पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
वर्गीय समाजमा वर्गसङ्घर्ष अन्त्य हुनेछैन । वर्गविहीन समाजमा नयाँ र पुराना, सत्य र असत्यबिचको सङ्घर्ष कहिल्यै अन्त्य हुनेछैन । द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी दर्शनको प्रमुख विशेषता भनेको वर्गीय स्वभाव हो र व्यावहारिकता हो । सिद्धान्त व्यवहारमा आधारित हुन्छ या हुनुपर्छ । व्यवहारबिनाको सिद्धान्त सफल हुँदैन । देश, समाज र जनतालाई मार्गनिर्देश गर्ने काम दर्शन या सिद्धान्तले गर्छ । सिद्धान्त र विचार बहुमत जनताको पक्षमा छ भने बहुमत जनताको र अल्पमतको पक्षमा छ भने अल्पमत जनताको सेवा हुन्छ । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलले श्रमजीवी जनताको सेवा गर्दैन । सामन्तहरूको सेवा गर्ने दलले किसान र मजदुरको सेवा गर्दैन । नेपाल विकासमा पछि पर्नु या जनताको जीवनस्तर उठाउन नसक्नुको कारण देशमा सामन्त र पुँजीवादीहरूले पालैपालो शासन गर्नु हो । नेकाको नेतृत्वमा बनेको सरकारले श्रमजीवी जनताको सेवा गर्दैन । यो नेकाको वर्गीय चरित्र नै हो । तर, यहाँ कम्युनिस्ट भनिने दलले पनि पुँजीपतिवर्गको सेवा ग¥यो या श्रमजीवीवर्गको सेवा गरेन । यो विडम्बनाको विषय हो ।
कुनै दलको सिद्धान्त राम्रो भएर पनि व्यवहारमा उपयोग गरिँदैन भने त्यो सिद्धान्त महत्वहीन हुन्छ । देशमा माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक मान्ने कम्युनिस्ट पार्टी नभएको होइन । तर, ती कम्युनिस्ट भनिने शासक दलका नेताहरूले माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशकको पालना गर्नुको सट्टा उल्लङ्घन गरिरहेका छन् । कम्युनिस्टको नाउँमा मत लिएर, कम्युनिस्ट पार्टीको भजन गाएर कम्युनिस्टविरोधी क्रियाकलाप गर्नु, कम्युनिस्टको सिद्धान्त र विचारमाथि कुल्चिनु के कम्युनिस्टविरोधी कदम होइन ? कुनै दलको सिद्धान्त र विचार लागु गर्न हो; देखाउन होइन । कुनै दलको सिद्धान्त र विचार देखाउने दाँत मात्र भयो भने त्यो दलको ध्येय पूरा हुँदैन । भ्रम फैलाएर जनतामा झूट या छलको राजनीति गर्ने दल र दलको सरकारले मुलुक हाँके पनि सफलता प्राप्त गर्न सक्दैन; सकिरहेको छैन । विचार नमिलेका ठुला दलका नेताहरूले देशमा कसरी सही दिशानिर्देश गर्छन् ? नेका र एमालेको नेतृत्वमा बनेको सरकारले पनि मार्गनिर्देश गर्न सकेको छैन । सत्तासीन दलका नेताहरू दिशाहीनझैँ बनेका छन् । सरकार विपक्षी दललाई पेल्नेतर्फ उन्मुख छ । अहिले संविधान संशोधनको चर्चा छ । संविधान संशोधन समय अनुकूल हुनुपर्नेमा दुईमत छैन । तर, संविधान संशोधन केको विषयमा हुने हो ? साना दललाई पेल्ने, साना दलको उत्थानमा अवरोध पु¥याउने खालको संविधान संशोधन भयो भने त्यो देश र जनता सुहाउँदो संविधान हुनेछैन । त्यो संविधान प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत हुनेछ । त्यस्तो संविधान मान्य हुनेछैन ।
सिद्धान्त र विचार अन्तर्देशीय हुँदैन । कुनै दलका नेता, दार्शनिक, विज्ञ या राजनीतिज्ञको विचार र सिद्धान्त देश र जनताको मुक्ति र स्वतन्त्रताको पक्षमा छ भने बहुमत जनताको पक्षमा छ भने त्यसको अनुकरण गर्नु गलत होइन । देश र जनताको पक्षमा प्रतिपादन गरिएको सिद्धान्त र विचार जुनसुकै देशका नेता, दार्शनिकको पनि काम लाग्छ । कुनै देशको वैज्ञानिकले पत्ता लगाएको आविष्कारको उपलब्धि अरु देशले अनुकरण गर्नुहुँदैन; सिक्नुहुँदैन भन्ने होइन । संसारका सबै देशमा संसारलाई बाटो देखाउने, विज्ञान र प्रगतिमा बाटो देखाउने दार्शनिक र वैज्ञानिकहरू हुँदैनन् । जुनसुकै देशका वैज्ञानिक भए पनि उनले पत्ता लगाएको आविष्कार अरु देशको निम्ति पनि उपयुक्त हुन्छ भने त्यसलाई आत्मसात गर्नुपर्छ, आत्मसात गरेर आफ्नो देशमा पनि उपयोग गर्नुपर्छ । यो अरु देशका वैज्ञानिक हुन्, हामीले अनुकरण या सिक्न मिल्दैन भनेर पन्छिएमा देश जहिल्यै पछिको पछि परिन्छ ।
दलका एक थरीका नेताहरू नेपालमा कार्ल माक्र्स, लेनिन र माओ त्सेतुङको विचार किन चाहियो भनी प्रश्न गर्छन् । उनीहरूको सिद्धान्त र विचारलाई आफ्नो देशमा अन्धानुकरण गर्ने होइन† देश, काल परिस्थितिअनुसार लागु गर्ने हो । सोभियत रुसमा मजदुर क्रान्ति भयो भने चीनमा किसानहरूको नेतृत्वमा क्रान्ति भयो । नेपालमा नेपाली माटो सुहाउँदो क्रान्तिको लागि वातावरण तयार गर्ने हो । अरु देशका दार्शनिकहरूको विचार नेपालले आत्मसात गर्नुहुँदैन भन्ने कुरा होइन । नेपाली भनेर कुनै राजा महाराजा, सामन्त, जालीफटाहा, जमिनदार, प्रतिक्रियावादीहरूको विचार र दर्शन श्रमजीवी जनताको निम्ति मान्य हुनेछैन । शोषित पीडित जनताको श्रम, पसिना र मेहनतमा रजाइँ गर्ने, शोषण, दमन गर्ने जुनसुकै देशको निम्ति भए पनि सह्य हुनेछैन । यसकारण, कुनै नेता, दार्शनिकको सिद्धान्त र विचार आफ्नो र अरु देशको भनेर स्वीकार्ने या अस्वीकार गर्ने भन्ने कदम सही हुनेछैन । गलत सिद्धान्त र विचार जुनसुकै देशको भए पनि जनताले स्वीकार्ने छैनन् । नेपालमा कुनै शासक या नेताले देश विखण्डन गर्ने, जातीय दङ्गा फैलाउने राजनीति गर्छ† विचार फलाक्छ भने के नेपाली दार्शनिक र नेताको विचार भनेर स्वीकार्न मिल्छ ? देशविरोधी, जनविरोधी, नीति नियम, देशघाती सन्धि सम्झौता आफ्नै देशका नेता प्रधानमन्त्रीले गर्दैमा ठीक हुने होइन । मुख्य कुरा कुनै दर्शन, विचारले कुन वर्गको हित गर्छ ? त्यो महत्वपूर्ण हुन्छ । अतः नेपालमा माक्र्स, लेनिन र माओ त्सेतुङको विचार किन चाहियो, किन मान्नुप¥यो भन्ने प्रश्न उठाउनु गलत हो । श्रमजीवी वर्गको सेवा गर्नुपर्छ, देश स्वतन्त्र र सार्वभौम हुनुपर्छ† देशमा कुनै देशले आक्रमण गर्नुहुँदैन । विश्वयुद्धले विध्वंस निम्त्याउने हुँदा त्यो आवश्यक छैन भनी आवाज बुलन्द गरे कुरा जुन देशका शासक, नेता दार्शनिकले भने पनि सही मान्नुपर्छ† आत्मसात गर्नुपर्छ ।
Leave a Reply