भर्खरै :

नेमकिपाको स्थापना दिवसका अवसरमा बुटवलमा कार्यकर्ता भेला

नेमकिपाको स्थापना दिवसका अवसरमा बुटवलमा कार्यकर्ता भेला

बुटवल, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले देश र जनताको निःस्वार्थ सेवा गर्न नेमकिपाले व्यापक कामदार जनतालाई सचेत र सङ्गठित बनाउँदै आएको बताउनुभयो । प्रजातान्त्रिक र कम्युनिस्ट नाम गरेका शासक दलहरूले दलगत र व्यक्तिगत स्वार्थका लागि झूटा आश्वासनमै जनतालाई भुलाउन खोज्दा अझै धेरै मानिसहरू लहैलहैको पछि लाग्ने गरेको चर्चा गर्दै अध्यक्ष वासीले आलोचनात्मक सचेतनाबिना देशका खराब शासकहरूलाई कठघरामा उभ्याउन सकिँदैन भन्नुभयो ।
नेपालमा कामदारवर्गको शासन सत्ता स्थापना गर्न नेमकिपाले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै अध्यक्ष वासीले समाजवादी व्यवस्थामा मात्रै कामदार जनताको भलाइ हुने स्पष्ट पार्नुभयो । चिनियाँ विशेषतासहितको समाजवादी देश चीनले आफ्नो समृद्धिलाई संसारका जनताबीच साझेदारी गर्न बीआरआई परियोजना अगाडि सारिरहेको र साम्राज्यवादी संरा अमेरिकाले ‘अमेरिका प्रथम’ को नारा दिएर फेरि पनि आफ्नो प्रभुत्व बढाउन खोजेको सन्दर्भ व्याख्या गर्दै अध्यक्ष वासीले चीनको समाजवादी र संरा अमेरिकाको पुँजीवादी फरक दृष्टिकोण नेपाली जनताले बुझ्दै छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य हिमलाल पाण्डेले कर बुझाएर मात्र नागरिकको कर्तव्य पूरा नहुने उल्लेख गर्दै गलत शासन व्यवस्थाको विरुद्ध जागरुक बन्नुपर्छ भन्नुभयो । युवाहरूले राजनीतिलाई बेवास्ता गरिरहेसम्म देश उँभो नलाग्ने बताउँदै केन्द्रीय सदस्य पाण्डेले युवाहरू विदेश पलायन हुनुभन्दा स्वदेशमै सङ्घर्ष गर्न सके मात्र देश र जनताको पक्षमा परिवर्तन ल्याउन सकिन्छ भन्नुभयो । केन्द्रीय सदस्य पाण्डेले फागुन १६ देखि १९ सम्म हुने नेमकिपाको आठौँ महाधिवेशन सफल पार्न युवाहरूको भूमिका बढेको छ भन्नुभयो ।
नेमकिपा रुपन्देहीका सदस्य पद्म रसाइलीले सुस्ता अतिक्रमणविरुद्ध आन्दोलनदेखि देशघाती एमसीसीविरुद्ध आन्दोलनसम्म नेमकिपाले गर्दै आएको अविचलित सङ्घर्षबाट नेमकिपा नै देशभक्तिपूर्ण पार्टी हो भनी नेपाली जनताले बुझ्दै छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सुग्रीम साहनीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ कृतिबारे चर्चा गर्दै देशको आत्मनिर्भरताको लागि कृषिमै जोड दिनु आवश्यक छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *