा सञ्चालित पाँचदिने लप्सीको पाउँ बनाउने तालिम तथा कृषि उपसमितिको आयोजनामा सञ्चालित तीनदिने सिताके च्याउ खेती तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले व्यवसायको महत्वपूर्ण पाटो उत्पादनको बजारीकरण हो; व्यवस्थित बजारीकरण गर्न सके व्यवसाय सफल हुन्छ; सफल हुन र अरुको नजरमा आउन आफूलाई अरूभन्दा फरक ढङ्गले प्रस्तुत गर्न सक्नुपर्छ भन्नुभयो । उहाँले आफ्नो सामानको विशेषता तथा फाइदाको बारेमा अरुलाई सुनाउन र देखाउन सक्नुपर्छ भन्नुभयो । उहाँले समाजलाई साक्षर होइन शिक्षित बनाउनुपर्छ भन्दै भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. शिक्षित समाजको निर्माणमा लागिरहेको छ भन्नुभयो ।
संस्थाका सहसचिव तारादेवी धन्छाले तालिम कहिल्यै पुग्दैन, निरन्तर लिइरहनुपर्छ; तालिमले अरू सदस्यलाई मार्गनिर्देशन र सहजीकरण गर्न सकिन्छ भन्नुभयो ।
सिताके च्याउ खेती तालिमका प्रशिक्षक रमेश वैद्यले काम गर्दै जाँदा आफूले भोगेका राम्रो पक्ष तथा नराम्रो पक्षबारे अरू सहकर्मीलाई सुनाउनुपर्ने र त्यसबारे सिकाउँदै जानुपर्छ भन्नुभयो । उहाँले अहिले स्वस्थकर र अर्गानिक वस्तुको माग विस्तारै बढ्दै गएको छ; सिताके च्याउ पनि अर्गानिक तरकारी हो; बजारमा यसको माग विस्तारै बढिरहेको छ र यसलाई विदेशमा पनि निर्यात गर्न सकिन्छ भन्नुभयो ।
लप्सीको परिकार बनाउने तालिमका प्रशिक्षक नारांदेवी सैंजु श्रेष्ठले तालिमबाट सिकेको सीपलाई व्यवसायिक रुप दिन जोड दिनुभयो ।
संस्थाका कर्मचारी दयालक्ष्मी धन्छाले सञ्चालन गर्नु बोल्नुभएको उक्त कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं कृषि उपसमितिका संयोजक रामलक्ष्मी दुवालले तालिमबाट प्रशिक्षार्थीहरूले भविष्यमा आयआर्जन गर्न सकिने विचार व्यक्त गर्नुभयो । प्रशिक्षार्थीहरू रोमी ह्योम्बा र सबिना मानन्धरले तालिमबारे आ–आफ्नो अनुभव सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *