अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले यातायात क्षेत्रको समस्या समाधानमा आजसम्मका सरकारहरू असफल रहेको बताउनुभएको छ ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रालिको साधारणसभामा प्रमुख अतिथिको रूपमा उद्घाटन मन्तव्य राख्दै सार्वजनिक यातायात विश्वसनीय र राम्रो भएमा धेरैले निजी सवारी नराख्ने र देशको पैसा विदेसिनबाट रोकिने बताउनुभयो ।
यातायात व्यवसायी र यातायात मजदुरहरूले यात्रुसित नम्र व्यवहार गर्नुपर्ने र शुद्ध नेपाली भाषा बोल्न सिक्नुपर्ने औँल्याउँदै उहाँले धेरै गैरनेपाली भाषीहरूले नेपाली भाषा राम्ररी नबुझ्दा र बोल्न नजाँदा अनाहकमा दुःख पाएको चर्चा गर्नुुभयो ।
उहाँले मिनिबस व्यवसायीहरूले यातायातसित सम्बन्धित कानुनको ज्ञान पनि राख्नुपर्ने बताउँदै कानुनी ज्ञान भएकालाई कसैले तर्साउन र ठग्न नसक्ने प्रस्ट पार्नुभयो ।
सहकारीलाई बैङ्कजस्तै बनाउँदा सहकारी बचतकर्ताको बचत हिनामिना गर्ने संस्थाको रूपमा बदनाम भएजस्तै यातायातलाई कम्पनीमा लाँदा धेरै समस्या देखिएको तर समस्या समाधान गर्न सरकार असफल भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो । सरकारहरूले यातायातका साधनमा कर बढाएर भाडा महँगो बनाउन भूमिका खेलिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले यातायात व्यवसायी र यातायात मजदुरहरूले सवारी चलाउँदा जाँडरक्सीको सेवन बन्द गर्नुपर्ने र अन्य बेला पनि कम गर्दै लान सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सिन्डिकेट अन्त्य गर्ने नाउँमा सरकारले यातायात सङ्घहरू खारेज गर्दा यातायात व्यवस्था छिन्नभिन्न भएको र व्यवसायी तथा सेवाग्राही जनता दुवैले दुःख पाएको बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतले यातायात सङ्घहरू खारेज गर्न सरकारको निर्णय गैरकानुनी र अनुचित ठहर हुने फैसला गरेको ६ महिना बितिसक्दा पनि सरकारले सङ्घ संस्थाहरूको पुनः स्थापनासम्बन्धी ऐन नियम तर्जुमा नगरेकोमा खेद प्रकट गर्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सार्वजनिक यातायात नियमित र समयबद्ध रूपमा सञ्चालन गर्न व्यवसायीहरूको ध्यान जानुपर्ने, बसपार्क क्षेत्रको सरसफाइमा विशेष ध्यान जानुपर्ने र ध्वनि प्रदूषण कम गर्न आवश्यक कदमहरू चाल्नुपर्ने बताउनुभयो ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रालि सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रालिका कानुनी सल्लाहकारहरू रामप्रसाद प्रजापति र किरण न्यौपाने, कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानावासु, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका भक्तपुर संयोजक रामकाजी भुजु, प्रालि सञ्चालक समितिका सचिव दिनेश प्रधानलगायतले व्यवस्थित पार्कको अभाव, सडकको साँघुरोपनलगायत मिनिबस यातायात क्षेत्रका विविध समस्याबारे बोल्नुभएको थियो ।
Leave a Reply