भर्खरै :

“पुँजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद हो”

“पुँजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद हो”

भक्तपुर, १९ पुस । विश्व सर्वहारावर्गका नेताद्वय स्तालिनको १४५ औँ र माओ त्सेतुङको १३१ औँ जन्मदिवसको अवसरमा नेपाल कर्मचारी समाज जिल्ला समिति भक्तपुरको आयोजनामा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले कर्मचारीहरूले बेलायतको क्रान्ति, फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनबारे अध्ययन गर्नु जरुरी रहेको र ती तीनवटै क्रान्ति र आन्दोलन पुँजीवादी हुँदा मजदुरवर्गले साथ दिए पनि उपलब्धि हात नपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा २०४६ साल र २०६२÷६३ को आन्दोलन पनि पुँजीवादी पार्टीहरूको नेतृत्वमा भए । एमाले र माओवादीले कम्युनिस्ट दाबी गरे पनि ती दुवै नेपाली काङ्ग्रेसकै पदचिह्नमा लागे । यसकारण, नेपालका कामदार जनताको हित भएन ।”
पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति, प्रजग कोरियाको स्थापना, चीनको क्रान्ति, क्युवाको क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको हुँदा यसको उपलब्धि पनि मजदुर वर्गले पाएको सचिव सुवालले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुँजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद हो । लेनिन र स्तालिनले रुसमा, माओ त्सेतुङले चीनमा, किम इल सङले प्रजग कोरियामा, फिडेले क्यास्ट्रोले क्युवामा माक्र्सवादको प्रयोग गर्नुभयो ।”
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले जन्मदिवसमा नेताहरूको राम्रो कामको अनुशरण गर्न सिक्नुपर्नेमा जोड दिंदै नेताहरूको योगदान र विचारलाई व्यवहारमा उतार्नुपर्छ भन्नुभयो ।
समाजवादी देशमा मात्र जनताको भलो हुन्छ भन्दै उहाँले पुँजीवादी देशहरूले २–३ सय वर्षमा गरेको विकास समाजवादी देशमा ३०–४० वर्षमा भएकोले समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामकाजी खाइजु, सवीन्द्र प्रजापति, राजन जति र लक्ष्मीप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *