नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
पर्सा, १४ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पर्साको वीरगञ्जमा अवस्थित मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यबिच सोमबार विश्वविद्यालयमा भेटघाट भयो । उपकुलपति शाक्यले नगरप्रमुख प्रजापतिलाई मधेस विश्वविद्यालयमा स्वागत गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
उत्पादन श्रमसँग जोड्ने र अनुसन्धान केन्द्रित शिक्षा प्रदान गर्न भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको प्रस्ताव अघि बढाएको उहाँले बताउनुभयो । विश्वविद्यालयहरू अनुुसन्धानकेन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “सङ्घीयता संविधान र कानुनको पानामा मात्र सीमित छ, सिंहदरबारमा बस्नेहरूको सोचमा सङ्घीयता आएको छैन ।”
नगरपालिकाले कला, संस्कृति, विज्ञान, कृषि, कानुन, प्रविधि, अर्थशास्त्र र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइरहेको जानकारी दिँदै उहाँले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप मावि स्थापना गरी शैक्षिक क्षेत्रमा औपचारिक प्रवेश गरेको र २०५८ मा ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र २०६५ मा ख्वप कलेज अफ इन्जिनियरिङ र २०७९ मा ख्वप कलेज अफ ल सञ्चालन गरी जनताका छोराछोरीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोे बताउनुभयो ।
भेटमा उपकुलपति शाक्यले मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयले उच्च शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राख्दै आएको बताउँदै मधेसमा उच्च शिक्षाको विकासका लागि मधेस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
वीरगञ्जस्थित नेसनल ट्रेडिङको भवनमा सञ्चालन भइरहेको मधेस विश्वविद्यालय स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै उहाँले उक्त विश्वविद्यालय सन् २०२२ सेप्टेम्बर ७ मा औपचारिक रूपमा उद्घाटन भएको बताउनुभयो ।
वीरगञ्जमा पहिलेदेखि नै विश्वविद्यालय स्थापनाका लागि प्रयास हुँदै आएको बताउँदै उहाँले मधेस विश्वविद्यालयमा हाल ११० जना विद्यार्थीहरू उच्च शिक्षाका लागि अध्ययनरत रहेको जानकारी दिनुभयो ।
उपकुलपति शाक्यले मधेस क्षेत्रको आवश्यकताअनुसारका विषय बीएएलएलबी, एम.पी.ए. जस्ता विशिष्कृत विषयहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै विश्वविद्यालयले गुणस्तरीय शिक्षा र निष्पक्षरूपमा परीक्षाहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
एम.पी.ए. विषयअन्तर्गत सङ्घीयताको पाठ्यक्रम नै समावेश गर्ने तयारी गरिरहेको बताउँदै उहाँले मधेस विश्वविद्यालयले सीपमूलक शिक्षा प्रदानमा जोड दिँदै आएको बताउनुभयो । उहाँले हाल उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
स्थानीय तहहरूले यहाँको शिक्षामा अभिभावकत्व ग्रहण गर्न नसक्नु मधेस प्रदेशको ठुलो विडम्बना भएको धारणा राख्दै उहाँले मधेस विश्वविद्यालयले १० वर्षे रणनीति बनाएर अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा मधेस विश्वविद्यालयका रजिष्टार विजय यादवले मधेस विश्वविद्यालय र भक्तपुर नपाबाट सञ्चालित कलेजहरूबिच आवश्यक सहकार्य गरेर अगाडि बढ्न सकिने धारणा राख्दै स्थानीय तहहरूको सहयोग भएमा धेरै काम गर्न सकिने बताउनुभयो ।
प्रमुख प्रजापतिले उपकुलपति शाक्यलाई नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो । उक्त भेटघाटमा मधेस विश्वविद्यालयका रजिष्टार विजय यादव, डीन अन्जनकुमार मिश्र, नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोजकुमार साह, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, नेक्रायुसङ्घका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वाको पनि उपस्थिति थियो ।
Leave a Reply