भर्खरै :

ख्वप ई. कलेजद्वारा रु. ३५ लाखभन्दा बढी छात्रवृत्ति प्रदान

ख्वप ई. कलेजद्वारा रु. ३५ लाखभन्दा बढी छात्रवृत्ति प्रदान

भक्तपुर, २९ पुस । ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक–सत्र २०७६, २०७७ र २०७८ मा भर्ना भई गरिब तथा जेहेनदार छात्रवृत्ति पाएका विद्यार्थीहरूको छात्रवृत्ति रकम सोमबार वितरण भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नंं.९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले छात्रवृत्ति रकमलाई सदुपयोग गर्नुपर्ने र छात्रवृत्ति रकम अधिकारको कुरो होइन सुविधाको अवसर भएको बताउनुभयो ।
छात्रवृत्ति रकम विद्यार्थीहरू वा अभिभावकहरूबाट तिरेको शुल्कको रकम भएकोले छात्रवृत्तिलाई अधिकतम प्रयोग गरी छात्रवृत्ति रकमको महत्व दर्साउन विद्यार्थीहरू सचेत र सजग हुनुपर्नेमा जोड दिँदै उहाँले लुटको धन फुपूको सराद्ध भनेको जस्तो गर्न हुँदैन भन्नुभयो ।
कलेजका विद्यार्थीहरू अनुशासित, लगनशील र अध्ययनशील भएकोमा खुसी व्यक्त गर्दै उहाँले समाजलाई बुद्धिजीवीकरण गर्न विद्यार्थीहरू पनि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थीहरू देश र जनताप्रति बफादार हुनुपर्ने आवश्यकता दर्साउँदै उहाँले युवाहरू बिदेसिनुबाट हटाउन विद्यार्थीहरूको पनि ठुलो योगदान आवश्यक छ भन्नुभयो । देश बालबच्चा र वृद्धवृद्धाको देशमा परिणत भएपछि देश अन्धकारमा रूपान्तरण हुने बताउँदै उहाँले ख्वप विश्वविद्यालय स्वीकृति भएपछि कम शुल्कमा उत्पादनमूलक शिक्षा दिन सकिन्छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले छात्रवृत्तिको महत्वबारे चर्चा गर्दै विद्यार्थीहरूको शैक्षिक उन्नतिको लागि कलेजले गहिरिएर अध्यापन गराइराखेको र पूर्वाञ्चल विश्वविद्यालयले कलेजको आगामी शैक्षिक सत्रबाट सुरु गराउन बीसीए, बीआईटी र एआई शैक्षिक कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो ।
७७ जना विद्यार्थीहरूको लागि रु. ३५ लाख २८ हजार १७ रूपैयाँ छात्रवृत्ति रकम वितरण भएको उक्त कार्यक्रममा लेखा प्रमुख काजीबहादुर पञ्चले पनि छात्रवृत्तिको सदुपयोय र महत्वबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *