भर्खरै :

थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के

थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के

गाजा सिटी, २७ जनवरी (एएफपी) । इजरायल र हमासबिच थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धले ध्वस्त गाजापट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन् ।
इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लगभग सबै बासिन्दाहरूलाई विस्थापित गरेको छ । गाजामा चलेको १५ महिनाभन्दा बढीको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले एक सम्झौताअन्तर्गत थप बन्धक–कैदी अदला–बदलीको लागि मार्गप्रशस्त भएको छ ।
हमासले नागरिक महिला बन्धकहरूलाई रिहा गर्न असफल भएको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूको ठुलो भीडलाई उनीहरूको घर फर्कनबाट रोक्दै आएको थियो । हमासको नेतृत्वमा रहेको प्यालेस्टिनी गृह मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार प्यालेस्टिनीहरूको भीड सोमबार बिहानैदेखि उत्तरतर्फ जान थालेको छ ।
“विस्थापित प्यालेस्टिनीहरूको बाटो खुल्न थालेको छ,” ती अधिकारीले भने ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार तीन जना र शनिबार अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको जनाएको छ । हमासले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त सहमतिको पुष्टि गरेको छ ।
यसैबिच प्यालेस्टिनी नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली’ गर्ने योजनाको निन्दा गर्दै युद्धग्रस्त क्षेत्रका बासिन्दालाई जबरजस्ती विस्थापित गर्ने कुनै पनि प्रयासको प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा ‘विध्वंसस्थल’ बनेको बताउँदै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग प्यालेस्टिनीलाई बाहिर निकाल्ने विषयमा कुरा भएको बताउनुभएको थियो ।
“इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु”, ट्रम्पले शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो, “तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए । मलाई थाहा छैन तर त्यहाँ केही हुनुपर्छ ।
सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले चलाएको अलअक्सा कारवाहीपछि आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् । शनिबार ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताउनुभएको थियो ।
इजरायलको कब्जामा रहेको वेस्ट बैङ्कमा रहेका प्यालेस्टाइनी नेता महमुद अब्बासले गाजाबाट प्यालेस्टाइनीहरूलाई विस्थापित गर्ने उद्देश्यले सञ्चालित कुनै पनि परियोजनाको कडा अस्वीकार र भत्र्सना गर्नुभएको छ ।
हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नईमले एएफपीसँग भन्नुभयो, “प्यालेस्टिनीहरूले यस्ता परियोजनाहरूलाई विफल पार्नेछन्, जसरी उनीहरूले ‘दशकौंदेखि विस्थापन र वैकल्पिक मातृभूमिका लागि’ यस्तै योजनाहरू गर्दै आएका छन् ।”
गाजामा हमाससँग मिलेर लडेको इस्लामिक जिहादले ट्रम्पको विचारलाई ‘निन्दनीय’ भनेको छ । इस्लामिक जिहादले भनेको छ, “प्यालेस्टिनीहरूका लागि गाजाबाट उनीहरूलाई अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । यसले सन् १९४८ मा इजरायलको स्थापनाको समयमा प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको अँध्यारो सम्झनाहरू जगाउने छ ।
“हामी ट्रम्प र सम्पूर्ण विश्वलाई भन्छौँ, जे सुकै भए पनि हामी प्यालेस्टाइन वा गाजा छोड्ने छैनौँ,” गाजाका विस्थापित बासिन्दा रशाद अल–नाजीले भन्नुभयो ।
अरब लिगले उक्त प्रस्तावलाई अस्वीकार गर्दै प्यालेस्टिनी जनतालाई आफ्नो भूमिबाट विस्थापित गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ ।
लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जबर्जस्ती विस्थापन र आफ्नो भूमिबाट मानिसहरूलाई निष्कासन गर्नुलाई जातीय सफाया मात्र भन्न सकिन्छ ।”
जोर्डनका विदेशमन्त्री अयमान सफादीले भन्नुभयो, “प्यालेस्टिनीहरूको विस्थापन योजनामा हाम्रो दृढ अस्वीकृति छ र स्थानान्तरण हुने छैन । जोर्डन जोर्डनका लागि हो र प्यालेस्टाइन प्यालेस्टिनीका लागि हो । इजिप्टको विदेश मन्त्रालयले प्यालेस्टाइनको ‘अविभाज्य अधिकार’ को कुनै पनि उल्लङ्घनलाई अस्वीकार गरेको जनाएको छ ।
इजरायलले बन्धक बनाइएकी एक महिला अर्बेल येहुदको रिहाइ नभएसम्म प्यालेस्टिनीलाई आवतजावतमा रोक लगाउने बताएको थियो । नेतन्याहूको कार्यालयका अनुसार उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
हमासले उत्तरमा फर्कन रोक्नु पनि युद्धविरामको उल्लङ्घन भएको बताउँदै येहुदको रिहाइका लागि आवश्यक सबै ग्यारेन्टी प्रदान गरेको जनाएको छ ।
इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले सोमबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि पैदल र बिहान ९ बजे कारमा फर्किन अनुमति दिइने बताउनुभएको छ ।
गाजा युद्धविरामको पहिलो चरणमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनीहरूको बदलामा ३३ जना बन्धकहरूलाई छ हप्तामा चरणबद्ध रूपमा रिहा गरिने सहमति भएको छ र सम्झौताका बुँदा अनुसार अन्यथा नभएमा यो आदानप्रदान सुनिश्चित गरिएको छ ।
पछिल्लोपटक भएको अदलाबदलीमा चार जना इजरायली महिला बन्धक, सबै सैनिक र २०० जना कैदी, लगभग सबै प्यालेस्टिनीलाई शनिबार रिहा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *