ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
इलन मस्क फासिवादी र प्रतिक्रियावादी राजनीतिको पक्ष लिन्छन् । उनले आफ्नो राजनीति पक्षधरता लुकाउँदैनन् । ट्रम्पलाई मात्र होइन मस्कले हाकाहाकी जर्मनीको नवनाजी पार्टी (अल्टरनेटिभ फर ड्युसल्यान्ड, एएफडी) लाई समर्थन गर्छन् । यसबारे मूलधारे मिडियामा प्रशस्त समाचार आइसकेका छन् । मस्कले बेलायती सुधार पार्टी (ब्रिटिस रिफर्म पार्टी) लाई पनि चन्दा दिएका छन् । यो एउटा फासिवादी पार्टी हो । यसले युरोपमा आउने गरिब देशका आप्रवासीहरूको विरोध गर्छ ।
हिजोआज मस्क विश्वका शासकहरूको राजनीतिक अनुहार बनेका छन् । तर, मस्को व्यक्तिगत राजनीति यसको झलक मात्र हो । खासमा, फासिवादले अमेरिकी शासकहरूको राजनीति र समग्र अमेरिकी इतिहासमै ठूलो भूमिका खेल्दै आएको छ । अमेरिकी शासकहरूले विभिन्न देशका फासिवादी आन्दोलन र तिनका नेता–कार्यकर्तालाई आफ्नो साम्राज्यवादी स्वार्थसिद्धीमा उपयोग गर्दै आएको छ ।
वास्तवमा, इलनको पारिवारिक पृष्ठभूमि नै फासिवादी छ । दक्षिणपन्थी राजनीति र अमेरिकी साम्राज्यवादलाई टेवा दिने इलन आफ्नो परिवारको पहिलो व्यक्ति होइनन् । सन् १९९० को दशकमा दक्षिण अफ्रिकामा रङ्गभेदी सत्ताको अन्त्य भयो । यसपछि त्यहाँका दक्षिणपन्थी नेता–कार्यकर्ता र तिनका घरपरिवारलाई साम्राज्यवादीहरूले शरण दिए । नेल्सन मन्डेलाले सत्ता सम्हालेपछि धेरै गोरा जातिवादीहरूले दक्षिण अफ्रिका छोडे र संरा अमेरिका पसे ।
मस्क परिवारको फासिवादी विरासत सन् १९९० को दशकभन्दा पुरानो हो । इलनका मावली हजुरबा (विन फ्लेचर) र हजुरआमा (जोसुआ हेल्डमन) सन् १९४० को दशकमा क्यानडामा थिए । दुवैजना धनाढ्य डाक्टर थिए र खुलमखुल्ला नाजी राजनीति गर्थे । इलनका बाबु इरोल मस्कले आफ्ना पूर्व सासुससुराबारे यसो भनेका थिए :
“उनीहरू हिटलर र उनको विचारलाई समर्थन गर्थे । मेरो विचारमा तिनलाई नाजीहरूका कर्तुतबारे धेरै कुरा थाहा थिएन । तर, उनीहरू (इलनका हजुरबा–हजुरआमा) क्यानडाको जर्मन नाजी पार्टी समितिमा थिए । जर्मनहरूप्रति तिनको सहानुभूति थियो ।”
दोस्रो विश्वयुद्धमा सोभियत सङ्घ र अन्य मित्रराष्ट्रबाट फासिवाद पराजित भयो । यसपछि पनि हेल्डमन र फ्लेचर नाजी राजनीतिमा सक्रिय नै रहे । तर, त्यति बेला क्यानडामा नाजी राजनीति छिछि–र–दूरदूरको विषय थियो । किनभने, हिटलरी सत्ताविरुद्धको लडाइँमा क्यानडाका धेरै सैनिकले ज्यान गुमाएका थिए ।
दुःखको कुरा पछिल्लोपल्ट क्यानडाले युक्रेनमा बसोबास गर्दै आएका सयौँ नाजी (पूर्व एसएस) अधिकारीहरूलाई आममाफी दियो । जस्तै यारोस्लाव हुन्का कुख्यात नाजी अधिकारी थिए । क्यानडाको संसद्ले हुन्कालाई सार्वजनिक रूपमा सम्मानित गरेको थियो । यसपछि क्यानडा सरकारको व्यापक आलोचना पनि भयो । क्यानडाले युक्रेनी नाजीहरूलाई आफ्नो साम्राज्यवादी स्वार्थसिद्धिमा लगाएको थियो । इलन मस्कका हजुरबा–हजुरआमाका साथै यारोस्लाभ हुन्का यसका उदाहरण हुन् । पश्चिमा शासकहरूले फासिवादी नेता–कार्यकर्ता र सङ्घसंस्थालाई साम्राज्यवादको सेवामा लगाउँछन् भन्ने प्रमाण यो पनि हो ।
क्यानडामा नाजी राजनीति घृणास्पद बनेपछि इलनका हजुरबा–हजुरआमा खिन्न र एक्लिएको महसुस गरे । त्यसैले उनीहरू रङ्गभेदी र जातिवादी दक्षिण अफ्रिकामा बसाइ सरे । त्यहाँ फासिवादी राजनीति गर्न खुला छुट थियो । इलनका हजुरबा–हजुरआमा सक्रिय राजनीतिमा होमिए । सन् १९५० को दशकमा इलनका हजुरबाले एउटा भाषण दिए । उनले रङ्गभेदी दक्षिण अफ्रिकाले “यहुदी बैंकपतिको अन्तर्राष्ट्रिय षड्यन्त्र” र “गैरगोरा जातिको पाखे बथान” विरुद्ध “गोरो इसाई सभ्यता” को नेतृत्व गरिरहेको दाबी गरे । यहुदी बैंकपतिहरूले गैरगोरा जातिलाई आफ्नो पकडमा रखेको उनको भनाइ थियो । यस्ता थिए इलनका हजुरबुबा । त्यसैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राज्याभिषेकमा इलनले नाजी सलाम गर्नु संयोग मात्र थियो भन्नुमा दम छैन ।
हेल्डमन र फ्लेचरकी छोरी थिइन् मायी । मायीले इरोल मस्कसँग विवाह गर्नु स्वाभाविक थियो । इरोल दक्षिणपन्थी राजनीतिमा जमेका युवा थिए । उनले एक बहुमूल्य रत्न (एमराल्ड, पन्ना) को खानीमा लगानी गरेका थिए । मायी मस्क आजीवन कट्टर फासिवादी रहिन् । लामो समयदेखि उनले डोनाल्ड ट्रम्पलाई समर्थन गर्दै आएकी छिन् । गत अक्टोबरमा सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट गर्दै उनले अमेरिकी डेमोक्र्याटहरूले मेक्सिकोको सीमाबाट “अवैध आप्रवासीहरू” लाई घुसाएर मत पाएका हुन् भनी दाबी गरिन् । गोरा जातिवादीहरू यस्तै तर्क गर्छन् । उनीहरू ‘महाविस्थापन सिद्धान्त’ मा विश्वास गर्छन् । यस सिद्धान्तले यहुदीहरूको एउटा गिरोहले अमेरिकामा काला र ल्याटिन अमेरिकी आप्रवासीहरूलाई घुसाएर गोराहरूलाई भित्तामा पु¥याउन चाहन्छ भनी दाबी गर्छ ।
दक्षिणपन्थी राजनीति र एमराल्ड खानीमा गरेको लगानीबाट इरोलले अकूत धन, प्रतिष्ठा र प्रभाव हासिल गरे । यसकै जगमा पछि इलनले सम्पत्ति जोरेका हुन् । इलन विश्वको सबैभन्दा धनी व्यक्ति बने । यसपछि उनी अझ निर्भीक र मुखर भएर फासिवादी गतिविधिमा अघि सरे । दक्षिण अफ्रिकाको रङ्गभेदी सरकारले जातिवादीहरूलाई सामान्य अफ्रिकी जनतालाई चरम शोषण गर्न खुला छुट दिएको थियो । अफ्रिकाको जातिवादी सरकारका साथै संरा अमेरिका र क्यानडाजस्ता पश्चिमा साम्राज्यवादीहरूले फासिवादी राजनीतिलाई छुट नदिएको भए इलन परिवारले त्यो विधि धनसम्पत्ति जोर्न सम्भव नै थिएन ।
रङ्गभेदी वा फासिवादी देशलाई समर्थन गर्नेहरूमा हेल्डमन र मस्क परिवार मात्र थिएनन् । उनीहरू जस्ता जातिवादी सोच राख्ने व्यक्तिको कमी छैन संरा अमेरिकामा ।
दक्षिण अफ्रिकाबाटै अमेरिका पुग्ने अर्का जातिवादी हुन् फरेन्सिक डाक्टर डेभिड फाउलर । उनले अमेरिकाका काला नागरिक जर्ज फ्लोयडको हत्या गर्ने घोर जातिवादी प्रहरी डेरेक चाउभिनको पक्षमा बयान दिएका थिए । यसपछि डाक्टर फाउलरको व्यापक निन्दा भएको थियो । रङ्गभेदी सत्ताको अन्त्य भएको एक वर्षपछि उनले सन् १९९१ मा दक्षिण अफ्रिका छोडेका थिए । यसपछि उनी अमेरिकाकी राज्य बाल्टिमोर र पछि मेरिल्यान्ड पुगे । अफ्रिकाकै रैथाने जनताले राजनीतिको लगाम सम्हालेको देशमा डाक्टरी गर्ने विचार उनलाई चित्त बुझेन । किनभने, उनी रङ्गभेदी विचारको सनक चढेका वैज्ञानिक थिए ।
अमेरिका पुगेको २० वर्षमा फाउलरले बाल्टिमोर र मेरिल्यान्डका प्रहरी विभागलाई मद्दत गरे । उनले जातिवादी बद्नियत राखी अमेरिकी प्रहरीले गर्ने असङ्ख्य हत्याहरूलाई ढाकछोप गर्न सघाए । ती हत्याकाण्डमध्ये सबैभन्दा कुख्यात थियो १९ वर्षीय एन्टन ब्ल्याकको हत्या । डेरेक चाउभिनले जर्ज फ्लोयडको घाँटीमा झन्डै १० मिनेटसम्म थिचेको हुनाले फ्लोयडको मृत्यु भएको जगजाहेर छ । तर, मृत्युको कारण चाउभिनको थिचाइ होइन भनेर बयान दिएपछि डाक्टर फाउलरमाथि आशङ्का बढ्न थाल्यो । यसकारण, सन् २०२१ मा मेरिल्यान्ड प्रहरीको हिरासतमा मरेका १,३०० भन्दा बढी मुद्दाको पुनः छानबिन गरियो ।
संरा अमेरिकी शासकहरूले दोस्रो विश्वयुद्धपछि नाजी अधिकारीहरूलाई आफ्नो साम्राज्यवादको सेवामा लिएको थियो । त्यो खुफिया षड्यन्त्रलाई “अपरेसन पेपरक्लिप” भनिन्छ । विश्वयुद्धपछि अमेरिकी गुप्तचर निकाय ‘सिआइए’ ले नाजी जर्मनीका १६ सय वैज्ञानिक, इन्जिनियर र प्राविधिकहरूलाई गुप्त रूपमा भगाएका थिए । ती नाजी अधिकारीहरूलाई संरा अमेरिकाले सोभियत सङ्घविरुद्ध शीतयुद्धमा प्रयोग गरेको थियो । तिनीहरूमध्ये धेरैजसो नाजी पार्टीका शीर्ष नेता थिए । तिनीहरूले यहुदी जातिका कैदीमाथि पाशविक प्रयोगहरू गरेका थिए । ती १६ सय नाजीलाई कहिल्यै अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभ्याइएन ।
२० औँ शताब्दीको उत्तरार्धभरि पहिलेका नाजी अधिकारीहरूलाई “पश्चिम जर्मनी” (जर्मन सङ्घीय गणतन्त्र) मा पुनः प्रयोग गरियो । सन् २०१० को दशकको बीचतिर वर्तमान जर्मन सरकारले ‘पश्चिम जर्मन’ प्रशासनमा पूर्व नाजी न्यायाधीश र अन्य न्यायिक अधिकारीको घुसपैठबारे अनुसन्धान गरेको थियो । छानबिनको प्रतिवेदनले के देखायो भने सन् १९५७ मा ‘पश्चिम जर्मनी’ को न्याय मन्त्रालयका ७७ प्रतिशत वरिष्ठ अधिकारी नाजी पार्टीका सदस्य थिए । अर्को अध्ययनबाट के पत्ता लाग्यो भने सन् १९७२ सम्म पनि ‘पश्चिम जर्मनी’ का न्यायिक निकायमा नाजी न्यायाधीशहरूकै बहुमत थियो । हिटलरका महान्यायाधिवक्ता नै सरकारी पद छोड्ने अन्तिम नाजी अधिकारी थिए । सन् १९९२ मा गएर उनले जर्मन न्याय मन्त्रालय छोडेका थिए । ‘द टाइम्स अफ इजरायल’ पत्रिकाले यो प्रवृत्तिलाई “नाजीहरूको पुनः प्रयोग” भनेको थियो ।
सर्वथा महङ्खवपूर्ण तथ्य के हो भने संसारका सबै साम्राज्यवादी देश तथा रङ्गभेदी शासनलाई फासिवादी घुसपैठले गाँजेको छ । यो सत्यलाई कसैगरी लुकाउन सकिन्न । साम्राज्यवादी शासक वर्गमा इलन मस्कजस्ता फासिवादीहरू पनि छन् । अर्को सत्य के पनि हो भने विगतदेखि नै मस्कजस्ता साम्राज्यवादी शासकहरूले पृथ्वीमा ब्रह्मलुट मच्चाउन फासिवादी राजनीतिलाई प्रयोग गर्दै आएका छन् । उनीहरूको लुटपाट अझै चल्नेछ ।
साम्राज्यवादी शासक वर्गले मुखले लोकतन्त्र र सभ्यता बहाल गर्ने कुरा गर्छ । आफूलाई लोकतन्त्र र सभ्यताका प्रवर्तक भन्छ । तिनीहरूले आफ्ना शत्रुलाई अत्यन्त क्रूर, असभ्य र बर्बर देखाएर प्रचार गर्छन् । यसैकारण, साम्राज्यवादी शासकहरू ती शत्रुविरुद्ध जतिसुकै बल प्रयोग गर्नु जायज हुन्छ भनी भ्रम छर्छन् । तर, मस्क परिवार जस्ता केही अति शक्तिशाली साम्राज्यवादीहरू आफैमा नाजी हुन् । नाजी हुनुमा उनीहरू खुलेआम गर्व पनि गर्छन् । शीतयुद्धको समयमा तथाकथित लोकतान्त्रिक ‘पश्चिम’ जर्मनीमा नाजी न्यायाधीशहरूले राइँदाइँ थियो । काला जातिका मानिसहरूको सबैभन्दा बाक्लो उपस्थिति रहेको अमेरिकी शहर दुई दशकसम्म दक्षिण अफ्रिकाका रङ्गभेदी डाक्टरका फर्जी रिपोर्टहरूको चपेटामा परिरह्यो ।
नयाँ मालिक पनि पुराना मालिकभन्दा कत्ति फरक रहेनन् ।
विश्वका श्रमजीवी जनतालाई नाजी अर्बपति, नाजी डाक्टर, नाजी न्यायाधीश अथवा एउटा पनि नाजी चाहिँदैन । कामदार जनतालाई रोजगारी, जमिन, खाना, पानी, स्वास्थ्य सेवा, र शिक्षा चाहिन्छ । साम्राज्यवादी शासक वर्ग मुर्दावाद ! इलन मस्क मुर्दावाद !
(लेखक लेभ कुफाक्स एक सामाजिक कार्यकर्ता हुन् । उनले यहुदीवादको विरोध गर्दै आएका छन् ।)
स्रोत : एमआर अनलाइन
सम्यक
Leave a Reply