भर्खरै :

देशको सन्तुलित विकाससँगै उद्योग–व्यापार पनि फैलिने र प्रदूषण पनि घट्ने

देशको सन्तुलित विकाससँगै उद्योग–व्यापार पनि फैलिने र प्रदूषण पनि घट्ने

भक्तपुर, १९ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घ, भक्तपुरको २९ आँै वार्षिक साधारणसभा तथा १६ आँै जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्नुभयो ।
सभाको उद्घाटन कार्यक्रममा सांसद सुवालले सरकारले ७५३ ओटा स्थानीय तहमा सहर विकास गरी देशको सन्तुलित विकास गर्नु जरूरी भएको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका स्थानीय तहले आफ्नो नेतृत्वमा आवश्यक आवास क्षेत्र विकास गर्नु जरूरी भएको र निजी प्लटिङ गराउन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभरि बस्ती विस्तार भए उद्योग–व्यापार पनि तत्तत् स्थानमा फैलिने र खर्बौँ रूपैयाँ व्यापार घाटा हुने गरी दाल, चामल, तरकारी, फलफूल भारत र अन्य देशबाट आयात गर्नुपर्ने स्थिति आउने थिएन ।”
सांसद सुवालले बढ्दो बसाइँसराइसँगै काठमाडौँ उपत्यकामा प्रदूषण बढेको र सडक निर्माणमा विलम्ब, यातायात जाम र अव्यवस्थित निर्माणको कारण काठमाडौँ उपत्यकाका प्रदूषण बढेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी सबै मिलेर काठमाडौँ उपत्यकामा बसाइँसराइ हुन नपर्ने प्रस्ताव सरकारलाई दिनु जरुरी छ ।”
सांसद सुवालले भन्नुभयो, “काठमाडौँ उपत्यकामा भइरहेको निर्माणको लागि दैनिक २५ हजार ट्रिपर गिटी, ढुङ्गा, बालुवा, सिमेन्ट, डन्डी भित्रिरहेको छ । भूगर्भशास्त्रीहरूले काठमाडौँ उपत्यकाको जमिन अन्यत्रबाट माटो ओसारेर थुपारिएको जस्तो कमजोर भएको र खँदिलो नभएको बताएका छन् । यसकारण, देशको सन्तुलित विकास जरूरी छ ।”
उहाँले भन्नुभयो, “भौतिकशास्त्रीहरूले सिमेन्टको घर–भवनमा २० वर्षपछि रोडोन ग्यास उत्पन्न हुने र यो ग्यासले मानिसमा क्यान्सर रोग लाग्ने बताएका छन् । सरकारले नेपालको हरियो वन तस्करको धनजस्तै बनाएको हुँदा नेपालीले सिमेन्टको घर बनाउनु परेको हो ।”
जलवायु परिवर्तनसँगै हिमालयको हिउँ ८० प्रतिशत पग्लिएको सार्वजनिक भएको उल्लेख गर्दै सांसद सुवालले रसायन इन्जिनियर राजदास श्रेष्ठले महाभारत पर्वत श्रृङ्खलामा रहेको चुन ढुङ्गाबाट इँटा बनाउने प्रविधिबारे ३० वर्ष अगाडि नै बताउनुभएको तर सरकार यसतर्फ सचेत नभएको बताउनुभयो ।
अहिलेको समयमा धेरै परिमाणमा गुणस्तरीय सामान उत्पादन गर्नुपर्ने हो । यसको लागि प्राविधिकीकरण जरूरी छ । इँटा उद्योग व्यवसायी सङ्घले नै आवश्यक इन्जिनियरहरू तयार गर्न छात्रवृत्तिको व्यवस्था गर्नु उपयुक्त हुनेछ, उहाँले भन्नुभयो ।
सन् १९१७ को अक्टोबर क्रान्तिपछि लेनिन र स्तालिनको नेतृत्वको सोभियत सङ्घको सरकारले सामाजिकीकरणलाई जोड दिएर पछाडि परेको देश रूसलाई १८–२० वर्षमै संसारको दोस्रो अर्थतन्त्रमा पु¥याउनुभयो, सांसद सुवालले भन्नुभयो ।
ठुला पुँजीले साना पुँजीलाई खाने र विदेशी पुँजीले देशको पुँजीलाई खानेतर्फ न्यायप्रेमी र देशभक्त उद्योगीहरू सचेत हुनु आवश्यक भएको औँल्याउँदै उहाँले भन्नुभयो, “भोका जनता, उपचार नपाएका जनता, देशभित्र रोजगारी नपाएका जनता, शिक्षा नपाएका जनता भएको देश समृद्ध हुनेछैन ।”
सांसद सुवालले भन्नुभयो, “नेतृत्व उदाहरणीय हुनु जरूरी छ । राजनीति, सामाजिक र उद्योग–व्यापार सबैतिर उदाहरणीय नेतृत्व आवश्यक छ । पार्टीभित्रको चुनावमा कार्यकर्तालाई पैसा बाँडेर नेता हुने, चुनावमा मतदातालाई भोज खुवाउने, सामान र पैसा बाँड्ने नेतृत्व, चुनावमा उठ्ने उम्मेदवारसँग पैसा लिने नेतृत्वबाट देश र जनताको सेवा हुनेछैन । उद्योग–व्यापार क्षेत्रमा पनि पैसा दिएर नेतृत्वमा पुग्नेहरूबाट राम्रो आशा गर्न सकिँदैन । प्रशासनमा नियुक्ति, सरूवा–बढुवामा घुसको व्यवस्था रहेसम्म सुशासन कायम हुनेछैन । वाइडबडी जहाज खरिदको १ अर्ब ४७ करोड रूपैयाँ भ्रष्टाचारको व्यवस्थापन सिङ्गापुर र डुबइमा भएको र यसको घुस रकम हुण्डीमार्फत नेपाल पुगेको सार्वजनिक भयो । यस्ता घुस खानेहरूको सम्बन्ध सिंहदरबारमै हुनुपर्छ ।”
सङ्घको नयाँ नेतृत्व यी सबै विषयमा सचेत भएर निःस्वार्थपूर्वक सेवा गर्न केन्द्रित हुनुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले इँटाभट्टाको विषयमा चाहिनेभन्दा बढी नकारात्मक टीकाटिप्पणी हुने गरेको बताउनुभयो ।
नेपाल इँटा उद्योग व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोरा, नेपाल इँटा उद्योग व्यवसायी महासङ्घका महासचिव केदार गोसाई, सल्लाहकार विश्वराम कवां, वाग्मती प्रदेश अध्यक्ष आशाकाजी त्वानाबासुलगायतले इँटा उद्योग देशकै उद्योग भएकोले यसको प्रवद्र्धनमा सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम नातिभाइ ह्योम्बाको सभापतित्वमा भएको थियो । अधिवेशनले पुनः नातिभाइ ह्योम्बाकै अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सङ्घको उपाध्यक्षमा आशाकाजी त्वानाबासु, सचिवमा आसाराम वैद्य, कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानाबासु र सहसचिवमा रत्नलाल साँद निर्वाचित हुनुभएको छ । सदस्यहरूमा विष्णुसुन्दर प्रजापति, बालगोविन्द तचामो, केशव कवां, पूर्णप्रसाद गाइजू र राजेश त्वानाबासु रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *