भर्खरै :

विश्वमा एकातिर सभ्यताबारे बहस चल्दै छ भने अर्कोतिर नरसंहार चल्दै छ

विश्वमा एकातिर सभ्यताबारे बहस चल्दै छ भने अर्कोतिर नरसंहार चल्दै छ

ख्वप इन्जिनियरिङ कलेजको २३ औँ र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको १६ औँ वार्षिकोत्सव समारोहको उपलक्ष्यमा कलेज परिवारमा हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछु । दुवै कलेजका अग्रजहरूप्रति सम्मान व्यक्त गर्दछु । कलेजका परिकल्पनाकारप्रति उच्च सम्मान प्रकट गर्दछु ।
राजनीतिक नेतृत्व, त्यो नेतृृत्वको दूरदृष्टि तथा इच्छाशक्ति र जनताको साथ–सहयोगको योगबाट यी कलेजको जन्म भयो । इमानदार राजनीतिक नेतृत्वको बुद्धिमत्तापूर्ण मार्गनिर्देशन एवम् अभिभावकत्वको कारण हाम्रा यी कलेज परिणाममुखी ढङ्गमा अगाडि बढ्दै छन् । यी कलेजहरूको गुणस्तर वृद्धिका निम्नि मेहनत गर्ने शिक्षक कर्मचारी–सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । अध्ययनरत विद्यार्थीहरूमा उज्ज्वल भविष्य एवम् सदा सफलताको कामना गर्दछु । यी कलेजहरूप्रति अभिभावकहरूको विश्वासको सराहना गर्दछु ।
यो महत्वपूर्ण समारोहमा केही समसामयिक विषय उत्थान गर्ने मनसायसहित दुई–चार शब्द राख्ने कोसिस गर्दछु ।
संसार आधुनिक विज्ञान तथा प्रविधिको क्षेत्रमा दु्रतगतिमा प्रगति गर्दै छ । त्यसको प्रभाव मानव समाज, मानव जीवन, वातावरणलगायत सबैसबैतिर पर्दै छ । वैज्ञानिक आविष्कार, सफलता, नयाँ प्रयोग तथा उपलब्धिका खबरहरू दैनिकजसो आउँदै छन् । अर्कोतिर अत्याधुनिक हातहतियारको परीक्षण तथा प्रयोग र त्यसको स्वाभाविक परिणामको रूपमा विनासका खबरहरू पनि दैनिक नछुटाई आइरहेका छन् । विज्ञान र विनाश, विकास र विनाश वर्तमान युगको सन्दर्भमा घाम–छायाँझैँ बन्दै छ या बनाइँदै छ । पछिल्ला केही दशकमा इराक, लिविया, अफगानिस्तान, प्यालेस्टिन, लेवनानदेखि सिरियासम्मका घटनाले आधुनिक युगको अत्यन्त अँध्यारो पक्ष उजागर गरेका छन् । लाखौँ–लाख मानिस मारिए र मारिँदै छन् । भौतिक बर्बादीको कुनै लेखाजोखा नै छैन । ती विनाश तथा नरसंहारले तेस्रो विश्वयुद्धको झझल्को दिँदै छ । प्यालेस्टिन र सिरिया दोस्रो विश्वयुद्धपछिका हिरोसिमा र नागासाकीको दुर्भाग्य भोग्दै छन् । फरक यति हो प्यालेस्टिनी जनता आत्मसमर्पण गर्न अस्वीकार गर्दै छन् । अमेरिका र इजरायलको फासीवादी तथा नवनाजीवादी हमलाविरुद्ध प्रतिरोध गर्दै छन् । संसारका न्यायप्रेमी जनता ऐक्यबद्धता जनाउँदै छन् । उता युक्रेनलाई काँधमा बोकेर अमेरिका र उसका समर्थक नाटो देशहरू पुराना हतियार बेच्ने र नयाँ नयाँ हतियारको परीक्षण गर्ने अवसर लिँदै छन् । नयाँ हतियारको शक्ति प्रदर्शन गरेर हतियार बेच्ने तयारी गर्दै छन् । हतियार देखाएर लोभ्याउँदै छन्, तर्साउँदै छन्, युद्ध उत्तेजना बढाउँदै छन् र हतियारको होडबाजी बढाउँदै छन् । यस क्रममा युक्रेन, हिजोको सोभियत सङ्घको सुन्दर फूल, संसारलाई असङ्ख्य इन्जिनियर, वैज्ञानिक, डाक्टर दिएको या पठाएको युक्रेन आज अमेरिकाको प्रयोगशाला बन्दै छ । कुरुक्षेत्र बन्दै छ । एक थरी वैज्ञानिकहरू, इन्जिनियरहरू यतिखेर पछुताउँदै होलान् ¤
यो त भयो हामीले बाँचिरहेको वर्तमान विश्वको कुरूप पक्ष । यो त अँध्यारो पाटो भयो । जहाँ अँध्यारो हुन्छ, त्यहाँ उजेलीको सङ्केत मिल्दछ जसरी घोर अन्धकार रातले बिहानीको जन्म दिन्छ ।
आज हाम्रो छिमेकी देश चीन, पूर्वको एउटा प्राचीन मुलुक, पाँच हजार वर्षभन्दा पुरानो सभ्यताको देश चीन संसारलाई सभ्यता, सुन्दरता, संस्कृति, इतिहास र जीवनको महत्वबोध गराउँदै छ । विश्व सभ्यतामा पहिलो पटक एक अर्ब चालिस करोड जनतालाई भोक, गरिबीबाट मुक्त गरेर अभूतपूर्व सफलता चीनले प्राप्त ग¥यो । भोकमाथि पूर्ण विजय हासिल गर्ने लडाइँमा चीन विश्वका सयौँ देशलाई सहयोग दिँदै छ । यी लडाइँमा चीनले आधुनिक विज्ञान र प्रविधिको आविष्कार तथा उपलब्धिको पर्याप्त प्रयोग गर्दै छ ।
यसरी समकालीन विश्वमा दुई फरक प्रकृतिका युद्ध समानान्तर चल्दै छन् । अब प्रश्न उठ्नु स्वाभाविक छ, तपाईँ कुन युद्धको पक्षमा उभिन चाहनुहुन्छ ? कुन युद्धको सहयोग गर्न चाहनुहुन्छ ? एकजना इन्जिनियर, आर्किटेक्ट, प्राध्यापक या सचेतको नाताले कुन लडाइँ सही हो ठान्नुहुन्छ ? आशा छ, तपाईँले विवेकसम्मत जवाफ दिनुहुनेछ र सोहीबमोजिम निर्णय गर्नुहुनेछ ।
थप केही उदाहरण दिएर सरलीकृत बनाऔँ ¤ हाम्रो जोडिएको देश चीनले विश्व मानव समाजको कल्याणको लागि विश्व सभ्यता अगुवाइको कार्यक्रम अगाडि बढाउँदै छ । कला–संस्कृति, इतिहास, सभ्यताको जगेर्ना तथा उन्नतिका निम्ति साझा प्रयास, सामूहिक अगुवाइ र आर्थिक उन्नयनको अनिवार्यता बोध गर्दै त्यसको नेतृत्व गर्दै छ । Belt and Road Initiative, Global Development Initiative, Global Security Initiative / Global Civilization Initiative त्यही क्रममा प्रस्ताव गरिएका हुन् र अगाडि बढाइएका हुन् । एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका देशहरूमा विकास, निर्माण, आदान–प्रदान, अर्थतन्त्रको सबलीकरण र सांस्कृतिक पुनर्जागरणका निम्ति अभिन्न अङ्ग बन्दै छन् BRI, GDI, GSI, GCI र वरदान अनुभव गरिँदै छ । देशभित्र चीन सभ्यताको उत्खनन्, पुरातत्वको अध्ययन–अन्वेषण, संस्कृति तथा इतिहासको जगेर्नामा जुट्दै छ । समकालीन विश्वको यो अत्यन्त उज्यालो एवम् सुन्दर पक्ष हो । हामी नेपाली बौद्धिक समुदायले कुन बाटो रोज्ने ? कुनलाई सही ठान्दै सक्दो अनुशरणसमेत गर्ने ? यहाँनिर हाम्रो विवेकको परीक्षा र सोही अनुसारको निर्णय अपेक्षित हुन्छ । तर, एउटा कुराको तड्कारो आवश्यकता रहन्छ, दोषी चस्मा फुकालेर बीआरआई र त्यसको सिलसिलाको अध्ययन । नेपाली उदीयमान बौद्धिक र बौद्धिक समुदाय यस मामिलामा नचुकोस् भन्ने आग्रह छ । यसमा हामी चुक्यौँ भने पछुताएर पनि केही हुनेवाला छैन । यो तीतो यथार्थ हो ।
आशाको किरण मात्र नै सही, भक्तपुरमा विगत लामो समयदेखि कला–संस्कृति, सम्पदा, भाषा, इतिहास जोगाउने, पुनर्जीवित गर्ने अभियान चल्दै छ । निश्चय पनि यो कठिन र लामो अभियान हो । त्यो चुनौतीपूर्ण बाटो भक्तपुरले हिँडेको कमसेकम पनि आधा शताब्दी नाघिसकेको छ । प्राचीनतासँगसँगै आधुनिकता अर्थात् ज्ञान–विज्ञान र समाजको बुद्धिजीवीकरणको लक्ष्यसहित भक्तपुर अगाडि बढ्दै छ । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँले त्यो प्रस्ताव सार्वजनिकरूपमा घोषणा आजभन्दा २५ वर्ष अगाडि गर्नुभयो । सत्प्रयास जारी छ । घर–घरमा स्नातक सँगसँगै इन्जिनियर, डाक्टर, वकिल, शिक्षक या नर्सर पाएर समाज उत्साहित छ ।
सांस्कृतिक गुरु, सिद्धहस्त कलाकार, कालीगड, प्राविधिकको सङ्ख्या उल्लेख्य ढङ्गमा बढ्दै छ । यी दक्ष जनशक्ति भक्तपुरको मात्र होइन देशकै सेवा गर्दै छन् र प्रजातन्त्रको समेत अनुभूति देशवासीलाई दिलाउँदै छन् । भक्तपुर महोत्सवले यी विषय अर्थात् संस्कृति पुनर्जागरणदेखि शैक्षिक अभिसम्मको यात्रा–सङ्घर्ष देश–विदेशका जनतासमक्ष प्रस्तुत गरेको आभास हुँदै छ । परिवर्तनका यी आयाम हामी अनुभूत गर्दै छौँ या छैनौँ ? यी परिवर्तनका संवाहकलाई चिनेका छौँ कि छैनौँ र तिनलाई समर्थन जनाएका छौँ कि छैनौँ ? असललाई साथ नदिनु भनेको घुमाइफिराइ खराबको साथ सिद्ध हुन पुग्छ ¤
यी र यस्ता अत्यन्त संवेदशील विषय, स्थानीयदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारका विषयमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले सुझबुझका साथ यहाँबाट तयार हुने इन्जिनियरहरू, आर्किटेक्टहरूलाई जानकार बनाउँदै सचेत, इमानदार एवम् कर्तव्यनिष्ठ बनाउन हिजोका दिनमा झैँ भविष्यमा पनि निरन्तर प्रयास जारी राखोस् र सोही भावनाबमोजिम यहाँका हरेका विद्यार्थी कर्तव्यपथमा हिँड्न सकून् भन्ने कामना गर्दछु । विज्ञान र प्रविधिको क्षेत्रमा दु्रतगतिमा प्रगतितर्पm फड्को मार्दै विश्व एआई अर्थात् कृत्रिम बौद्धिकतामा प्रवेश गर्दै सोहीअनुसारको परिणाम धमाधम आउँदै गरेको सन्दर्भमा हाम्रा नयाँ पुस्ता योग्य, सक्षम तथा सिर्जनशील बन्न सकून् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
(ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पुस २ गते सम्पन्न वार्षिकोत्सव समारोहमा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले व्यक्त गर्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *