भर्खरै :

भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारीमा जोड

भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारीमा जोड

काठमाडौँ, २८ पुस । भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारीमा जुट्नुपर्नेमा जोड दिइएको छ । भूकम्प सुरक्षा दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित मूल समारोह समितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जोड दिइएको हो ।
विसं १९९० गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाइँदै आएको छ । भूकम्पबाट हुने जनधनको क्षति कम गर्न प्रचारप्रसार र पूर्वतयारीको कार्यक्रमले प्राथमिकता पाउनुपर्ने सरोकार भएकाहरूले बताएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले विपद्का बेला कमजोर घर वा संरचना भत्केर धेरैजसो जनधनको क्षति हुने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण र नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । यो नै हाम्रो सशक्त पूर्वतयारी हो”, उहाँले भन्नुभयो ।
महानिर्देशक महर्जनले भूकम्पीय जोखिम न्यूनीकरण गर्न पूर्वतयारीदेखि भूकम्पको बेला प्रभावकारी खोज, उद्धार र भूकम्पपश्चात् पुनःस्थापना कार्य विभिन्न निकायबाट निरन्तर भइरहेको बताउनुभयो । “सुरक्षित भवन निर्माणको अवस्था विकास र विस्तार गर्ने कार्यक्षेत्र सहरी विकास तथा भवन निर्माण विभागको हो । भवनसंहिताको कार्यान्वयनको लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, समन्वय तथा सहकार्यजस्ता क्षेत्रमा आवश्यक कार्यहरू गर्न अन्य निकायहरूसमेत क्रियाशील छन्”, उहाँले भन्नुभयो ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा. रमेश गुरागाईले नयाँ बन्ने संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विपद् संवेदनशील संस्कृतिको विकास गर्न जरूरी रहेकोमा जोड दिनुभयो ।
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी २७ औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ । दिवसको अवसरमा कीर्तिपुर नगरपालिकास्थित बीपी कोइराला मेमोरियल विज्ञान सङ्ग्रहालय परिसरमा मूल समारोहको कार्यक्रम आयोजना हुने त्यस अवसरमा जानकारी दिइयो ।
विभागका अनुसार दिवसको उपलक्ष्यमा मूल समारोह समितिले आयोजना गर्ने कार्यक्रमबाहेक विभिन्न निकायको सक्रियतामा प्रदेश तथा स्थानीय तहलगायत विभिन्न निकायले गोष्ठी, छलफल, ¥याली, अन्तरक्रिया प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटकलगायत विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *