अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा बुधबार देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’को वार्षिकी कार्यक्रम गरियो । हाल ‘श्रमिक’ साप्ताहिक ३२ औँ, ‘मजदुर’ दैनिक २७ औँ र ‘अनलाइन मजदुर’ नवौँ वर्षमा प्रवेश गरिसकेको छ । समाजवादी विचार बोकेको ‘श्रमिक’ र ‘मजदुर’ दैनिकको उक्त वार्षिकी कार्यक्रममा जनवर्गीय सङ्गठन, पेसागत सङ्गठनका नगरदेखि केन्द्रीय तहका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, पार्टी कार्यकर्ताहरू पत्रकार समाजमा आबद्ध व्यक्तिहरू, सहकारी, सामाजिक सङ्घ–संस्था, सञ्चारकर्मीहरूको उपस्थिति थियो । पत्रिकामा प्रकाशित राष्ट्रिय–अन्तर्राष्ट्रिय लेख, विचार र आन्दोलनबारे बोध गराउने र त्यसलाई जनताको घर–आँगनमा पु¥याउनुपर्ने आवश्यकता बोध गराइएको उक्त कार्यक्रममा आस्थाको पत्रिका पार्टी, जनताको लागि मात्र होइन देशको लागि पनि आवश्यक छ भन्ने सन्देश बाँडिएको छ ।
हाल प्रकाशनमा रहेका कति ठुलठुला र रङ्गीन पत्रिकाहरू आय आर्जनका निम्ति छापिएका हुन्छन् । मुनाफाको लागि चलाइएको पत्रिकाले देश र जनता जहाँसुकै रहे पनि वास्ता गर्दैन देश खान खोजे पनि, देशघाती सन्धि सम्झौता गरे पनि विरोध गर्दैन । भारतीय पक्षले हेक्टरका हेक्टर नेपाली जग्गा मिचे पनि आफ्नो भूमि जोगाउने विषयमा लेख लेख्दैन; समाचार लेख्दैन । उद्योग, कलकारखाना बन्द भएको लेखिन्छ तर बन्द किन भयो भन्ने कुरा खोतल्दैन । ती ठुला पत्रिकाहरूमा विभिन्न समाचार लेखिएको हुन्छ तर विचार हुँदैन । घटनामात्र लेख्ने होइन उपाय पनि लेख्नुपर्छ ।
नेता, कार्यकर्ताहरूमात्र होइन, सञ्चारकर्मीहरू पनि देश र जनताप्रति जिम्मेवार हुनुपर्छ; देश र जनताको विषयमा लेख–रचना लेख्नुपर्छ । दुई ठुला राजनीतिक दल एमाले र नेकाको नेतृत्वमा सरकार रहे पनि, देशमा ठुलाठुला र रङ्गीन पत्रिका प्रकाशित भइ रहे पनि भ्रष्टाचार अन्त्य गर्ने, नागरिक भावना जगाउने, अन्धविश्वास, कुरीति हटाउने, नागरिक भावनाको विकास गर्ने खालको लेख रचना र समाचार कममात्रै हुन्छ । संसारलाई आतङ्कित गर्ने, शान्ति बिथोल्ने, विकासमा बाधा हाल्ने, देश देश जुधाएर हतियार बिक्री गरी आय आर्जन गर्ने अमेरिकाको साम्राज्यवादी नीतिबारे कति सञ्चारकर्मीहरू बोल्दैनन्, लेख लेख्दैनन् । कसैले लेखिहाले पनि पत्रिका सञ्चालकहरूले छाप्न दिँदैनन् । के सञ्चारकर्मी र पत्रिका सञ्चालकहरू देशभक्त हुनुपर्दैन ? के उनीहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्दैन ?
समाज वर्गमा विभाजित छ । वर्गमा विभाजित समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ । त्यसरी नै पत्रिका पनि वर्गमा विभाजित हुन्छ । पत्रिका चलाएर अकुत सम्पत्ति कमाएर घर–जग्गा जोडेपछि उनीहरूलाई जनता रोग, भोक र शोकले मरे पनि कुनै वास्ता हुँदैन । भन्ने बेलामा सञ्चार क्षेत्र देशको चौथो अङ्गमा परेको भनिन्छ । चौथो अङ्ग बोकेको पत्रिकारिताले त्यहीअनुसारको जिम्मेवारी बहन गर्नुपर्छ कि पर्दैन ? सञ्चारकर्मीहरू भारतीय एकाधिकार पुँजीको विरोध गर्न डराउँछन् । के देश र जनताको समस्याबारे लेख्नु गलत हो ? गाउँ–गाउँ र बस्ती बस्तीमा राम्रो सन्देश छरेर जनतालाई जागरूक बनाउनुपर्ने सञ्चारकर्मीहरू नै पछि परे देश कसरी अघि बढ्छ ? देशको आवश्यकता कसरी पूरा हुन्छ ? ठुलठुला उच्चओहदामा बस्ने व्यक्तिहरू, ठुलठुला पत्रिका सञ्चालन गर्ने प्रबन्धक या सञ्चालकहरू आस्थाको पत्रिका सञ्चालन गर्न चाहँदैनन् । उनीहरू आस्थाको पत्रिका पनि हुन्छ र भनी आश्चर्य व्यक्त गर्छन् । आस्थाको पत्रिकाकै आधारमा पत्रिकाको श्रेणी झार्ने चेतावनी दिन्छन्; विज्ञापन बोर्डले जति विज्ञापनको दर राखेको हो त्यहीअनुसार उठाउनुपर्ने दबाब दिन्छन् । पत्रिकाको विज्ञापन दर बढेपछि सोहीअनुसारको पत्रिकाको श्रेणी विभाजन हुने सरकारी सञ्चारकर्मीहरू आखिर पुँजीकै पछि दगुरिरहेको थाहा हुन्छ ।
सञ्चार क्षेत्रमा आस्थाको पत्रकारिताको विकास गरिनु जरूरी छ । पत्रिका बिकाउन र बढीभन्दा बढी सम्पत्ति कुम्ल्याउन मात्र छापिने होइन । देश र जनताको समस्याबारे पत्रिकामा लेख लेख्नुपर्छ, समाचार लेख्नुपर्छ । कति पत्रिकाहरूमा अश्लील तस्बिर, अश्लील समाचार छापिएको हुन्छ । युवाहरूको मन बिगार्ने, नयाँ पुस्तामा मन्दविष छरेर मन भाड्ने खालको समाचार प्रकाशित गरिएको हुन्छ । यो युवालाई बिस्तारै गलत बाटोमा लैजाने काम हो† त्यस्तो काममा सञ्चारकर्मी र सञ्चालकहरूसमेत सचेत हुनुपर्छ ।
Leave a Reply