भर्खरै :

विश्वविद्यालय शिक्षासमेत निःशुल्क हुनुपर्ने

विश्वविद्यालय शिक्षासमेत निःशुल्क हुनुपर्ने

भक्तपुर, १७ माघ । पारागन एकेडेमीको २२ औँ वार्षिकोत्सव कार्यक्रम बुधबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने आवाज राख्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले करोडौँ नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको हुँदा नेपालीको कृषि भूमि बाँझो भयो† गहुँ र धानसमेत भारतसँग मागेर खानुपर्ने अवस्था भयो । अमेरिकाले युक्रेनलाई रूसविरूद्ध युद्ध गराएको हुँदा कालासागरबाट खाद्यान्न आपूर्ति नभएको भनी भारतले नेपाललाई गहुँ पठाएन । परिणाम अहिले गहुँ र मैदाको मूल्य बढ्यो । गरिबलाई झन् पीडा भयो ।”
देशको सामान्य अवस्था मासमेत सरकारले अध्यादेश जारी गरेको प्रजातन्त्रविपरीत भएको स्पष्ट पार्दै सांसद सुवालले भन्नुभयो, “कालोबजारी नियन्त्रण ऐन २०३२ मा भएको २० प्रतिशत बढी मुनाफा लिन नपाउने प्रावधान अध्यादेश जारी गरिँदा प्रतिबोरा रू. ४००। को सिमेन्ट रू. ८००। पु¥याइयो । यसरी सरकार कालाबजारीको पक्षमा लागेको स्पष्ट भयो ।”
सांसद सुवालले भन्नुभयो, “विद्यालय र कलेज देश र जनताको सेवा गर्ने र नयाँ पुस्ता तयार गर्ने थलो हो । विद्यालय र शिक्षक एवम् शिक्षिकाहरूले आफ्नो ठाउँबाट देश र जनताको के–कति सेवा भयो समीक्षा गर्नु आवश्यक छ । शिक्षक र शिक्षिकाहरूले नयाँ नयाँ पुस्तक अध्ययन गरी विद्यार्थीहरूलाई बताउनु जरूरी छ । पाठ्यपुस्तकसँगै विद्यार्थीहरूलाई सीप, खेलकुद, चित्रकला, हस्तलेखन, विदेशी भाषा, गीत, सङ्गीतको प्रशिक्षण दिनु उपयुक्त हुनेछ । नयाँ पुस्तालाई मदिरा र धूमपानबाट टाढा बस्ने शिक्षा दिनु जरूरी छ ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भक्तपुर शिक्षाको केन्द्र बन्दै जानुमा भक्तपुरका अग्रज शिक्षासेवीहरूको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रअनुसार काम गरिरहेको उल्लेख गर्दै भनपाले शैक्षिक ऋणका साथै छात्रवृत्ति प्रदान गरिरहेको बताउनुभयो ।
डा. इवामुरा अस्पतालका डा. विनोद दंगालले जीवनको सफलता विद्यार्थीको मिहिनेतमा भरपर्ने बताउनुभयो ।
डा. दंगालले विद्यार्थीलाई जङ्कफुडबाट टाढा राख्न सके विद्यार्थी स्वस्थ रहने धारणा राख्नुभयो ।
बाल विकासविज्ञ सानु अमात्यले विद्यार्थीको पढाइमा सुधार ल्याउनका लागि अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका उल्लेखनीय हुने र यो तीन पक्षबीच समन्वय र सहकार्य जरूरी भएको बताउनुभयो ।
शिक्षक तुल्सीहरि प्रजापतिले युग सुहाउँदो, माटो सुहाउँदो शिक्षा दिइरहेको पारागन एकेडेमीले शिक्षाको क्षेत्रमा उल्लेख योगदान दिइरहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कमलराज गोसाईं, यूएसडीएफका अध्यक्ष श्रीराम सुवाल, अभिभावक प्रतिनिधि सुजना बासुकलाले विद्यालयको सफलताको कामना गर्नुभएको थियो ।
कक्षागत रूपमा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई एकेडेमिक अवार्डद्वारा सम्मान गरिएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको थियो ।
उहाँले विद्यार्थीको प्रगति, शिकहरूको मेहनत र अभिभावकको मायाले विद्यालयले सफलता हासिल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका व्यवस्थापक रत्नवीर किसी, पूर्वविद्यार्थी एन्जल खड्काले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *