भर्खरै :

कञ्चनपुरको दोधारा चाँदनीमा नेमकिपाको ५१ औँ स्थापना दिवस कार्यक्रम

कञ्चनपुरको दोधारा चाँदनीमा नेमकिपाको ५१ औँ स्थापना दिवस कार्यक्रम

कञ्चनपुर, ११ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा पार्टीको दोधारा चाँदनी नगर समितिको आयोजनामा शुक्रबार पशुपति टोलमा स्थानीयहरूको भेला सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले ग्रामीण भेगमा जाँड, रक्सी र चुरोटको लत बढिरहेको उल्लेख गर्दै अत्यधिक सेवनले परिवारमा कलह पनि बढ्ने बताउनुभयो । उहाँले पार्टी कार्यकर्ताहरू धूमपान र मद्यपान सेवनबाट टाढा रहने हुँदा समाजको अनुकरणीय व्यक्ति बनिरहेका उदाहरणहरू पेस गर्नुभयो ।
उहाँले भन्नुभयो, “धूमपान र मद्यपान सेवन नगर्ने पार्टी अनुशासन हो । नेमकिपाका कार्यकर्ताहरू रहेको ठाउँ सभ्य र सुसंस्कृत बनिरहेको छ ।”
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शासक दलहरूले सत्तास्वार्थसँग देशका नदीनाला, जलविद्युत् र प्राकृतिक स्रोतहरू विदेशीसँग साटिरहेको बताउनुभयो । उहाँले काङ्ग्रेसले कोसी र गण्डकी, काङ्ग्रेससँग मिलेर एमालेले महाकाली तथा काङ्ग्रेस, एमालेसँग मिलेर माओवादीले कर्णाली भारतीय विस्तारवादलाई सुम्पेको प्रस्ट पार्नुभयो ।
देशको सार्वभौमिकता रक्षा र जनताको दैनिक जीवनसँग सम्बन्धित हरेक विषयमा नेमकिपाले कामदार जनताको साथमा सङ्घर्ष गर्दै आएको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष कृष्णप्रसाद कोजुले नेमकिपाको सिद्धान्तबमोजिम भक्तपुर नगरपालिकाले मानिस जन्मदेखि मृत्युपर्यन्तसम्मको जिम्मेवारी स्थानीय सरकारले बहन गर्ने प्रयत्नस्वरुप ख्वप अस्पताल, शिशुस्याहार तथा बाल विकास केन्द्र, विद्यालय र कलेज तथा सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको र आदर निकेतन सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *