भर्खरै :

एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै

एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै

पेइचिङ, २९ जनवरी (एएफपी) । एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् ।
चिनियाँहरूले सन् २०२५ को वसन्त महोत्सवका लागि लगातार आठवटा सार्वजनिक बिदा पाउँछन् । यसमा खाना बाँड्ने, परम्परागत प्रदर्शनहरू हेर्ने र पटाका तथा आतसबाजी गर्ने अवसर पाउँछन् ।
वार्षिकरूपमा हुने यस जनसङ्ख्या स्थानान्तरणमा लाखौँ मानिस आफ्ना प्रियजनहरूसँग बिदा मनाउन घर फर्किने क्रममा देशभरका रेल स्टेसन र विमानस्थलहरू हप्तौँदेखि भीडभाडले भरिएका छन् । यसले यस वर्ष रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।
दक्षिण कोरिया, सिङ्गापुर, भियतनाम र थाइल्यान्डसहित पूर्वी र दक्षिणपूर्वी एसियाका धेरै भागमा उच्च सडकहरू, सपिङ मलहरू, कार्यालयहरू र घरहरू चाडपर्वको रातो ब्यानरहरूले सजाइएको छ ।
ताइवानमा बुधबार बिहान, सबै उमेरका मानिस टापुभरका मन्दिरहरूमा फलफूल, मिठाई, क्र््याकर र बदाम चढाउन, ध्यान गर्न र प्रार्थना गर्न भेला भएका थिए ।
३६ वर्षीया चेन चिङ–युआनले आफ्नी आमासँग ताइपेईको लोङ्सन मन्दिर भ्रमण गर्दा भन्नुभयो, “हाम्रो परम्परा भनेको यस वर्षको राम्रो भाग्यका लागि मन्दिरमा गएर प्रार्थना गर्नु हो । कुनै विशेष कुरा माग्नु आवश्यक छैन, केबल सहज, शान्तिपूर्ण, सुरक्षित र स्वस्थ वर्षको कामना गर्ने र सबै ठिक होस् भनेर प्रार्थना गर्ने हो ।”
त्रिहत्तर वर्षीय लिन यु–सुनले आफ्नो परिवारसँग लोङ्सन मन्दिर भ्रमण गर्दा ‘प्रार्थना गर्दा हामीलाई आध्यात्मिक सान्त्वनाको अनुभूति हुन्छ’ भन्नुभयो ।
केही मन्दिर–यात्रीहरूले सौभाग्यको खोजीमा पहिलो धूप बाल्ने दौडमा सहभागी भएर नयाँ वर्षको स्वागत गरे ।
ताइवानको मध्य–पश्चिमी युनलिन काउन्टीको फुसिङ मन्दिरमा प्रतियोगिता जितेपछि काओ मेङ–शुनले भन्नुभयो, “म बूढो हुँदा पछुतो नहोस् भनेर मैले यसमा सहभागी हुने निर्णय गरेँ । म जबसम्म जवान छु र ऊर्जा छ, यो कार्य गर्ने र यसको सदुपयोग गर्ने उत्तम समय हो ।”
हिमपातले यात्रामा ढिलाइ
मुख्य चीनमा चन्द्र नयाँ वर्षको बिदाअघि, बिच र पछिको परम्परागत ४० दिनको अवधिमा सबै प्रकारका यातायातमा करिब नौ अर्ब अन्तर–प्रान्तीय यात्री यात्राहरू हुने अपेक्षा गरिएको छ ।
यस वर्षको आप्रवासनको समयमा रेल र हवाई यात्राले ‘रेकर्ड उचाइमा पुग्ने’ अपेक्षा गरिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
दक्षिण कोरियामा मानिसहरू यस हप्ता गाउँमा आफ्ना परिवारलाई भेट्न जाँदा भारी हिमपातले रेल, विमान र बस तालिकाहरूमा अवरोध पु¥याएको छ ।
सियोलको मुख्य रेल स्टेसनमा यात्रुहरूले राजधानी छोड्ने तयारी गर्दा रङ्गीन कपडा र सामानमा लपेटिएका उपहारहरू बोकेको देखिएको थियो ।
स्थानीय मिडियाले जारी गरेका तस्बिरहरूमा तेज हावा र हिमपात जारी रहँदा दक्षिण कोरियाको प्रमुख राजमार्गमा हिउँले ढाकिएका सवारी साधनहरू अड्किएको देखाइएको छ ।
ट्राफिक अधिकारीहरूले सियोलबाट देशको बन्दरगाह सहर बुसानसम्म पुग्न मङ्गलबार सात घन्टाभन्दा बढी समय लाग्नसक्ने चेतावनी दिएका छन् । यो यात्रा सामान्यतया चार घन्टामा पूरा हुन्छ ।
धेरैले बिदा विदेशमा बिताउने विकल्प रोजे । जनवरी २४ देखि फेब्रुअरी २ सम्म २१ लाखभन्दा बढी यात्रुले विदेश यात्रा गर्न विमानस्थल प्रयोग गर्ने अपेक्षा गरिएको इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेटरले जनाएको छ ।
“यो विमानस्थल खोलिएपछि (सन् २००१ मा) चन्द्र नयाँ वर्षको बिदाको समयमा यो सबैभन्दा बढी औसत दैनिक यात्रु सङ्ख्या हुने अनुमान गरिएको छ,” अपरेटरले विज्ञप्तिमा भन्यो ।
चिनियाँ अन्तरिक्ष यात्री काई जुझे, सङ लिङडोङ र वाङ हाओजले मङ्गलबार तियाङगोङ अन्तरिक्ष स्टेसनबाट नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना पठाउँदै अन्तरिक्षमा पनि उत्सव विस्तार गर्नुभएको छ ।
चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले जारी गरेको भिडियोमा तीनै जनाले परम्परागत रातो बादल बुट्टा भएको निलो जम्पसुटमा चिनियाँ चरित्र ‘फु’ भएको कागज काट्ने दुई टुक्रा समातेको देख्न सकिन्छ ।
“नयाँ वर्षमा तपाईँका सबै सपनाहरू पूरा होऊन्,” वाङले आफ्नो टाउको माथि मुटुको आकार बनाउँदै भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *