भर्खरै :

नेमकिपा स्थापनाकालदेखि काम गरिखाने जनताको पक्षमा सङ्घर्ष गर्दै

तनहुँ, १५ माघ । तनहुँको दमौलीमा नेमकिपाको पार्टी स्थापना दिवसबारे एक प्रशिक्षात्मक कार्यक्रम भयो ।
मङ्गलबार आयोजित उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले खोटा विचारविरुद्ध नेमकिपाले सङ्घर्ष गर्दै आएको चर्चा गर्नुभयो । पार्टी स्थापनाकालदेखि काम गरिखाने जनताको पक्षमा सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै उहाँले देश र जनताको निम्ति समर्पित, इमानदार, कर्तव्यनिष्ठ र अध्ययनशील कार्यकर्ताको खाँचो छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले युवाहरू कामदारवर्गको स्वर्ग समाजवाद स्थापनार्थ क्रियाशील हुनु जरुरी छ भन्नुभयो । आउँदो फागुन १६ देखि १९ गतेसम्म हुने पार्टीको आठौँ महाधिवेशनमा सक्रिय सहभागिताको निम्ति उहाँले आग्रह गर्नुभयो ।
लक्ष्मण अधिकारीले नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार समाज परिवर्तन गर्न लागिपर्ने बताउनुभयो ।
यसैगरी तनहुँको चुँदी रम्घा र अर्चलेमा स्थानीय जनतासँग पार्टी गतिविधिबारे छलफल गरियो ।
उक्त छलफल कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपालको कम्युनिस्ट आन्दोलनलाई सही मार्ग दिन नेमकिपाको स्थापना भएको बताउनुभयो ।
देशको सीमा रक्षा र सार्वभौमिकता रक्षाको निम्ति नेमकिपा क्रियाशील रहेको विचार व्यक्त गर्दै उहाँले साम्राज्यवादी र विस्तारवादी देशहरूले अन्य स्वाधीन देशलाई नवउपनिवेश बनाउने खतरा भएकोले नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो ।
युवा सङ्घका मिनबहादुर बाटा र राजु कपालीले नक्कली कम्युनिस्टहरूको छलछामबाट बच्न जनताले नेमकिपालाई रोज्नुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *