भर्खरै :

विद्या आर्जनको ३२ औँ वार्षिकोत्सव कार्यक्रम

विद्या आर्जनको ३२ औँ वार्षिकोत्सव कार्यक्रम

भक्तपुर, २४ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने भक्तपुर नगरपालिकाको उद्देश्यलाई मूर्त रूप दिन भक्तपुर नगरपालिकाले शिक्षालाई जोड दिँदै आएको बताउनुभयो ।
विद्या आर्जन इङ्गलिस सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोमा उहाँले भक्तपुरका हरेक विद्यालयको नतिजा शत प्रतिशत बनाउन घच्घच्याइरहेको बताउँदै शिक्षाको गुणस्तर वृद्धिसँगै विद्यार्थीको स्तर पनि राम्रो हुँदै गएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि बोर्ड परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्दै आएको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले निजी र सामुदायिक विद्यालयलाई समान ढङ्गले हेर्दै आएको बताउनुभयो । उहाँले निजी र सामुदायिक विद्यालयबिचको गुणस्तरमा प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले नपाले विभिन्न समयमा संयुक्तरूपमा प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले भक्तपुरको शिक्षा विकासमा विद्या विकास स्कूलको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै देशको लागि सक्षम जनशक्ति उत्पादनमा विद्यालयले अग्रसर भूमिका खेल्दै आइरहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न पाठ्यक्रमसँगसँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई युगसुहाउँदो शिक्षा दिने प्रयत्न विद्यालयले गर्दै आएको बताउनुभयो ।
प्रमुख अतिथि प्रजापति र अतिथिहरूले एसईई उत्तीर्ण विद्यार्थी र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी लक्ष्मीप्रसाद ढुकुछु, अभिभावक प्र्रतिनिधि विश्वराम थापा, शिक्षक रञ्जन फाजु, राजश्री, सलिना तामाङ, सुवास तामाङ, सतिश खड्का र पूर्वविद्यार्थी सरु न्हिसुतुले विद्यालयको शैक्षिक विशेषताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *