भर्खरै :

दुष्कृति कानुन

दुष्कृति कानुन

मुलुकी देवानी संहिता २०७४, भाग ५ करार तथा अन्य दाियत्वसम्बन्धी व्यवस्थाको परिच्छेद १७ मा दुष्कृति (टर्टस्) सम्बन्धी व्यवस्था गरिएको छ ।
परिचय
आफू वा आफैले दायित्व बहन गर्नुपर्ने अरू कसैको त्रुटि, हेलचक्रयाइँ वा लापरबाही जेसुकैबाट गर्नुपर्ने काम नगरेको नगर्नुपर्ने काम गरेबाट कसैको जीउ, ज्यान, सम्पत्ति वा कानुनी हकहितमा कुनै किसिमको हानि नोक्सानी पु¥याउनुलाई दुष्कृति भनिन्छ । दायित्व सामान्यतः आफूले कानुनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी हो । जुन पूरा नगरेबापत कानुनीरूपमा परिणाम भोग्नुपर्ने हुन्छ । तर, दुष्कृतिमा अरुले गरेको काम वा अकर्मण्यताबाट सिर्जित असरको परिपूरण आफूले व्यहोर्नुपर्ने हुन्छ । अभिभावकले सन्तानको, मालिकले नोकरको, पशुधनीले पशुले गरेको क्षति हानिको भर्पाई गरी दिनुपर्छ । दुष्कृतिमा लापरबाही तथा हेलचक्रयाइँबाट सिर्जित दायित्वको रूपमा क्षति र हानिको अनुपातमा क्षतिपूर्ति भर्नुपर्छ । दुष्कृति कानुनको उद्देश्य नै मूलतः क्षतिपूर्ति भराउनु हो । यसमा देवानी कानुन तथा फौजदारी कानुन दुवैको गुण विद्यमान हुन्छ । हेलचेक्रयाइँ तथा लापरबाही फौजदारी कानुनसँग सम्बन्धित छ भने क्षर्तिपूति तथा दायित्वको बहन देवानीसँग सम्बन्धित छ । एक जना व्यक्तिको दायित्व हुने सम्पूर्ण जिम्मा निजकै हुन्छ । तर, दुष्कृति मानिने काम एकभन्दा बढी भएकोमा दुष्कृतिको मात्राको अनुपातमा अलग अलग दायित्व निर्धारण गर्न सकिएमा कसुरमा संलग्नता, हानि पु¥याउने काममा बढी जिम्मेवारी भए सोहीबमोजिम र नसकिएमा संलग्न सबै व्यक्तिले दुष्कृतिको लागि जिम्मेवार व्यक्ति सबैले समानरूपमा दायित्व व्यहोर्नुपर्नेछ ।
नेपालमा १४ वर्ष उमेर पूरा नभएको बालबालिकाले गरेको त्रुटि, हेलचेक्रयाइँको हानि नोक्सानी निजको आमाबुबा वा अभिभावकले दायित्व व्यहोर्नुपर्नेछ । त्यस्तै, होस ठेगानमा नरहेको व्यक्तिले गरेको दुष्कृतिबापत निजको संरक्षक वा माथवर जवाफदेही हुनुपर्छ र क्षतिको अनुपातमा क्षतिपूर्तिको दायित्व भरण गर्नुपर्छ ।
नेपाली समाजमा हालसम्म धेरै घरपरिवार सयुंक्त परिवारको रूपमा बस्दै आएका छन् । त्यस्तै, सहरी क्षेत्रमा घरबहालमा बस्नेहरूमा घरमूली कसलाई मान्ने दुविधा रहेकोले संहिताले नै घरमूली शब्दको स्पष्ट परिभाषित गरेको छ । घरमूली भन्नाले घर परिवारमा मुख्य भई काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले कसैको घरमा बहालमा बस्ने व्यक्तिको हकमा बहालवालाको परिवारको मुख्य भई काम गर्ने व्यक्तिसमेतलाई बुझाउँछ ।
पशुपन्छीको कार्यबाट हुने दुष्कृति
आफूले पालेको घरेलु जनावर वा आफ्नो नियन्त्रणमा रहेको पशु तथा पन्छीले कसैलाई पु¥याएको हानि, नोक्सानी त्यस्तो पशुधनीले जिम्मा लिनुपर्छ । पशुधनीले पर्याप्त सुरक्षात्मक उपाय अपनाई उपयुक्त तरिकाले नियन्त्रण गरेको अवस्थामा कुनै व्यक्तिको काम, त्रुटिबाट हानि नोक्सानी भएकोमा त्यस्तो जिम्मा पशुधनीको हुनेछैन ।
सहायकको कार्यबाट हुने दुष्कृति
आफूले काममा लगाएको घरेलु कामदार, सहायकले त्यस्तो कामको सिलसिलामा असल नियतले गरेको कार्यबाट कसैलाई हानि, नोक्सानी भएमा त्यसरी काममा लगाउने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यसको दायित्व व्यहोर्नुपर्छ । तर, कामदार वा सहायकले हेलचेक्रयाइँ वा बदनियतले गरेको काम बापतको दायित्व स्वयम्ले बहन गर्नुपर्छ ।
निर्माण कार्यबाट हुने दुष्कृति
हामी सबैले गर्दै र भोग्दै आएको विषय हो, काठमाडौँमा घर निर्माण गर्दा छिमेकीको खाली जग्गा, बाटोमै घर निर्माण गर्दा सामग्री इँटा, डण्डी, रोडा, बालुवा थुपार्ने गर्छौँ । जसले गर्दा बाटोमा हिँड्डुल गर्ने बटुवालाई अप्ठ्यारो हुने, बालबालिका दुर्घटना हुने अवस्था विद्यमान छ । बालुवाले साइकल, बाइक चालक लडेको दुर्घटना हामी सबैले देखे भोगैकै हो । अग्लो घरमा ढलान तथा वाल बनाउने क्रममा निर्माण सामग्री खसेर बाटो हिँड्ने मानिस, चालकलाई परी दुर्घटना हुन्छ, अन्डरग्राउन्ड सहितको घर, भवन बनाउँदा छिमेकीको वरपरको घर भासिएको पनि धेरै घटना घटेका छन् । त्यस्तै, घर निर्माण गर्दाका बखत हुने दुर्घटना निर्माण गरिसकेपछि जे सुकै भए तापनि त्यस्तो घर पूरा वा आंशिकरूपमा भत्किई वा त्यसको कुनै अंशले कसैलाई कुनै किसिमको क्षति हानि नोक्सानी भएकोमा त्यस्तो घरधनीले पूरा दायित्व व्यहोरी क्षतिपूर्ति दिनुपर्छ ।
उपकरणबाट हुने दुष्कृति
कुनै सम्पत्ति जस्तै मेसिन, उपकरण, यन्त्र, प्रज्ज्वलनशील वा विस्फोटक पदार्थको कारणले कसैको जिउधनको नोक्सानी भएमा सो सम्पत्तिको धनीले क्षर्तिपूर्ति दिनुपर्छ । कुनै यन्त्र, मेसिनलाई त्यसको प्रकृतिको अनुसार उपर्युक्त ढङ्गबाट सुरक्षाका उपायहरू नअपनाएको कारणले विस्फोट भएमा जिम्मा धनीले लिनुपर्छ । नेपालका अधिकांश पेट्रोल पम्पको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्ड छैन । कुनै बस्ती नजिक कुनै भवन तथा घरसँगै टाँसिएको, कुनै व्यस्त सडक नजिकै पेट्रोल पम्प खोलिएका छन् । समय–समयमा उपत्यकाका पम्पहरूमा आगलगी र विस्फोटको घटना पत्रिकामा प्रकाशित नभएको होइन । यसरी ती पम्पहरूले अपनाउनुपर्ने सुरक्षाका उपायहरू पालना नगरी आगलागी विस्फोट भएमा वा सो विस्फोट भएमा त्यसबाट हुने क्षति पेट्रोल पम्प धनीले व्यहोर्नुपर्छ ।
वातावरण प्रतिकूल कार्यबाट हुने दुष्कृति
दुष्कृतिको कानुनले कुनै औद्योगिक प्रतिष्ठानले निर्धारित मापदण्डविपरीत हुने गरी अत्यधिक धुँवा, ध्वनि पैदा गरेमा उद्योगको मालिकले त्यसको क्षति व्यहोर्नुपर्ने व्यवस्था गरेको छ । काठमाडौँ उपत्यकाको नदीको पानीमा दूषित गर्ने प्रमुख कारकमध्ये अस्पतालबाट निस्कने केमिकलयुक्त रसायनिक पदार्थ, औषधिजन्य दूषित तरलले उपत्यकालगायतको नदी खोला दूषित भएकोले बालबालिका, पशुपन्छी, जलधर पारिस्थितिक प्रणालीमा समेत असर परेको छ । यस्तो क्षतिलाई यकिन गरी क्षतिपूर्ति भराउने व्यवस्था गर्न पनि कानुनको आवश्यकता छ ।
अनधिकृत प्रवेशबाट हुने दुष्कृति
नेपाली समाजमा छिमेकी भनेको मर्दापर्दा आवश्यक हुन्छ । ज्यूँदाका जन्ती र मर्दाका मलामी हो । हामीलाई छिमेकको घर जान विशेष अनुमति लिनु नौलो लाग्छ । यस्तो अवस्थामा दुष्कृतिको कानुनले अनधिकृत प्रवेश गर्ने व्यक्तिले गरेको क्षति व्यहोर्नुपर्छ भनी कानुनी व्यवस्था गरेको छ । के अब छिमेकीको घरमा जान पनि डराउनुपर्ने हो र ? के हो त अनधिकृत प्रवेश ? अनधिकृत प्रवेश भनेको कसैले कसैको हक, भोगचलन वा स्वामित्वमा रहेको घर जग्गामा गैरकानुनी प्रवेश गर्र्ने, घरमा रहेको सरसामान, वस्तु वा जग्गाको उत्पादन कब्जा गर्ने, अनधिकृत क्षति पु¥याउने, हस्तक्षेप वा गैरकानुनी खिचोला गर्नु हो । त्यस्तै, चल सम्पत्ति जस्तै गरगहना, पैसा, वस्तु भए अर्काको हक र स्वामित्वमा रहेको सम्पत्ति जबरजस्ती कब्जा गर्ने, लैजाने, त्यसबाट प्राप्त लाभसमेत लिने वा भोगचलन गर्नलाई बाधा विरोध गर्ने कार्य र कुनै पनि किसिमको सम्पत्तिलाई बिनाअधिकार, अनुमति, मञ्जुरी नलिई अनधिकृत तरिकाले नियन्त्रण कार्य गर्नु हो । यस्तो कार्य कसैले गरेमा दुष्कृतिको कानुन आकर्षित हुन्छ ।
मुलुकी देवानीसंहिता २०७४ को दफा ९४९ बमोजिम दायित्व सिर्जना हुने अवस्थाको स्पष्ट कानुनी व्यवस्था गरी तीमध्येमा कानुनबमोजिम दुष्कृति मानिने काम गरेमा दायित्व सृजना हुन्छ भन्ने सोबाट भएको दायित्वको बहनसमेत गर्नुपर्छ । सर्वाेच्च अदालतले डा. बुद्ध बस्न्यातविरुद्ध ज्योति बानियाँसमेतको क्षतिपूर्ति दिलाई पाऊँ मुद्दामा स्वास्थ्य उपचारमा संलग्न हुने चिकित्सकहरूले बिरामीप्रति उच्च स्तरको हेरचाह गर्नुपर्ने कर्तव्य रहन्छ । यदि चिकित्सकले होसियार नभई हेलचेक्रयाइँपूर्वक बिरामीको चेक जाँच गरेमा चिकित्सकको सो कार्य दुष्कृतिअन्तर्गत पर्ने भनी कानुनी व्याख्या गरेको पाइन्छ । यसरी विशेष सेवा प्रवाह गर्ने पेसाहरू इन्जिरियरिङ, कानुन व्यवसायी, लेखा व्यवसायी आदिले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा पेसागत आचारसंहिता र काम गर्दा पु¥याउनुपर्ने होसियारी बुद्धिविवेक प्रयोग नगरी लापरबाही तथा हेलचेक्रयाइँ गरेको अवस्थामा यी कार्यलाई मुद्दामामिलाको रोहमा अदालतले दुष्कृतिअन्तर्गत पर्ने कानुनी व्याख्या हुनसक्ने सम्भावना छ ।
यसर्थ, व्यक्ति, संस्था, कम्पनीले अर्काे व्यक्ति, संस्था, कम्पनीलाई हानि गरेको हकमा देवानी प्रकृतिको विषयमा दुष्कृति कानुन लागु हुन्छ । त्यस्तै कुनै सरकारी निकायको गैरजिम्मेवारीपना, अकर्मण्यता, लापरबाही र हेलचेक्रयाइँबाट कुनै नागरिकलाई प्रत्यक्षरूपमा प्रभाव परेमा त्यसको क्षतिको पूर्ति गराउन कानुनको आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *