भर्खरै :

आत्मनिर्भरतातिर अग्रसर भक्तपुर नगरपालिका

मानिस स्वतन्त्र हुन आफ्नै विचार र खुट्टामा उभिनुपर्छ । त्यस्तै, देश पनि स्वतन्त्र हुनु आवश्यक छ । त्यसको लागि जतिसुकै अभाव, दुःख, पीडा भोग्नुपरे पनि सामना गर्नुपर्छ† धैर्य गर्नुपर्छ; सधैँ रगत पसिना बगाउन तयार हुनुपर्छ । स्वतन्त्र भई आफ्नो खुट्टामा उभेर अगाडि बढ्ने मानिस, संस्था र सरकारले मात्र आफ्नो सोच, उद्देश्य, योजना, नीति, रणनीतिअनुसार संस्था र देशको विकास गर्न सक्छ । देश विकासको मुख्य मार्ग भनेकै सही विचार हो; इमानदारी र निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने विचार हो । त्यसअनुसारको आचरण, व्यवहार र परिणाम हो । क्युवा, उत्तर कोरिया, चीनजस्ता देश हाम्रो अगाडि छ ।
घाँटी र खुट्टामा डाम्लाले बाँधेको पशुजस्तै अर्काको माना खाएका, अर्काको बैशाखी टेकेर हिँड्ने मानिस, सरकार स्वतन्त्र भई अगाडि बढ्न सक्दैन । त्यसले जता जता दोहो¥याउँछ त्यता त्यतातिर जान बाध्य पार्छ । जे गर भनेको हो, त्यो नगरी सुखै छैन । त्यसैले, उनीहरूले देश र जनताको हितमा केही गर्न सक्दैनन् । मानिसले पशुलाई हरियो घाँसको लोभ देखाएर डाम्लाले बाँधेजस्तै यहाँका शासक दलका नेता र सरकारले त्यस्तै गरिरहेका छन् । जनताको सशक्त विरोध हुँदाहुँदै अमेरिकी साम्राज्यवादले यहाँका शासक दलका नेता र सरकारलाई धम्क्याएर ५५ अर्बको रूपैयाँ एमसीसीले यहाँका शासक दलका नेता या सरकारलाई बाँधेको छ । यसलाई हतियार बनाएर यहाँका नेताहरूलाई मालिकले नोकरलाई अ¥हाएजस्तै सेना प्रमुखले सिपाहीलाई आदेश दिएजस्तै देशको स्वाधीनता र सार्वभौमिकतामाथि हस्तक्षेप भइरहेको छ ।
अमेरिकी र युरोपेली साम्राज्यवादी तथा उपनिवेशवादी देशहरूले सहयोगलाई हतियार बनाएर विश्वमा उपनिवेश र साम्राज्य फैलाएका छन् । यस्तै सहयोग, विकास, मानव अधिकार, प्रजातन्त्रका नाममा पसेर उनीहरूले भनेजस्तो नबस्ने, आदेश नमान्ने, आफ्नै खुट्टामा उभिने देशभक्त नेताहरूलाई प्रजातन्त्र र विकास आदिका नाममा नेता र जनतालाई जुधाउँछन्, फुटाउँछन् र एक आपसमा भिडाएर उपद्रव मच्चाउँछन् । त्यसको लागि उनीहरू डलर र हतियार सहयोगको नाममा दिन्छन् । दलाल, देशद्रोहीहरूलाई उपद्रव गराएर देशभक्त नेताको हत्या गराउँछन् । भक्तपुर नपाले विश्वको इतिहासबाट पाठ सिकेर अगाडि बढेको र जनतालाई पनि सचेत गर्दै आएको देखिन्छ । तर, देशका कम्युनिस्ट भनिएका शासक दल र नेताहरू यो इतिहासबाट पाठ सिकेर अगाडि बढेका देखिँदैनन् । त्यसैले, उनीहरूलाई कम्युनिस्ट होइन, पुँजीवादी सत्ताको चास्नीमा डुबेका भाइ काङ्ग्रेस भनेर आलोचना हुँदै आएको हो । देश र जनताको सेवा गर्दै भक्तपुर नपा अगाडि बढिरहेको जनताले अनुभव गरिरहेका छन् ।
भक्तपुर नपा आत्मनिर्भरताको बाटोतिर अग्रसर भइरहेको जनताले अनुभव गरिरहेका छन् । सम्पदा संरक्षणको नाममा सर्त राखेर आएको अरबौँको विदेशी सहयोगलाई सरकार र विदेशीले लिने कि नलिने भनेर दबाब र धम्की दिए पनि ठाडै अस्वीकारेर पठाएको सञ्चारमाध्यममा आएकै हो । त्यो सहयोगमा विष या देशको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने खालका सर्तहरू थिए । त्यसैले, भक्तपुर नपाले त्यसलाई ठाडै अस्वीकार ग¥यो । बरु जतिसुकै दुःख, कष्ट र अभाव व्यहोर्नुपरे पनि, रगत पसिना बगाउनु परे पनि भक्तपुर नपाले यहाँका जनताको माया, साथ र सहयोगमा पचपन्न झ्याले दरबार, पाँचतले मन्दिर, नृत्य वत्सला मन्दिर, भैरव मन्दिर, पोखरी, पाटी, ढुङ्गेधारा, बाटो, कलेज, अस्पताल आदि बनाएको छ । ती सम्पदा, शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रले जनताको सेवा गरिरहेका छन् । हालै गःहिटीस्थित लक्ष्मी नरसिंहको मन्दिर यसरी नै बनाइएको हो । भक्तपुर नपा र स्थानीय जनता भक्तपुरलाई अझ व्यवस्थित, सफा, सुन्दर, सभ्य एवम् सांस्कृतिक सहर बनाउन अगाडि बढ्दै छन् ।
साँच्चिकैको कम्युनिस्ट सरकार वा कम्युनिस्ट राज्य व्यवस्थाले जनताको जन्मदेखि बाँचुञ्जेलसम्मको सबै जिम्मेवारी लिन्छ । साँच्चिकै कम्युनिस्ट सरकार वा राज्य व्यवस्था भएको भए, क्युवा र उत्तर कोरियामा जस्तो शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सबै कुराको जिम्मा सरकारले लिन्छ । त्यसको लागि आवश्यक कानुन बनाउँछ । संविधान र ऐन कानुनअनुसार अगाडि बढ्नुपर्ने भएकोले कम शुल्कमा गुणस्तरीय शिक्षा, स्वास्थ्यलगायतका सेवा भक्तपुर नपाले जनतालाई दिइरहेको छ ।
आफ्नो सोच, विचार, बुद्धि र पाखुरालाई विश्वास नगरिकन माग्ने सोचले केही गर्न सक्दैन । भक्तपुर नपा भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अवधारणाअनुसार अगाडि बढ्को छ । नपाले शिशु स्याहारदेखि स्नातकोत्तर तहसम्मको कक्षा सञ्चालन ग¥यो । भक्तपुर नगर क्षेत्रभित्रका शिशु स्याहार र सबै सामुदायिक विद्यालयको गुणस्तर बढेको छ । भक्तपुर नपाले बुद्धिजीवी, शिक्षाविद्, शिक्षासेवी र जनताको सहयोगमा वि.सं. २०५६ सालमा ख्वप मावि स्थापना ग¥यो । त्यही माविलाई स्नातकोत्तर तहसम्म पढाउने ख्वप कलेज स्थापना भयो । विज्ञान, मानविकी, व्यवस्थापन, कानुनअन्तर्गत देशभरका हजारौँ विद्यार्थीहरूले कम शुल्कमा गुणस्तरीय शिक्षा लिइरहेका छन् । त्यहाँ पढ्ने विद्यार्थीहरूको नतिजा उत्साहजनक छ । आदर निकेतन पनि खोल्दै छ । प्रायः सत्तल वा पाटी स्थानीय जनताको सहयोगमा बनिसकेको छ ।
भक्तपुर नपाले इन्जिनियरिङ, नर्सिङ, कानुनलगायतका विषयमा ७७ जिल्लाका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको छ । यहाँका विद्यार्थीहरूको नतिजा पनि उत्कृष्ट नै छ । देशको राम्रो र उत्कृष्ट कहलिएको पुल्चोकको इन्जिनियरिङ कलेजपछि दोस्रो राम्रो र गुणस्तरीय कलेजको रूपमा ख्वप इन्जिनियरिङ कलेजलाई लिने गरिन्छ । यो कलेजको योगदानले गर्दा भक्तपुरको हरेक चोक र टोलमा २०–३० जना इन्जिनियरहरू तयार भइसकेको छ । यहाँबाट उत्पादन भएका इन्जिनियरहरूले देशको विभिन्न गाउँ तथा जिल्लामा गएर इमानदारीपूर्वक सेवा गरिरहेको सुन्दै आएको हो ।
स्वस्थ जनशक्तिबिना देशको विकास सम्भव छैन । त्यसैले, जनतालाई स्वस्थ बनाउने उद्देश्यले भक्तपुर नपाले ख्वप अस्पताल स्थापना ग¥यो । ख्वप अस्पतालले दैनिक हजारौँ जनतालाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । देशमा स्वास्थ्य सङ्कट परेको बेला आफ्नै अक्सिजन प्लान्ट राख्न गरेको आह्वानले एक महिनाभित्र जनताले ६ करोड रूपैयाँ जम्मा गरिदिए । त्यो गुणको बदलामा आज भक्तपुरका जनतालाई निःशुल्क अक्सिजन वितरण गरिरहेको छ । अस्पतालमा विशेषज्ञ डाक्टरलगायतका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सेवा दिइरहेको नपाले बताएको छ । यो अस्पतालले प्रसूति र शल्यक्रिया सेवा पनि सुरु गरिसकेको छ । स्वास्थ्यसम्बन्धी जनचेतना दिन, सामान्य उपचार र हेरचाह गर्न घरदैलो नर्सिङ सेवा भइरहेको छ । जेहेनदार तथा गरिब विद्यार्थीहरूलाई कम ब्याजदरमा रु. पाँच लाखसम्मको शैक्षिक ऋण नगरपालिकाले दिइरहेको छ । हाल स्नातकदेखि पीएचडीसम्मका ७००–८०० विद्यार्थीहरू यो सहुलियत लिएर उच्च शिक्षा हासिल गरिरहेका छन् । विद्यार्थीहरूलाई कम ब्याज दरमा शैक्षिक ऋण दिएर उच्च शिक्षा पढ्न सहयोग र अवसर दिने देशको पहिलो नपा भक्तपुर नपा हुनुपर्छ । ख्वप विश्वविद्यालयको स्वीकृति सरकारले चाँडै दिएको भए आज १५ लाखमा डाक्टर पढेर देशभरका कुना काप्चामा गएर जनतालाई इमानदारीपूर्वक स्वास्थ्य सेवा दिइरहेका होलान् । तर, यसको स्वीकृति दिन कम्युनिस्ट र प्रजातन्त्रवादी भनिएका सरकार र सरकारमा जाने दलहरूले खुट्टा कमाइरहेका छन् ।
जनतालाई स्वस्थ बनाउन शारीरिक क्रियाकलाप हुनु आवश्यक छ । भक्तपुर नपाले स्वस्थ र बलियो जनशक्ति बढाउन खेलकुद गतिविधि, तालिम र प्रतियोगिताहरू हरेक वर्ष निरन्तर सञ्चालन गरिरहेको छ । खेलाडी भनेको देशको स्वाधीनता र सार्वभौमिकता जोगाउन लड्ने स्वस्थ जनशक्ति हो । त्यसैले, भक्तपुर नपाले हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्ने भक्तपुर नगरका खेलाडीहरूलाई प्रोत्साहन र हौसलास्वरूप सम्मान गर्दै आएको छ । टोल–टोलमा शारीरिक व्यायामशाला राखिएको छ ।
भक्तपुर नपाले यहाँका युवाहरूलाई तालिम दिइरहेको छ । प्लम्बिङ, वेल्डिङ, मोटरसाइकल, मोबाइल, कम्प्युटर मर्मत, डकर्मी, सिकर्मी, ल्होहँकर्मी, इलेक्ट्रोनिक्स, हेयर कटिङ, पाक शिक्षा आदि नपाले दिइरहेको छ । नपाले युवा उद्योगीलाई लघु ऋण पनि प्रदान गरेको छ । कहिले चिनियाँ त कहिले जापानी भाषाको पनि तालिम दिइरहेको छ । अग्रज अनुभवी डकर्मी, सिकर्मी, ल्होहँकर्मी गुरुहरूको सल्लाह र प्रेरणाले मठमन्दिर बनाइरहेको छ । यहाँका तालिम प्राप्त युवाहरू अन्य जिल्लाका मठमन्दिर, पाटी निर्माण र पुनर्निर्माण गर्न गइरहेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले विनाश गरेका मठमन्दिर समयमै ठड्याइएको छ । नगरपालिकाले सम्पदाको निर्माण, पुनर्निर्माण उपभोक्ता समितिमार्फत सम्पन्न गर्ने, त्यसको आम्दानी खर्चको हिसाब विवरण र विज्ञहरूको लेख रचनासहितको पुस्तक निकालेर जनताबिच सम्प्रेषण गर्ने अनुकरणीय काम नपाले गर्दै आएको छ । निर्माण, पुनर्निर्माण सम्पन्न सम्पदाको आयव्ययको सार्वजनिकरण नपाले सम्बन्धित ठाउँमा जनतालाई बैठक, सभा, भेला गराएर सुसूचित गर्ने काम गर्दै आएको छ । यसले सम्पदाप्रति जनताको माया बढ्छ र कम लागतमा सम्पदाको निर्माण सम्पन्न हुन्छ । मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा जोगाउन, हरेक वर्ष, बाजागाजा, भजन, परम्परागत नृत्यको प्रतियोगिता गर्दै आएको भक्तपुरका जनतालाई थाहा छ । अग्रज गुरुलाई सम्मान गर्दै आएको पनि घामजतिकै छर्लङ्ग छ । मृत्युपछिको दाह संस्कारलाई सहज बनाउन जनताकै सहयोगमा शवदाह गृह हनुमानघाटमा निर्माण सम्पन्न भएर उपयोग भइरहेको छ ।
भक्तपुर नपा त्यस्तै सफा सुन्दर भएको होइन । यसको लागि फोहोर नगर भनेर चिनिएको भक्तपुर नगरलाई सफा र सुन्दर बनाउन मेयरलगायतका जनप्रतिनिधिहरूले आफै कुचो समातेर सफा गरे; जनतालाई आफ्नो टोल, बाटो, चोक आफै सफा गर्नुपर्ने भावना र विचार दिए । आन्दोलन चलाए, शिक्षा दिए, चेतना जगाउने काम गरे । जनतालाई घरमै कुहिने र नकुहिने फोहर छुट्याएर राख्न बाल्टिन वितरण गरियो । प्राङ्गारिक मल घरैमा बनाउन सक्ने मेसिन सामग्री पनि सहुलियत दरमा वितरण गरियो । यसले फोहर धेरै कम भयो । नगरपालिका आफैले पनि कुहिने फोहरबाट प्राङ्गारिक मल बनाएर सहुलियत दरमा किसानहरूलाई वितरण गरिरहेको छ ।
देशलाई आत्मनिर्भर बनाउने आधार विचार हो । त्यसअनुसार भक्तपुर नपाले समयमा जनतालाई सचेत पार्ने, समय समयमा बैठक, भेला, सभा राखेर आफ्नो ठाउँ आफैले बनाउनुपर्ने कुरा राखिरहेको छ । नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्नुपर्ने, देशको स्वाधीनता र सार्वभौमिकता जोगाउन निरन्तर सङ्घर्ष गर्ने भावना दिँदै आएको छ । देश रहे हामी रहन्छौँ । देशै रहेन भने हामी कोही पनि रहँदैनौँ । जुन विचार, सोच र आचरण अन्य कम्युनिस्ट भनिएका, प्रजातन्त्रवादी भनिएका शासक दल र नेताहरूमा पनि भएको भए देश विकास गर्न धेरै समय कुर्नुपर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *