भर्खरै :

पद र पैसाको आडमा भ्रष्टाचार र अपराध पनि चोख्याइने

पद र पैसाको आडमा भ्रष्टाचार र अपराध पनि चोख्याइने

कैलाली, ९ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टी कैलाली जिल्ला समितिको आयोजनामा बुधबार गणेशपुरमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले शोषणमा आधारित वर्तमान व्यवस्थालाई ध्वस्त पारी कामदार जनताको हित हुने समाजवादी व्यवस्था स्थापना गर्नु नेमकिपाको उद्देश्य रहेको बताउनुभयो । उहाँले उत्पादनका स्रोत र साधन धनी पुँजीपतिवर्गको स्वामित्वमा रहेसम्म शोषण कायम हुने चर्चा गर्दै कामदार जनतालाई मालिक बनाउने र उनीहरूकै हितमा ऐन कानुन निर्माण गर्ने काम समाजवादमा मात्र सम्भव हुने प्रस्ट पार्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले निश्चित विचार र वर्ग आधारविनाको पार्टी चौताराजस्तै मात्र बन्ने उल्लेख गर्दै नेमकिपाले समाजवाद हुँदै साम्यवादसम्मको गन्तव्य तय गरेको र शोषित पीडित कामदारवर्ग नै नेमकिपाको वर्ग आधार रहेको बताउनुभयो । पार्टीको स्थापना कालदेखि नै नेमकिपाले सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि सम्झौताहरूको विरोधमा जनताको हितमा सङ्घर्ष गर्दै आएको उहाँले चर्चा गर्नुभयो ।
पार्टी कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले पार्टी अनुशासनबारे जानकारी दिँदै आठौँ महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो ।
पार्टीका सदस्य कृष्णप्रसाद कोजुले तराईमा किसानहरूको समस्या समाधानको लागि जमिन जोत्नेको हुनुपर्ने, स्वदेशमै रासायनिक मल कारखाना खोली सहज रूपमा कृषकहरूलाई वितरण गर्नुपर्ने, सिंचाइको व्यवस्था गरी उन्नत बीउ बिजन र आधुनिक कृषि सामग्रीहरू किसानहरूलाई प्रदान गर्नुपर्ने प्रस्ट पार्नुभयो ।
अग्रज पार्टी कार्यकर्ता ज्योति बडुवालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको खोटो दृष्टिकोणको विरोधमा नेमकिपा स्थापना भएको सैद्धान्तिक आधारबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला कोषाध्यक्ष जानकी सिजापतिले पार्टी गतिविधिबारे जानकारी दिनुभयो ।
त्यस्तै नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ८ बचैलामा महिला तथा किसानहरूको भेला बुधबार भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्थामा व्यक्तिको इज्जत प्रतिष्ठा पनि पैसाले किन्ने प्रस्ट पार्नुभयो ।
उहाँले पद र पैसाको आडमा भ्रष्टाचार र अपराध पनि चोख्याइने तर गरिब जनताले भोक मेटाउन खोज्दा पनि चोरी डकैतीको आरोपमा जेल हालिन्छ भन्नुभयो ।
केन्द्रीय सदस्य ज्याख्वले समाजवादमा आर्थिक समानता र सामाजिक सद्भाव हुने भएकोले कामदार जनताको लागि त्यो स्वर्ग समान हुने चर्चा गर्नुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले गाउँगाउँमा हुने राजनीतिक बसाइँ पनि विद्यालयको कक्षाजस्तै हुने उल्लेख गर्दै समाजवादी व्यवस्थामा गाँस, बास र कपास, शिक्षा, स्वास्थ्य उपचार, रोजगारी र सुरक्षा प्रबन्धको ग्यारेन्टी हुने जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सरकारमा गएका दलहरू भ्रष्टाचार, भागबन्डा र अपराधमा मुछिएका कारण सर्वसाधारण जनतामा राजनीतिप्रति वितृष्णा जागेको चर्चा गर्दै देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीति हो भन्नुभयो ।
पार्टीका अग्रज कार्यकर्ता ज्योति बडुवालले नेमकिपा इमानदारिताको प्रतीक भएको चर्चा गर्दै देशको सार्वभौमसत्ता रक्षा गर्ने र जनजीविकाको विषयमा निरन्तर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला कोषाध्यक्ष जानकी सिजापतिले पार्टीको इतिहासबारे जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *