भर्खरै :

नयाँ पुस्तालाई सुसंस्कृत बनाउन सकिए मात्र साइबर अपराध घट्ने

नयाँ पुस्तालाई सुसंस्कृत बनाउन सकिए मात्र साइबर अपराध घट्ने

भक्तपुर, १३ माघ । भिन्तुना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा साइबर क्राइमसम्बन्धी अभिमुखीकरण र भक्तपुर महोत्सव २०८१ मा सहभागीहरूलाई धन्यवाद ज्ञापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले नेपाली समाजमा पनि साइबर क्राइम बढेको चिन्ताको विषय हो भन्दै नयाँ पुस्तालाई सुसंस्कृत बनाउन सकिए साइबर क्राइम घट्ने धारणा व्यक्त गर्नुभयो ।
साइबर क्राइमसम्बन्धी ऐन–नियमबारे सबै जानकार हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाको सिद्धान्त स्थानीय जनतामात्र सदस्य हुने† समुदायमा आधारित हुने† कृषि, घरेलु तथा कुटीर व्यवसायलाई जोड दिने हो । सहकारी सिद्धान्तमा सञ्चालन नभएका कतिपय सहकारी संस्थाको बचत ठगी गरिएको सार्वजनिक भइरहेको छ ।”
“देशको अर्थतन्त्र कमजोर हुँदै आएको सर्वत्र अनुभव गरिँदै छ । यतिबेला गरिबहरूलाई थप दुःख हुनेछ भने अर्बपतिहरू खर्ब पनि बन्ने छन् । यसकारण, सबै गरिबहरू सङ्गठित भएर बस्नु जरूरी छ । कतिपय निजी बैङ्कले देशको पैसा विदेश लगेको पनि सार्वजनिक भइरहेको छ । यो ‘गाई मारी बाघ पोस्नु’ भने जस्तै हो”, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिमा पुनःनिर्वाचित ट्रम्पले आफ्नो कार्यकाल सुरुलगत्तै क्युवालाई ‘राज्य प्रायोजित आतङ्कवादी देश’ को आरोप लगाई क्युवाविरुद्ध क्रूर आर्थिक नाकाबन्दी चालु राख्यो । विश्व स्वास्थ्य सङ्गठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी घोषणा ‘अमेरिकालाई महान् बनाउने’ ट्रम्पको भनाइसँग मेल खाँदैन ।”
“क्यानडा, ग्रीनलैन्ड, पानामा कब्जा गर्ने ट्रम्पको धम्कीले अमेरिकी अनुहारमा कालो धब्बा लागेको छ । अमेरिकामा संसारको सबभन्दा बढी ग्यास र तेल रहेको ट्रम्पको दाबी लिविया, इराक, मध्यपूर्वको तेल–ग्यास कुवा कब्जा गर्ने कुनियत पो हो कि ? सांसद सुवालले आशङ्का व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले राजनीतिलाई निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने क्षेत्रको रूपमा अघि बढाउँदै छ । जनताबाट निर्वाचित भएर सरकारमा पुगेकाहरू ठेकेदार, म्यानपावर कम्पनी सञ्चालक, शेयर कारोबारी, बीमा सञ्चालक, जलविद्युत् र भूमाफिया हुनुलाई निःस्वार्थपूर्वक देश र जनताको सेवा भन्न सकिँदैन ।”
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्थामा कार्य गर्ने सञ्चालकहरू सहकारीको मूल्य र मान्यताअनुसार इमानदार भई कार्य गर्नुपर्ने बताउँदै समस्याग्रस्त सहकारीहरूमा ठुलो रकम अपचलन गर्नेहरू ठुला राजनैतिक दलमा पदमा रहेका व्यक्तिहरू रहेको जानकारी दिनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको आगामी २०८१ फागुनमा हुने महाधिवेशनबारे जानकारी दिँदै स्थापनाकालदेखि नै नेमकिपाले निःस्वार्थ रूपमा देश र जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा रत्नकाजी नातरीले भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सवमा जीवनशैली प्रदर्शनी, पुराना लोपोन्मुख नाचहरू प्रदर्शनी, मौलिक खाजा व्यवस्थापनलगायत सांस्कृतिक प्रदर्शनीमा वडावासीहरूले गर्नुभएको सहयोगको सराहाना गर्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालले संस्थाले गर्दै आएको सामाजिक कार्यहरूबारे जानकारी दिँदै संस्थाले शेयर सदस्य र बालबचतकर्ताहरूको हितको निम्ति समय सान्दर्भिक तालिम, अभिमुखीकरणलगायतका विविध गतिविधि र कार्यक्रमहरू आयोजना गरिरहेको जानकारी दिनुभयो । उहाँले ‘भक्तपुर महोत्सव २०८१’ मा सांस्कृतिक टोली सहभागी भई महोत्सव सफल पु¥याउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका सभापति सत्यनारायण बासुकलाले संस्थाले भक्तपुर महोत्सवलगायतका गतिविधिहरूमा निरन्तर साथ र सहयोग दिने सदस्य र सांस्कृतिकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि संस्थाका गतिविधिहरूमा सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य चञ्चल सुवाल, सदस्य कविता खुसु, महिला तथा बालबालिका उपसमितिका सदस्य बद्रीलक्ष्मी कोजूलगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले साइबर क्राइमसम्बन्धी र ख्वप बहुप्राविधिक अध्ययन संस्थानका उपप्राध्यापक रविना सुवालले उच्च रक्तचापसम्बन्धी जानकारी दिनुभएको थियो ।
कार्यक्रममा भनपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर महोत्सव २०८१ मा सहयोग गर्नुहुने सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *