भर्खरै :

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

‘तपाईँको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने’, ‘कपालमा भरिसकेका रौँहरू फेरि पलाउने’, ‘अनुहारमा भएका चायाँहरू हट्ने फेरि जवान हुने’ आदि कामका लागि विभिन्न सञ्चारमाध्यममा अनेकौँ विज्ञापनहरू हेर्न, पढ्न र सुन्न सकिन्छ ।
कतिपयले ती विज्ञापनमा विश्वास गरी त्यस्ता सामग्री किनेर प्रयोग गर्दा आर्थिक हिसाबले नराम्ररी ठगिनुमात्र परेको छैन, त्यसले स्वास्थ्यमा गम्भीर जटिलता पनि ल्याएको छ । असम्भव कुरामा विश्वास गर्नु हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि विज्ञापनको जालोमा धेरै मानिस फसिरहेका छन् ।
विशेषगरी मानिसमा रहेका केही कमजोर पक्षहरूलाई समात्न विज्ञापन गर्ने संस्था र गर्न लगाउने कम्पनीले अनेक आकर्षक कुराहरू गरेर झुक्याउन सफल हुन्छन् ।
त्यहीँ कमजोर पक्षलाई पकडेर गरिने विज्ञापन माछा जालमा फसेझैँ हामी फसिरहेका हुन्छौँ । उदाहरणका लागि ‘मोटो मानिसका लागि खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्न नपर्ने, नथाकिने, खाली एक क्याप्सुल औषधि बिहान बेलुका खाए पुग्ने’ जस्ता विज्ञापनले त मुटुमा यसरी छुन्छ कि मोटा व्यक्तिहरू त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन् । त्यस्तै, प्रकारले ‘कम्मर पेटी बाँधेर केही छन बसेपछि पसिना निस्कन्छ अनि कम्मर त एक इन्च घटिहाल्छ’ भन्नेजस्ता लोभलाग्दो कुरा विज्ञापनमा भनेपछि कम्मर घटाउन चाहने मानिस दौडेर त्यो पेटी किन्न तयार हुन्छ ।
हामीहरू मध्ये धेरैले विज्ञापनमा भनिएका कुराहरू कति सत्य हुन् भन्ने कुरामा कहिल्यै सोचेका हुँदैनौँ । मोटोपन घटाउन वा औषधि वा कम्मर घटाउन बेल्टले कति सहायता दिन्छ होला त ? शरीरभित्र रहेको बोसो एकैचोटी पगाल्ने कुनै औषधि हुँदैन । यदि त्यस्तो हुँदो त अमेरिकामा २५ प्रतिशत जनसङ्ख्याले त्यो औषधि प्रयोग गर्थे होलान् । कम्मर पेटी बाँधेर पसिना निस्कँदा कम्मरको नाम ३४ इन्चबाट ३३ इन्च हुँदो हो त, त्यस्तो खालको कम्मर पेटीको उत्पादन गर्ने कम्पनी हजारौँको सङ्ख्यामा हुने थिए होला ।
किनभने एक दिनमा एक इन्च घट्ने कम्मर १० दिनमा १० इन्च घट्दैन थियो होला त ? शरीरको कम्मरको नाप १० दिनमा १० इन्च घट्न शरीरको तौल कति कम हुनुपर्छ होला ? १० दिनमा के आश्चर्यजनकरूपले ‘केही नगरिकन’ तौल कम होला र ? तैपनि, किन मानिसहरूले विश्वास गर्छन् र प्रयोग गर्छन् । विज्ञापनमा भनेका कुरा एक दिन–दुई दिन वा एकै दिनमा दसौँ चोटी सुनेपछि जो कोहीलाई पनि ‘हो कि, हो कि’ जस्तो लाग्न थाल्छ । त्यसमाथि पनि साँच्चिकै कुनै मानिसले त्यसमाथि पनि सुडौल खालकी महिलाले आएर ‘आफू पहिला मोटी भएको, तर औषधि खाएर वा कम्मरपेटी लगाएर पातलो भएर जीवन नै अर्को भएको कुरा’ भनेपछि विश्वास नगर्ने पनि कसरी ? भन्ने भावना आउँछ । हो, यही भावनालाई पकडिएका छन् विज्ञापन निर्माता कम्पनीहरूले ।
यदि साँच्चै यसरी औषधि र पेटीको कारणले पातलोपन आउँदो हो त डाक्टरहरू त्यसमाथि पनि मुटु रोग विशेषज्ञहरूले बिरामीलाई यिनै औषधि वा पेटी किन्न लगाउँथे । चिनीका रोग भएको मोटा व्यक्ति, मुटुको रोग भएर तौल घटाउनु भन्ने रोगीलाई खानेकुरा कम गर्ने, व्यायाम गर्ने आदिको ठाउँमा यस्ता विज्ञापनको बढी काम लाग्थ्यो होला । उमेर बढ्दै जाँदा जीवनशैलीका कारणले (विशेषगरी बौद्धिक काम गर्ने) व्यक्तिहरूलाई त यही पेटी र औषधि प्रयोग गर्नु भन्नेबारेमा विशेषज्ञले बोल्थे होलान् ।
मोटो मानिसलाई खानेकुरा कम खाएर र व्यायाम गरेर महिनौँ लाग्ने काम त औषधिको एउटा चक्कीले हुने भए किन शारीरिक र मानसिक दुःख गरिरहनु पथ्र्यो र ? यदि साँच्चै यस्तो हुँदो त बिहानबिहान उठेर ‘मर्निङ वाक’ वा जीम गर्नेहरूले बिहानको मीठो निद्रा छोडेर गर्मी, जाडो, पानी नभनी किन दुःख गर्थे होलान् ?
आधुनिक समाजमा मानिसहरूलाई विश्लेषण गर्ने समय छैन, विज्ञापनमा भनेको कुरा सुन्दासुन्दा हो जस्तो लाग्छ र फेरि त्यस्ता गलत विज्ञापनहरूको विरुद्धमा कसैले नबोल्ने र नलाग्ने हुनाले मानिसहरूलाई त हो न हो यो कुरा साँच्चै जस्तो लाग्छ ? म यसरी औषधि प्रयोगबाट तौल घटाउँदा शरीरमा धेरै हानी गर्छ । यस्ता औषधिहरूले केही समयको लागि घटाएजस्तो हुन्छ तर वास्तवमा शरीरको पानी गएर तौल घटेको अनुभव हुन्छ ।
पसिना शरीरबाट गएर, पेटी बानेर ‘तौल घटाउनु’ भन्ने त वाहियात विज्ञापन हो । विज्ञापनको अर्को पक्ष देखिन्छ विभिन्न थरिका सौन्दर्य सामग्रीमा । उमेर बढ्दै जाँदा हुँदै जाने शारीरिक भित्री र बाहिरी परिवर्तनहरू रोक्छन् वा प्रकृतिबाट लिएर आफ्नो छालाको रङ फेर्न सकिने भन्ने गरी जसरी विज्ञापन दिइन्छ । त्यसले एउटा त गलत ज्ञान वा कुराहरू भनिरहेको हुन्छ, अर्को मानवीय दृष्टिकोणले पनि कुनै खास वर्णका मानिसहरूले सोही कारणले जीवनमा सफलता प्राप्त गर्न सक्दैनन् भन्नेजस्ता विचार पनि दिइरहेका हुन्छन् । शरीरको छालाको बनोट र रङ हामीहरूले जन्मेदेखि लिएर आएका हुन्छौँ । यसलाई बाहिरी वस्तुहरू लेपन गरेर रङ् परिवर्तन गर्न सकिँदैन । कुनै रोग लाग्यो भनेजस्तो छालाको ‘ल्यूकोडर्मा’ (जसमा छालाको रङ दिने वस्तु) मेलानिन कम हुँदै जान्छ भने छालाका रङ बदलिन्छ ।
तर, छालाको रङ कालोबाट गोरो हुने वस्तु हुँदैन । तर, ‘गोरो’ हुनुपर्ने र गोरो भएपछि केटा र केटीले एक अर्कालाई मन पराउँछन् भन्नेजस्ता विज्ञापन दिएर सौन्दर्य सामग्री बनाउने कम्पनीले मालामाल हुने कारण पनि हाम्रो विश्वास हो । विज्ञापनबाट प्रेरित भएर हामी शरीरको छालालाई सफा राखेर, व्यायाम गरेर, पोषणयुक्त खाना खाएर स्वस्थ राख्नको सट्टामा सौन्दर्य सामग्री किनेर, लेप लगाएर राम्रो (गोरी) देखिन चाहन्छौँ । तर, यस्ता सौन्दर्य सामग्रीहरूको प्रयोग कति ठीक हो, विज्ञापनमा भनिएका कुरा कति सत्य हो, लामो समयसम्म यसको प्रयोग गरेपछि के हुन्छ भन्ने बारेमा हामी कहिले सोच्दैनौँ ।
छाला रोग विशेषज्ञ डा. बिमला ओझा भन्नुहुन्छ, “यस्ता विज्ञापनहरू गलत सन्देश दिन्छन् सौन्दर्य र वैज्ञानिक दृष्टिकोणले पनि ठीक छैन । मानिसको शरीर स्वस्थ रह्यो भने अनुहारको चमक आफैँ आउनेछ ।”
यस्तो विज्ञापनको विश्वास नगर्नु होला , ठगिएला…. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *