भर्खरै :

संशोधनवादी र अराजकतावादी नीतिका कारण कम्युनिस्ट आन्दोलन ओझेलमा

संशोधनवादी र अराजकतावादी नीतिका कारण कम्युनिस्ट आन्दोलन ओझेलमा

भक्तपुर, ८ माघ । नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक वडा नं. ५ को आयोजनामा सोमबार कटुञ्जेमा कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पुराना अग्रज कार्यकर्ताहरूको अतुलनीय योगदानको कारण किसानहरूले मोहियानी हक पाएको विचार व्यक्त गर्नुभयो ।
ठुला कम्युनिस्ट भनाउँदा दलका नेताहरूको संशोधनवादी र अराजकतावादी नीतिको कारण कम्युनिस्ट आन्दोलन ओझेलमा परेको चर्चा गर्दै उहाँले वैदेशिक ऋण लिएर सरकारले देशलाई ऋणै ऋणमा डुबाउन लागेको विचार व्यक्त गर्नुभयो ।
साम्राज्यवादी र विस्तारवादी शक्ति राष्ट्रहरूले देश देश जुधाएर हतियार बेची फाइदा लिइरहेको उल्लेख गर्दै उहाँले इजरायल–प्यालेस्टिन र रुस–युक्रेन युद्ध त्यसको दृष्टान्त हो भन्नुभयो ।
समाजवादी व्यवस्थाको कारण चीन विश्वमा सम्पन्न र शक्तिशाली देश बनिरहेको स्पष्ट पार्दै उहाँले शासकहरू देश र जनताप्रति समर्पित भए देशमा सुशासन हुने र देश विकास हुने बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले सत्तासीन कम्युनिस्ट पार्टीका नेताहरू देश र जनताको हितमा भन्दा विदेशी र पुँजीवादको पक्षपोषण गर्नतर्फ लागेको बताउनुभयो ।
सङ्गठनप्रति आबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कार्यकर्ताहरू अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा सूर्यविनायकका सचिव महेन्द्र बखुन्छेँले देशलाई आत्भनिर्भर बनाउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले उद्योग, पर्यटन र कृषिको विकास गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रामकृष्ण बखुन्छेँको सभापतित्वमा भएको सो कार्यक्रममा राजेन्द्र बखुन्छेँ र राधेश्याम भुजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *