भर्खरै :

स्तालिन प्रजातान्त्रिक सुधारको प्रयास – १

स्तालिन  प्रजातान्त्रिक सुधारको प्रयास – १

(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)

भाग एक
परिचय

  • १. यहाँ जोसेफ स्तालिनले सन् १९३० को दशकदेखि थालेर सोभियत सङ्घको सरकारलाई प्रजातान्त्रिक बनाउन आजीवन गर्नुभएका प्रयासबारे चर्चा गरिनेछ ।
  • २. यो वक्तव्य वा आलेखले धेरैलाई आश्चर्यमा पार्नेछ । केहीलाई रिस उठ्न सक्नेछ । वास्तवमा, यो अनुसन्धानको निष्कर्षबाट म आफै चकित छु र यसैले घच्घच्याएर म यो आलेख लेख्दै छु । सोभियत इतिहासको शीतयुद्धग्रस्त लेखनमा गम्भीर समस्या थिए । लामो समयदेखि मैले त्यसमा शङ्का गर्दै आइरहेको थिएँ । तथापि, हामीलाई पढाइएको झूटो इतिहास कुन हदसम्म छ भनी केलाउन म तयार थिइनँ ।
  • ३. यो कथा रुसमा प्रसिद्ध छ । त्यहाँ अझै पनि स्तालिनको सम्मान मात्र होइन, प्रशंसासमेत हुन्छ । युरी झुकोभ रुसका प्रमुख इतिहासकार हुन् । उनी रुसको प्रज्ञा परिषद्मा आवद्ध मुर्धन्य व्यक्तित्व हुन् । उनका रचना पढ्ने पाठकको सङ्ख्या निकै ठुलो छ । ‘स्तालिन प्रजातान्त्रिक थिए’ भन्ने वैचारिक धार उनैले अघि सारेका हुन् । उनका अनुसन्धानहरू नै यो आलेखका सबैभन्दा महत्वपूर्ण स्रोत हुन् । यद्यपि, त्यसबाहेक पनि धेरै सन्दर्भ सामग्रीको मद्दतले यो आलेख तयार पारिएको हो ।
  • ४. जे होस्, यो कथा र त्यसलाई परिपुष्ट पार्ने तथ्यहरू रुसबाहिर पुगेको देखिन्न । बाहिर शीतयुद्धले ग्रस्त ‘स्तालिन खलनायक’ थिए भन्ने धारणा हावी छ । यो धारणा कति असरदार छ भने यहाँ उद्धृत गरिएका रचनामा धेरैको ध्यान नजान सक्छ । तसर्थ, यस आलेखमा धेरैजसो प्राथमिक र द्वितीय स्रोतको मात्र प्रयोग गरिएको छ । यी सामग्री रुसी भाषामा मात्र उपलब्ध छन् ।
    (टिपोट १ : सोभियत इतिहासबारे ख्रुश्चेभले जे बताए त्योभन्दा पनि लियोन त्रोत्स्कीको कथ्य आएको थियो । त्रोत्स्कीको कथ्य ख्रुश्चेभले बताएकै कुराको ‘वाम’ संस्करण थियो । त्रोत्स्कीका अनुगामीहरूको घेराबाहिर यसलाई उति मान्यता दिइँदैन । ख्रुश्चेभ र त्रोत्स्की दुवैका शिष्यहरूले स्तालिनलाई अति नकारात्मक पात्रको रूपमा चित्रण गर्छन् । यसलाई ‘राक्षसीकरण’ भन्दा फरक पर्दैन । म्याकनिलको पुस्तक ‘त्रोत्स्कीका सम्बन्धमा’ पढौँ ।)
  • ५. यस आलेखले पाठकलाई सोभियत इतिहासबारे नयाँ जानकारी र नयाँ व्याख्यासँग मात्र परिचित गराउँदैन । बरु रुसी भाषा नबुझ्ने पाठकलाई सोभियत अभिलेखहरूलाई आधार बनाएर स्तालिनको शासनकाल र उहाँबारे गरिएका नयाँ अनुसन्धानका निष्कर्षहरूसँग परिचित गराउने एउटा कोसिस हो यो । यहाँ छलफल गरिएका तथ्यहरू सोभियत इतिहासको दायराभित्र अटाउँछन् किनभने यिनले अन्य कैयन व्याख्यालाई गलत साबित गर्न मद्दत गर्छैन् । वास्तवमा यिनलाई सरासर खारेज गरिन सक्छ । राजनीति र इतिहासलाई हेर्ने आफ्नो आँखामा ‘शीतयुद्ध’ को चस्मा चढाएका व्यक्तिहरू त चिढिन पनि सक्छन् । यो रिस सोभियत सङ्घ ‘सर्वसत्तावादी’ थियो र त्यहाँ ‘स्तालिनवादी आतङ्क’ चल्थ्यो भन्ने शीतयुद्धले ग्रसित त्रुटीपूर्ण वैचारिकीबाट जन्मिन्छ ।
    (टिपोट २ : सोभियत इतिहासको मोटोमोटी मध्य १९३७ देखि १९३९–४० सम्मको अवधिलाई चित्रण गर्न ‘आतङ्क’ शब्दको खुबै प्रयोग गरिन्छ । यसको चलन अमेरिकी इतिहासकार रोबर्ट कनक्वेस्टले सुरु गरेका थिए । सन् १९७३ मा प्रकाशित उनको अत्यन्त पक्षपातपूर्ण र अविश्वसनीय पुस्तक ‘द ग्रेट टेरर’ (महाआतङ्क) लाई आँखा चिम्ली विश्वास गर्नेहरूले यो शब्दको व्यापक प्रचार गरेका थिए । ‘आतङ्क’ शब्द गलत र व्यङ्ग्यात्मक छ । थप अध्ययनका लागि रोबर्ट डब्लु थर्सटनको रचना ‘सोभियत सङ्घको ‘महाआतङ्क’ को भय र विश्वास : धरपकडको प्रतिक्रिया, १९३५–१९३९’ पढौँ । स्लाभिक रिभ्यू ४५ (सन् १९८६), पेज २१३–२३४) कनक्वेस्टले आफूले प्रयोग गरेको ‘आतङ्क’ शब्दलाई उचित ठह¥याउन खोजेपछि थर्सटन प्रतिवादमा उत्रेका थिए र कनक्वेस्टको मतको तर्कपूर्ण खण्डन गरेका थिए । खण्डनको शीर्षक थियो – ‘कुर्सीमुखी सङ्कीर्णता, सामान्य दृष्टिकोण र लुते प्रमाण : रोबर्ट कनक्वेस्टलाई जवाफ’ । स्लाभिक रिभ्यू ४५ (सन् १९८६), पेज २३८–२४४) साथमा थर्सटनकै रचना ‘स्तालिनको शासनकालको सामाजिक आयाम : सोभियत सङ्घमा ठट्टा र आतङ्क, सन् १९३५–१९४१’ जर्नल अफ सोसल हिस्ट्री, अङ्क ३ (सन् १९९१), पेज ५४१–५६२; अध्याय ५ : जीवन र आतङ्क, पेज १३७–१६३)
  • ६. ख्रुश्चेभका अनुयायीहरूले स्तालिनलाई सत्तालोलुप तानाशाह र लेनिनको विरासतलाई धोका दिने व्यक्तिको रूपमा चित्रण गर्छन् । वास्तवमा, सन् १९५० को दशकमा कम्युनिस्ट पार्टीको आवश्यकता हेरी त्यो व्याख्या आएको थियो । तर, यसमा शीतयुद्धताका स्तालिनबारे चलाइने चल्तीका बहसका धेरै दलिल परेका थिए । यी बहसले पुँजीवादी शासकहरूको मनोकामना पूरा ग¥यो । यी बहसमा कम्युनिस्ट सङ्घर्षहरू र मूलतः सत्ताको लागि कामदारवर्गले गर्ने प्रत्येक सङ्घर्ष कुनै न कुनै भयानक आतङ्कमा गएरै टुङ्गिन्छ भनी ‘साबित’ गरियो ।
  • ७. यस चित्रणले त्रोत्स्कीपन्थीहरूको आवश्यकता पनि पूरा ग¥यो । उनीहरूलाई त्रोत्स्कीजस्तो ‘खाँटी क्रान्तिकारी’ लाई एउटा तानाशाहले मात्र हराउन सक्छ भनी तर्क गर्न सजिलो भयो । क्रान्ति जुन सिद्धान्तका लागि लडिएको थियो, ती सबै सिद्धान्त कुल्चिने तानाशाहको रूपमा स्तालिनको धुमधाम प्रचार भयो । ख्रुश्चेभपन्थीहरू, शीतयुद्धका कम्युनिस्टविरोधी र त्रोत्स्कीपन्थीले रचेको सोभियत इतिहास उस्तैउस्तै छ । त्यो इतिहासमा स्तालिन, उहाँको नेतृत्व र उहाँको शासनकालको सोभियत सङ्घलाई राक्षसीकरण गरिन्छ ।
  • ८. यस प्रबन्धमा उजागर गरिएको स्तालिनलाई हेर्ने दृष्टिकोण इतिहासलाई व्याख्या गर्ने अन्य थुप्रै अन्तर्विरोधी धारसँग मेल खान्छ । सोभियत इतिहाससम्बन्धी संशोधनवादविरोधी र माओपछिको कम्युनिस्ट व्याख्याले स्तालिनलाई रचनात्मक र तर्कशील व्यक्ति भन्छ । कसैकसैले गल्ती गरे पनि यो व्याख्याअनुसार स्तालिनलाई लेनिनको विरासत थाम्ने उत्तराधिकारी मानिन्छ । यति नै बेला एक कम्युनिस्टको रूपमा स्तालिनले हासिल गर्नुभएको उपलब्धिलाई नकार्ने रुसका धेरै राष्ट्रवादीहरू उहाँलाई सम्मान गर्छन् । एक प्रमुख औद्योगिक तथा सैन्य विश्वशक्तिको रूपमा रुसलाई स्थापित गर्ने पात्रको रूपमा उनीहरू स्तालिनसामु झुक्छन् । फरक कारणले नै किन नहोस्, दुवै खेमाका मानिसहरू स्तालिनलाई देशको जग हाल्ने मूलीको रूपमा हेर्छन् ।
  • ९. यस आलेखको उद्देश्य स्तालिनलाई ‘सुनपानी छर्किनु’ (रिह्याबिलिटेसन) होइन । युरी झुकोभको विचारसँग म सहमत छु ।
    उनी लेख्छन्, “नढाँटी भन्ने हो भने स्तालिनलाई सुनपानी छर्किने कार्यको म विरोधी हुँ किनभने सामान्यतया म सुनपानी छर्काइको विरोधी हुँ । इतिहासमा कसैलाई पनि सुनपानी छर्किनु हुन्न; पुनःबहाल गर्नु हुन्न । तर, हामीले सत्यबाट पर्दा उघार्नैपर्छ, सत्य बोल्नैपर्छ । ख्रुश्चेभको समयदेखि नै स्तालिनको दमनमा परेका पीडित भनेर हामीले सुनेका व्यक्ति केबल तिनै व्यक्ति हुन् जो आफै त्यो दमन गर्नमा सक्रिय थिए, अथवा ती दमनमा सघाएका वा तिनको विरोध नगरी चुपचाप थिए ।” (झुकोभ, केपी । नोभेम्बर २१ । पेज २)
    म स्तालिनले अलग्गै बाटो लिनुभएको भए सोभियत सङ्घमा समाजवाद वा साम्यवादको निर्माण गर्दा आइपरेका पेचिला समस्याहरू समाधान हुने थिए भन्न पनि चाहन्न ।
  • १०. यो आलेख निश्चित अवधिसँग सम्बन्धित छ । यस अवधिमा स्तालिनले राज्यको शासनतन्त्रमा प्रजातन्त्र प्रवद्र्धन गर्नमा अभिरुचि लिनुभएको थियो । यति मात्र होइन उहाँ अन्तर–पार्टी प्रजातन्त्रलाई पनि मलजल गर्न चाहनुहुन्थ्यो । यो अहम् र सम्बन्धित विषयमा अलग्गै अध्ययन हुनुपर्छ । यस निबन्धमा यही विषयलाई केन्द्रमा राखिएको छैन । यहाँ ‘प्रजातन्त्र’ को अवधारणालाई पार्टी कार्यकर्ताले पालन गर्ने प्रजातान्त्रिक केन्द्रीकरणको विधिभन्दा अलग राखेर हेर्नुपर्छ । ठुलो जनसङ्ख्या भएको देशका सबै नागरिकबाट राजनीतिक प्रतिबद्धताको आस गर्नुको कुनै आधार थिएन । यस हिसाबले ‘प्रजातन्त्र’ ले यहाँ अलग अर्थ राख्छ ।
    (टिपोट ३ : माक्र्सवाद–लेनिनवादले पुँजीवादी ‘प्रतिनिधिमूलक प्रजातन्त्र’ लाई नकार्छ । बरु यसलाई समाजमाथिको सम्भ्रान्तहरूको नियन्त्रणका लागि प्रयोग गरिने धुवाँको पर्दा मान्छ । धेरै गैरमाक्र्सवादी राजनीतिज्ञसमेत यसमा सहमत छन् । उदाहरणको लागि लेविस एच. लाफाम (हार्पर पत्रिकाका सम्पादक) को लेख ‘प्रकाश, क्यामरा, प्रजातन्त्र ! स्वाङपारुवा गणतन्त्रको ढाँचाबारे’ पढौँ । हार्पर म्यागेजिन, अगस्त १९९६, पेज ३३–३८)
  • ११. यस निबन्धमा सकेसम्म प्राथमिक सन्दर्भ सामग्रीको प्रयोग गरिएको छ । तथापि, यहाँ सोभियत अभिलेखालयका प्रकाशित र अप्रकाशित गरी दुवैथरी दस्तावेजमा पहुँच भएका रुसी इतिहासकारका प्राज्ञिक अनुसन्धानबाट धेरैथोक लिइएको छ । अति महत्वका धेरै सोभियत दस्तावेज केबल निश्चित विद्वान्ले मात्र पढ्न पाउँछन् । यसबाहेक पनि प्रशस्तै दस्तावेजलाई पूरा ‘क्लासिफाइड’ वा गोप्य राखिएको छ । स्तालिनको निजी अभिलेख, सन् १९३६–३८ का मस्को इजलास बस्नुअघि गरिएका अनुसन्धानका कागजात तथा त्यसबारे पछिका अनुसन्धानमूलक सामग्री, सन् १९३७ को सैन्य पजनी वा ‘तुखाचेभ्स्की प्रकरण’ सँग सम्बन्धित अनुसन्धानका दस्तावेज आदिलाई अझै पनि कसैले हेर्न पाउँदैन ।
  • १२. युरी झुकोभ ती अभिलेखहरूबारे यस्तो लेख्छन्, “पेरेइस्त्रोइका सुरु भयो । त्यसको एउटा नारा ग्लास्नोस्त थियो । यससँगै क्रेमलिनको अभिलेखालयमाथि पहिले लगाइएको बन्देज हटाइयो । त्यहाँका सामग्री देशका विभिन्न सार्वजनिक अभिलेखायलमा स्थानान्तरण गरियो । यो प्रक्रिया सुरु त भयो तर पूरा हुन सकेन । धेरै प्रचार नगरी अथवा कुनै किसिमको कारण नखुलाई सन् १९९६ मा अत्यन्त महत्वपूर्ण र (ऐतिहासिक दृष्टिले) निर्णायक सामग्रीलाई पुनः गोप्य राखियो । यी सामग्री अहिले रुसी सङ्घका राष्ट्रपतिको अभिलेखालयमा लुकाइएको छ । चाँडै यो गोप्य अपरेसनको कारण पनि स्पष्ट भयो । यसले गर्दा दुई थोत्रा मिथकमध्ये एउटाले पुनः टाउको उठाउन पायो ।”
    यहाँ झुकोभले ‘खलनायक स्तालिन’ र ‘महानायक स्तालिन’ दुवैलाई मिथक भनेका छन् । पश्चिमा पाठक तथा कम्युनिस्टविरोधी इतिहासकारहरू यीमध्ये पहिलो मिथकसँग मात्र परिचित छन् । रुस तथा कमनवेल्थका अन्य देशमा यी दुवै धारको प्रचार पाइन्छ ।
  • १३. यस आलेखका धेरै कुरा झुकोभको एउटा पुस्तक ‘इनोय स्तालिन’ मा आधारित छ । यसको अर्थ हुन्छ ‘फरक स्तालिन’ । माथि उल्लेख दुवै मिथकभन्दा ‘फरक’ भन्न खोजिएको हो यहाँ । झुकोभको यो पुस्तक हालैमात्र सार्वजनिक गरिएका गोप्य दस्तावेजहरूमा आधारित छ । यो पुस्तकको गातामा स्तालिनको तस्बिर छ र त्यसको ठिक अगाडि उहाँकै उल्टो तस्बिर छ । झुकोभले सितिमिति द्वितीय सन्दर्भ सामग्रीको प्रयोग गर्दैनन् । धेरैजसो त उनी अभिलेखालयका अप्रकाशित र ताजा सामग्री नै उपयोग गर्छन् । सन् १९३४ देखि १९३८ सम्म रुसी कम्युनिस्ट पार्टीको पोलिटब्युरो राजनीतिको उनले जुन तस्बिर उतारेका छन् त्यो नितान्त ‘फरक’ छ । यो तस्बिर उनले नकारेका दुवै ‘मिथक’ सँग मेल खान्न ।
  • १४. पुस्तकको ‘परिचय’ टुङ्ग्याउँदै उनी लेख्छन्, “मैले लेखेको नै अन्तिम वा अकाट्य हो भन्ने मेरो दाबी छैन । दुवै नियोजित दृष्टिकोण, दुवै मिथकबाट टाढा बस्नु† कुनै बेला सबैलाई थाहा भएको अनि आज जानाजान बिर्सिएको र उल्लेख नगरिएको तथा सबैले बेवास्ता गरेको इतिहासको चित्र पुनः उतार्ने प्रयास गर्नु – मेरो प्रयास यत्ति हो ।”
    झुकोभकै बाटो पछ्याउँदै यस आलेखमा दुवै मिथकलाई खङ्गाल्ने प्रयास पनि गरिएको छ ।
  • १५. यस्तो स्थितिमा सबै निष्कर्ष परीक्षणमै छन् । मैले प्राथमिक र द्वितीय गरी दुवैथरी सामग्रीलाई सकेसम्म सुझबुझपूर्ण ढङ्गले प्रयोग गर्न खोजेको छु । पाठकलाई बाधा नपरोस् भनेर सबै सन्दर्भ स्रोतलाई अनुच्छेदको अन्त्यमा राखेको छु । लामो टिपोट र व्याख्याको हकमा मात्र परम्परागत शैली अपनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *