भर्खरै :

महिला स्वास्थ्य स्वयम्सेविकाहरूको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

महिला स्वास्थ्य स्वयम्सेविकाहरूको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

भक्तपुर, १५ पुस । भक्तपुर नगरपालिकाका १० वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरूको वार्षिक भेटघाट कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरले स्वास्थ्य र सामाजिक क्षेत्रमा गरिरहेका नवीनत्तम अभ्यासमा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
निःस्वार्थरूपमा जनताको सेवा गर्नु नै असल राजनीतिको परिचय भएको बताउँदै उहाँले भक्तपुरको पृथक र असल अभ्यासबाट अन्य स्थानीय तहहरूले पनि अनुकरण गर्न खोजिरहेको छ भन्नुभयो ।
भक्तपुर नपाको आयोजनामा भएको पाँचदिने भक्तपुर महोत्सव स्वयम्सेवकहरूको निःस्वार्थ भावनाले सफल भएको बताउँदै नागरिकहरूले आफ्नो सामाजिक दायित्व बहन गर्नेतर्फ पनि जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाहरू सामाजिक, आर्थिक, शैक्षिकरूपले शिक्षित र सङ्गठित हुन जरुरी रहेको बताउँदै स्वास्थ्य स्वयम्सेविकाहरू सामाजिक कार्यकर्ता हुन् भन्नुभयो ।
भनपा वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष कृष्णगोपाल चौगुठीले वडाले निर्धारित गरेका सामाजिक कार्यक्रमहरूमा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको तर्फबाट सकारात्मक साथ र सहयोग रहँदै आएको बताउँदै निःस्वार्थरूपमा जनताको सेवा गर्नु स्वयम्सेविकाहरूको कर्तव्य भएको बताउनुभयो ।
कार्यपालिका सदस्य सुनिता अवालले वडामा हुने गतिविधिहरूमा वडावासीहरूको सहभागिता बढाउन महिला स्वयम्सेविकाहरूको महत्वपूर्ण भूमिका रहँदै आएको स्पष्ट पार्दै वडावासीहरूको सहयोगीको रूपमा स्वयम्सेविकाहरू परिचालन हुनु जरुरी रहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले स्वास्थ्य स्वयम्सेविकाको सहयोगमा ख्वप अस्पतालले स्वास्थ्य क्षेत्रमा धेरै गतिविधिहरू गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि उहाँहरूको सक्रियता रहँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम महिला स्वास्थ्य स्वयम्सेविकाका अध्यक्ष बबीमैँया लघुको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *