भर्खरै :

विद्यार्थीलाई नमोः बुद्धको शैक्षिक भ्रमण लाँदा

विद्यार्थीलाई नमोः बुद्धको शैक्षिक भ्रमण लाँदा

विद्यार्थीहरूलाई पाठ्यपुस्तक र कक्षा कोठाको सिकाइ, पढाइले मात्र ज्ञान, शिक्षा पुग्दैन । भनिन्छ, सुनेको भन्दा आफ्नै आँखाले देखेको, आफ्नै आँखाले देखेको भन्दा आफै गएर हेरेको, सिकेको ज्ञान, शिक्षा, अनुभव दिगो र अविस्मरणीय हुन्छ । धेरै नम्बर ल्याएर पास गरे पनि विद्यार्थीहरू स्वस्थ भएनन् । उनीहरूले समाज चिनेनन् । उनीहरूले संस्कृति र संस्कारलाई चिनेनन् । त्यसैको परिणाम आज देश, समाज, संस्कृतिको माया, लगानी र योगदानलाई बिर्सेर बर्र्सेिन लाखौँ विद्यार्थीहरू पढ्ने नाममा विदेश गए । उनीहरू नेपालमा नभएको विषय पढेर, सिकेर देशको सेवा गर्न फर्केर आए त बेस हुन्थ्यो । तर, उनीहरू उतैको झिलीमिलीमा हराए र देशलाई बिर्से । उनीहरूलाई देश फकाउने प्रयास र वातावरण सरकारले बनाएन ।
केही दिनअगाडि विद्यार्थीहरूलाई देश चिनाउने, देशको प्रकृति, संस्कृति, भूगोल, इतिहासलाई चिनाउने, पढाउने, अनुभव गरेर सिकाउनुपर्छ भन्ने उद्देश्यले विद्यालयको वार्षिक कार्यतालिकाअनुसार कक्षा ७ का विद्यार्थीहरूलाई काभ्रे जिल्लाको नमो : बुद्धको भ्रमणमा लगेका थियौँ । विद्यार्थीहरूले पहिलो काभ्रेको नमोः बुद्ध हुँदै दाप्चाबाट २–३ किमि तल केही वर्ष अगाडि बनाएको जस्तो देखिने राम्रो, सुन्दर च्याङ्ग्रासे भगवान सेतो मच्छिन्द्रनाथ (करुणामय) को मूर्ति अभिरुचिपूर्वक अवलोकन गरे । सेतो करुणामय (मच्छिन्द्रनाथ) च्याङ्ग्रासे भगवान्लाई बुद्धको एक रूप मानिन्छ । हिमालमा पाइने च्याङ्ग्रा, हिमालजस्तो सेतो भएकोले त्यसको सम्बन्ध तिव्बत, चीनसँग पनि भएकोले त्यो देवतालाई नेपालभाषामा च्याङग्रासे भगवान भनिएको हुनुपर्छ ।
त्यो च्याङग्रासे भगवान (सेतो मच्छिन्द्रनाथ) नेपालबाट चीन गएको भनिन्छ । मच्छिन्द्रनाथलाई सहकालको देवता, अन्न फलाउने देवता पनि भनिन्छ । त्यसैले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका किसानहरूले ललितपुरको रातो मच्छिन्द्रनाथ, काठमाडौँको सेतो मच्छिन्द्रनाथ र नालाको सेतो मच्छिन्द्रनाथलाई जात्रा पर्व मनाउने चलन छ । चीन गएको सहकालको देवता, अन्न फलाउने देवता सेतो मच्छिन्द्रनाथ (च्याङ्ग्रासे भगवान्) लाई त्यहाँका त्यसबेलाका राजाले हात खुट्टामा सिक्रीले बाँधिराखेका थिए । च्याङ्ग्रासे भगवान् नेपालमा खेतीपाती बाली राम्रो भए भएन, जनताले खान पाए, पाएन् भने पिर परेर ‘मलाई छोडिदेऊ, म नेपाल जान्छु’ भनेर उठ्न खोज्दा उसलाई हेरचाहको लागि पहरा राखेको कुरुवाले ‘तपाईँ नेपाल जानुपर्दैँन (नेपालभाषामा नेपःलुँबु बह बुँ साय् चोँंगु द) अर्थात् तोरी र मुला सागको फूल, फल राम्रोसँग, लागिरहेको छ, नेपालमा खेतीपाती राम्रोसँग भइरहेको, अन्न फलिरहेको छ भनेर सम्झाएर, फकाएर त्यही राखेको भनाइ अग्रजहरूबाट सुनिन्छ । त्यसैले भक्तपुरका नेवार किसानहरूले मङ्सिरमा कालो धान भित्याउने बेलामा खेतदेखि घरसम्म बाटोमा, चोक, दोबाटोमा ‘वाः खासे ! वा ! खासे,!! च्याङ्ग्रासे भगवान् (मच्छिन्द्रनाथ)को जय भन्दै मच्छिन्द्रनाथ (करुणामय) को स्तुतीगान गाउँदै आउने चलन छ । जुन लोप भइसकेको अवस्था छ ।
दाप्चा बजारकै करिब १ किमि जति तल अर्थात् दाप्चा बजारको पूर्वी पुच्छरमा त्यहाँको बाटोछेउमै दुईतले दाप्चा भीमसेनको कलात्मक राम्रो मन्दिर छ । यो मन्दिरको अवलोकन भ्रमण गर्न काठमाडौँ उपत्यका र उपत्यका बाहिरका नेवार, गैरनेवार दाफा, भजन, समूदायक मानिसहरू त्यहाँ जाने गर्दछन् । त्यहाँबाट उत्तर र पूर्वतिरको लाङटाङ, गौरीशङ्कर हिमश्रृङ्खलाहरूको राम्रोसँग दृश्यावलोकन गर्न सकिन्छ ।
दाप्चा बजार प्रायः सुनसान देखिन्छ । तर, हिमाल भने मज्जाले देख्न सकिन्छ । यो पहिले नाम चलेको व्यापारिक केन्द्र, नेवार बस्ती हो । गाउँका मानिसहरू, व्यापारीहरू यो ठाउँ, बाटो भएर पूर्वको रामेछाम, ओखलढुङ्गा, सिन्धुली, उदयपुरलगायतका पूर्वी क्षेत्रको गाउँ, ठाउँ जाने र काठमाडौँ आउने गर्दछन् । धुलिखेलबाट तराई बर्दिबास पुग्ने बी. पी. राजमार्ग बनेपछि यहाँ पूर्वको मान्छेको आवतजावत रोकेर व्यापार व्यवसाय सुकेर गएको भनिन्छ । त्यहाँका मानिसहरू प्रायः बनेपा, काठमाडौँ बसाइँ सरेको पनि सुनिन्छ ।
दाप्चादेखि नमोः बुद्धको बाटोको छेउमा लटरम्म सुन्तला फलेको सुन्तला बारी देख्दा विद्यार्थी भाईबहिनीहरू रमाए । किसानले पसिनाको उचित मोल समयमा पाउनुपर्छ भन्ने आवाज त किसानहरूले बेलामा उठाउँदै आएका छन् ।
त्यस्तै आलु रोप्ने सिजन भएकोले किसानहरू खेतको फाँटमा खेत खलियानमा गाई भैँसीको प्राङ्गारिक मल ओर्सादै थिए । काभ्रे जिल्लालाई आलु खेतीको भण्डार पनि भनिन्छ । जहाँको आलु काठमाडौँलगायत अन्य ठाउँमा बेच्न लाने गरिन्छ । कृषिप्रधान देशमा आलु रोप्न किसानहरूले समयमा सहजरूपले शुपथ मूल्यमा रासायनिक मल पाए कि पाएनन् ? सोचनीय छ । हुन त सरकारले किसानको घरघरमा मल पुगेको छ । गोदाममा मल भरिभराउ छ । भारतबाट टनका टन वा लाखौँ बोरा मल आउँदै छ भनेर सञ्चारमाध्यममा कृषि मन्त्रीहरूले ध्वाङ फुक्ने गरिन्छ । तर, समयमा मल पुगेन भनेर देशभरका किसानहरू सरकारको कृषिमन्त्रीको आलोचना गर्ने गर्दछन्, विरोध गर्दछन् । हालसम्मका कृषि मन्त्रीहरूले सरकारहरूले कृषिप्रधान देशमा हाम्रै आफ्नै पौरखले सरकारी रासायनिक मल कारखाना खोलेर देशभरका किसानलाई मल वितरण गर्यौँ भनेर शिर ठाडो पारेर भन्न सकेको अवस्था छैन । सधैँ भारतको भरमा परेको छ । भोलि भारतलाई मल पुगेन भनेर रोपार्इँ वा खेतीको समयमा मल रोकिदियो भने के गर्ने ? आशा गरौँ, कृषिप्रधान देशका कृषि मन्त्रीले सरकारले देशमा आफ्नै पौरखले , बुद्धिले चाँडै मल कारखाना खोल्नेछन् ।
शैक्षिक भ्रमणको अन्तिम गन्तव्य धार्मिक र सांस्कृतिकरूपले महत्वपूर्ण नमोःबुद्धमा विद्यार्थीहरूलाई अवलोकन भ्रमण गरायौँ । नयाँ गुम्बालाई चिटिक्क पारेको छ । यो सबै विदेशी सहयोगबाट बनेको भन्ने सुनिन्छ । त्यस्ता सहयोगहरू कुनै व्यक्तिमार्फत कुनै संस्थाले सहयोग गरेको सरकारलाई थाहा हुँदैन, थाहा दिँदैन भन्ने सुनिन्छ । तर, मुख्य गुम्बाभित्रको बुद्धको मूर्तिभन्दा पनि अगाडि मुख्य ठाउँमा दलाई लामाको तस्बिर देख्दा मन दुख्यो । बुद्धको मूर्तिलाई भन्दा महत्व दिएर अग्रभागमा दलाई लामाको फोटो राख्नु कतै यो सबै उनैको नाउँबाट पश्चिमी देशहरूको सहयोगमा यी गुम्बाहरू बन्दै गएको त होइन ? यो कुनै छिमेकी मित्र देश चीनलाई घेरा हाल्ने, अप्ठेरोमा पार्ने, सहयोगको नाममा युद्ध तालिम केन्द्र बनाएको त होइन ? अहिलेसम्मको हस्तक्षेप, थिचोमिचो, उपनिवेश, आक्रमण, युद्ध यस्तै विभिन्न नाममा दिएको सहयोग, व्यापार, विकास, प्रजातन्त्र, धर्म आदिका बहानाबाट भएको इतिहासले देखाएको छ । नेपाल सरकार बेलैमा सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *