भर्खरै :

गोल्डेन गेटको ३८ औँ वार्षिकोत्सव सम्पन्न

गोल्डेन गेटको ३८ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १९ माघ । गोल्डेन गेट इङ्गलिश सेकेन्डरी स्कूलको ३८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भयो । विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बाँसुरीको मङ्गल धुनबिच उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि उपमेयर जोशीले गोल्डेन गेटले शिक्षित नागरिक तयार पार्न अभ्यास गर्दै आएको पठन संस्कृतिको विकास कार्यक्रम अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरलाई आधुनिक प्रविधिसहितको ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यअनुरूप ७ हजार विद्यार्थीसहित ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको उल्लेख गर्दै विद्यालयले देशलाई माया गर्ने र देशमै बस्ने राजनैतिक, सांस्कृतिक र ऐतिहासिक चेत भएको जनशक्ति तयार पार्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।
वडाध्यक्ष डा. हरिराम सुवालले शिक्षक, अभिभावक, विद्यार्थी तथा जनप्रतिनिधिहरूमा शिक्षासँगै संस्कार र संस्कृतिप्रति माया र देशप्रेमको भावना विकास गर्नुपर्ने बताउँदै देशमा युवाहरू रित्तिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
डा. सुवालले भक्तपुर नगरपालिकाद्वारा हालै आयोजित भक्तपुर महोत्सवमा विद्यालयले वडा नं. ६ मा प्रस्तुत गरेको नेवारी जीवन शैली गतिविधि र ख्वप कलेजमा प्रस्तुत गरेको शैक्षिक प्रदर्शनीको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
प्याब्सन अध्यक्ष राजन कसपालले विद्यालयका प्रिन्सिपल स्वयं कुशल शिक्षासेवी भएको उल्लेख गर्दै उहाँले भक्तपुर प्याब्सन र सदस्य विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न शिक्षक र विद्यार्थीहरूलाई तालिम र गोष्ठीमार्फत खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।
प्रिन्सिपल एवं को–फाउन्डर सिङ लामाले वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै बृहत् पठन, पुस्तक वार्ता, सर्जकीय रुपान्तरणमा परिलक्षित मकै घर, फोनिक्स पठन, पीबीएल सिकाइ, ईसीए फेस्टिवल, स्टार डे आदि विद्यालयका मौलिक अभ्यासहरूको सङ्क्षिप्त जानकारी दिनुभयो ।
अतिथि उपमेयर जोशीले विद्यालयले आयोजना गरेको ईसीए फेस्टिवलका १६२ जना विजेताहरूलाई पदक प्रदान गर्नुभएको थियो अर्का अतिथि डा. हरिराम सुवालले विद्यालयको पठन संस्कृति विकासमा परिलक्षित एक्स्टेन्सिव रिड कार्यक्रमअन्तर्गत ५० भन्दा बढी पुस्तक अध्ययन गर्ने २५ जना पाठकहरूलाई गोल्डेन रिडर्स ब्याच र अर्का अतिथि राजन कसपालले विद्यार्थीहरूमा अन्तर्निहित स्टार गुण प्रस्फुटन गर्न आयोजित गोल्डेन स्टारका नियमित प्रस्तुतकर्ताहरूलाई गोल्डेन स्टार तक्मा प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूको नृत्य, गायन, वाद्यवादन, नाटक, बुक रिभ्यु आदि प्रस्तुत गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *