भर्खरै :

समाजवादी व्यवस्थालाई सफल बनाउन जनतामा समाजवादी व्यवहार र आचरण हुनु जरुरी

समाजवादी व्यवस्थालाई सफल बनाउन जनतामा समाजवादी व्यवहार र आचरण हुनु जरुरी

मध्यपुर, ४ कार्तिक । सत्ताइसौँ विविध भाषा साहित्य सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा मङ्गलबार मध्यपुरथिमि नगरपालिकाको तुलंननीमा सम्पन्न भयो ।
सांस्कृतिक गुरू हर्षबहादुर प्रजापतिले उद्घाटन गर्नुभएको सम्मेलनमा अध्यक्ष बिजुक्छेँले समाजवादी व्यवस्थाले मात्र सम्पूर्ण समस्याको समाधान गर्न सक्ने स्पष्ट पार्दै समाजवादी क्रान्तिलाई सफलता पु¥याउन एक ऐतिहासिक युग लाग्नसक्ने भए पनि कहिलेकाहीँ परिस्थितिमा पनि भरपर्ने बताउनुभयो ।
जबसम्म समाजवादी व्यवस्थाको लागि योग्य मानिस हुँदैन तबसम्म समाजवाद आउनेछैन । त्यसका लागि जनतामा समाजवादी आचरण हुनु जरुरी छ । आफूलाई कम्युनिस्ट भन्ने तर छोराछोरी विदेशमा पठाउन दलाली गर्ने प्रवृत्ति पूर्णतः गलत छ, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले व्यक्तिहत्या र सशस्त्र क्रान्तिबाट मात्रै समाजवाद आउँछ भन्नु गलत भएको चर्चा गर्दै समाजवादी व्यवस्थालाई सफलतामा पु¥याउन जनतामा समाजवादी व्यवहार र आचरण हुनु जरुरी छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल संवत् मनाउने काठमाडौँ उपत्यकाभरि तलेजुको साइतअनुसार हुने र तिहार लहरै ३ दिनसम्म मनाउने प्रचलन रहेको बताउनुभयो ।
एमाले, माओवादी, काङ्ग्रेसले पटक पटक सरकारमा गएर जनविरोधी कार्य गरेको, भ्रष्टाचारीलाई छुट दिएको कारण युवा पुस्ताको आक्रोश भदौ २३ र २४ गतेको घटनामा पोखिएको उहाँले बताउनुभयो ।
संरा अमेरिकी सरकारले रङ्गीन क्रान्ति भन्दै विभिन्न देशहरूमा एनजीओ र आईएनजीओमार्फत विद्रोह गराई आफू अनुकूल सरकार गठन गर्ने दुष्प्रयास गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले राजनीतिक परिस्थिति बुझ्नु जरुरी छ । विविध साहित्य सम्मेलनको दबु एक विश्वविद्यालय हो, यो कामदारवर्गको पाठशाला हो ।”
तोडफोड र आगजनी गरेर परिवर्तन नहुने स्पष्ट गर्दैै प्रमुख प्रजापतिले राजनीतिक बन्दोबस्त र नीति निर्णयमा परिवर्तन ल्याउन सङ्घर्ष गर्नुपर्ने, भ्रष्टाचार हटाउन भ्रष्टाचारीहरूको सम्पत्ति जफतदेखि मृत्युदण्डसम्मको सजाय गर्ने कानुन हुनुपर्नेमा जोड दिनुभयो ।
जलस्रोतविज्ञ रतन भण्डारीले देशको सबै प्रदेशको समान ढङ्गले विकास नहुनुमा सरकारमा जाने दलहरू जिम्मेवार भएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले प्रतिक्रियावादी विचार अङ्गाल्नु भनेको पटक पटक आत्महत्या गर्नुसरह हुने धारणा राख्दै प्रगतिशील विचार आत्मसात गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरका साहित्यिक कार्यक्रममा राजनीतिक पार्टीको सक्रिय सहभागिता र चासो अरू ठाउँले पनि सिक्नु जरुरी भएको उहाँले बताउनुभयो ।
स्नायु विशेषज्ञ डा. रूपेश चक्रधरले पे्रेसर उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्नुको विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “छारे रोगलाई देउता चढेको, बोक्सी लागेको भन्ने जस्ता अन्धविश्वासमा फस्नु हुन्न । उच्च रक्तचापलाई नियन्त्रण गर्न स्वस्थकर खानेकुरा खाई जीवनशैलीमा पनि स्वस्थ राख्नु जरुरी छ ।”
वरिष्ठ साहित्यकार कृष्णमोहन जोशीले साहित्यकारहरूले दोधारे नीति लिन नहुने चर्चा गर्दै अलमलको साहित्य लेख्न नहुनेतर्फ सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, “साहित्य समाजको ऐना भनिन्छ, ऐनाले बाहिरी स्वरूपमा मात्र देखाउँछ भित्री कुरा देखाउँदैन । साहित्यले समस्या देखाएर मात्र पुग्दैन, समाधान देखाउन सकेमात्र त्यो पूर्ण साहित्य हुन्छ ।”
बालरोग विशेषज्ञ सरिता प्रजापतिले बजारिया पेयपदार्थ र खानेकुराबाट बालबालिकालाई टाढा राख्नुपर्ने आवश्यकता औँल्याउँदै सानै उमेरदेखि बालबालिकाको असल बानी र चरित्र निर्माणमा अभिभावकहरूले विशेष भूमिका निभाउनु जरुरी छ भन्नुभयो ।
विविध भाषा साहित्यिक समाजका अध्यक्ष प्रेम के. निडरले भिन्तुना ¥याली संस्कृति संरक्षणको अभियान भएको धारणा राख्नुभयो ।
नाइराम प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समितिका अध्यक्ष विजय प्रजापतिले स्वागत र राजकुमार प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सम्मेलनअघि न्हू दँ ¥याली प्याली बोडे, नगदेश, बहाखा बजार, भुलांखेल, दुईपोखरी, बालकुमारी हुँदै सभास्थल तुलंननीमा सम्पन्न भएको थियो ।
सम्मेलनमा साहित्यतर्फ सिल्भिया प्रजापति पहिलो, दिनानाथ पोखरेल दोस्रो, गङ्गाराम ज्याख्व तेस्रो र बुद्ध लामा सान्त्वना भएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक गुरूहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गर्नुभएको थियो ।
सम्मेलनमा प्रमुख अतिथि बिजुक्छेँले ‘विविध’ साहित्य बुलेटिन विमोचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *