भर्खरै :

किसानहरूमाझ प्रशिक्षण कार्यक्रम

भक्तपुर, २६ पुस । विश्व सर्वहारावर्गका महान् नेताद्वय स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा किसान भेला गरी शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
असल मिश्रित कृषि समूहको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले स्तालिन र माओको शिक्षाबाट कामदार जनताको हितमा नेपाल मजदुर किसान पार्टीले कानुनी र गैरकानुनी सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अग्रज किसानहरूको योगदान सदा स्मरणीय रहनेछ । कार्यकर्ताहरूमा अन्याय–अत्याचारविरूद्ध सङ्घर्ष गर्ने भावना हुनुपर्छ ।”
नेक्राकिसङ्घले अगाडि बढाएका किसान आन्दोलनबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक भएको औँल्याउँदै किसान कार्यकर्ताहरू कुलतबाट टाढिनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव एवं भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले अक्टोबर क्रान्तिलाई सफलतामा पु¥याउन स्तालिनको महत्वपूर्ण योगदान रहेको र स्तालिनको दूरदर्शी नेतृत्वकै कारण युरोपको पिछडिएको रूस विश्वको महाशक्ति बन्न सफल भएको बताउनुभयो ।
स्तालिन र माओको जीवनीबाट साम्राज्यवादविरूद्ध झुक्न नहुने शिक्षा लिनुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले कामदार जनताको भविष्य समाजवादी व्यवस्थाले मात्र सुनिश्चित गर्ने भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
कृषि पेसा सम्मानित नभएसम्म कृषिप्रति युवाहरूको रूचि नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “देशलाई आत्मनिर्भर बनाउन कृषिलाई जोड दिनुपर्छ । कृषिप्रति आकर्षण बढाउने योजनाहरू ल्याउनुपर्छ ।”
आयोजक समितिका अध्यक्ष हेरा ख्याजुले भनपाले कृषकहरूलाई प्राथमिकतामा राखी कृषिसम्बन्धी तालिम सञ्चालन गरिरहनुका साथै बीउबिजन, कम्पोस्ट मल, चुन वितरण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कृषि प्राविधिक प्रवीण सिन्ताकल, लक्ष्मीभक्त दुवाल, सम्झना खाइजुलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *