भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, २६ पुस । भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले संसद्वादी दलहरूले नेपालको अर्थतन्त्रलाई सरकारी, सहकारी र निजीको नाममा तीनखम्बे बनाउँदा सरकारी र सहकारीको खम्बा भत्किएको र निजी संस्था बलियो भएको बताउनुभयो ।
प्रजातन्त्र पुनःस्थापनाको ३५ वर्षयता सडक, पुल, निर्माण भएको, बिजुली, टेलिफोन विस्तार भएको दाबी त गरियो तर, देशले २५ खर्ब बढी ऋण बोक्नुप¥यो, सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाको उद्देश्य स्थानीय जोताहा किसान सदस्य हुने, कृषि र घरेलु तथा कुटीर व्यवसायलाई जोड दिने हो । सहकारी, बैङ्क र फाइनान्स कम्पनीहरूको खर्बौँ रूपैयाँ लगानी अनुत्पादक क्षेत्र घर जग्गा खरिद, कम्पनीहरूको शेयर खरिद, गाडी–बाइक खरिदमा लगानी भयो ।”
कतिपय सहकारी संस्थामा राखिएको जनताको बचत रकम ठगी गर्नेहरू सक्रिय भए । निजी क्षेत्रलाई बैङ्क खोल्न दिइँदा सरकारभन्दा बलियो भए । पुँजीवाद र सहकारीको काम भिन्न भएको विषय सरकारले बुझ पचाए, जनताले बुझ्नु जरूरी छ । सामाजिकीकरण नभई जनताको हित नहुनेबारे स्पष्ट हुनु आवश्यक छ, सांसद सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाहरूले संस्थाका सदस्य र तिनका छोराछोरीहरूको सांस्कृतिक स्तर माथि उठाउन गीत, सङ्गीत, नृत्य, चित्रकला, भाषा कक्षा र खेलकुद प्रशिक्षणमा पनि लगानी गर्नु उपयुक्त हुनेछ । सदस्यहरू र आफ्नो छोराछोरीसमेत मदिरा सेवन, धूमपान र स्वास्थ्यलाई नोक्सान गर्ने तयारी पत्रु खानेकुरा र चिसो पेयपदार्थबाट टाढा रहनु आवश्यक छ ।”
सांसद सुवालले भन्नुभयो, “अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पुस २५ गतेको बैठकमा नेपाल वायु सेवा निगमको ऋण ५२ अर्ब पुगेको, निगमलाई निजीकरण गर्ने षड्यन्त्र भइरहेको, केही मन्त्रीहरूबाट निगममा अनावश्यक दबाब भएको, कमिसन खानकै लागि विमानस्थल बनाइएको, सौर्य विमान सेवाको विमान दुर्घटना प्रतिवेदन पीडितको पक्षमा पेस नभएको आदि विषय उठेको हुँदा ती विषयबारे पनि निर्णय गर्नुपर्ने सुझाव दिन खोज्दा आफूलाई समितिका सभापति राजकिशोर यादवले समय नदिएको र ‘चुप लाग्नू’ भनी हप्काउँदै बैठक टुङ्ग्याएको हुँदा एक जनप्रतिनिधि र सचेत नागरिकको हैसियतमा आफूले त्यसको खण्डन गरेको हो ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्थालाई नमुना सहकारीको रूपमा विकास गर्न प्रयत्न गर्नुपर्ने बताउनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको समस्या समाधानबारे संस्थाले दिएको सुझावलाई कार्यान्वयन नगरी सुझावविपरीत राम्रा सहकारी संस्थालाई नियन्त्रण गर्ने खालको अध्यादेश ल्याएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहकारीबाट निम्न आय भएका कर्मचारीहरूको आर्थिकस्तर उठाउन भूमिका निभाउनुपर्ने बताउनुभयो ।
सहकारीमा भएको तरलता वृद्धिलाई ध्यान दिई ऋण परिचालन गर्न उहाँले सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिका कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले संस्थाले आर्थिक कारोबारको साथै सामाजिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष भरत अवालले आर्थिक प्रतिवेदन, सचिव दिलिपकुमार सुवालले प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक दिव्यलक्ष्मी बज्राचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply