भर्खरै :

पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने सीको वाचा

पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने सीको वाचा

पेइचिङ, ३१ डिसेम्बर (एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकारी प्रसारक सिसिटिभीका अनुसार सीले भन्नुभयो, “अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापकरूपमा गहिरो बनाउन र विश्व शान्ति तथा विकासलाई प्रवद्र्धन गर्न दृढ रहनेछ ।”
सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गर्नुभएपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।
तर, चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ । जसका कारण केही नाटो सदस्यहरूले पेइचिङलाई युद्धको ‘सक्षमकर्ता’ ब्रान्ड गर्ने गरेका छन् । युद्धलाई पेइचिङले कहिल्यै निन्दा गरेको छैन ।
सिसिटिभीका अनुसार सीले पुटिनलाई भन्नुभयो, “एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तनहरू र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुटनिरपेक्षता, गैर–टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन् ।”
दुवै राष्ट्रपतिबिच बलियो व्यक्तिगत सम्बन्ध छ । सीले आफ्ना रुसी समकक्षीलाई आफ्नो ‘सबैभन्दा असल मित्र’ भन्नुभएको छ भने पुटिनले उहाँलाई आफ्नो ‘भरपर्दो साझेदार’ मान्नुहुन्छ ।
युक्रेनमा रुसको युद्धले प्रदर्शित गरेजस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बावजुद उहाँहरूको सम्बन्ध स्थिर रहेको छ ।
सिसिटिभीका अनुसार ‘दुई देशबिचको सम्बन्धमा नयाँ महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रुसबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव भएको कुरा सीले पुटिनलाई उल्लेख गर्नुभयो ।
“साढे तीन दशकको उतारचढावपछि, चीन–रुस सम्बन्धहरू अझ परिपक्व र स्थिर बन्दै गएका छन्,” सीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *