भर्खरै :

आन्दोलन जनताप्रतिको असन्तोष हो

आन्दोलन जनताप्रतिको असन्तोष हो

देश आन्दोलनमय बनेको छ । सहकारी पीडितहरूको आन्दोलन चालु छ । सहकारी पीडितहरूको बचत फिर्ता लिन आन्दोलनबाहेक अर्को विकल्प छैन । सहकारी सञ्चालकहरूले करोडौँ, खरबौँ रकम ठगे । सहकारी पीडितहरूको आन्दोलन बेलाबखत भइरहेको छ । आ–आफ्नो बचत फिर्ता नपाएसम्म सहकारी पीडितहरूको आन्दोलन रोकिने छैन, रोकिनु हुँदैन । यसअघि मिटरब्याज पीडितहरूको आन्दोलन भएको थियो । मिटरब्याज पीडितले फागुन १८ देखि फेरि आन्दोलन तयारी गरेका छन् । माग पूरा नभए उक्त आन्दोलन देशव्यापी बनाउने तयारी छ । यतिबेला शिक्षकहरू पनि आन्दोलनमा उत्रेका छन् । पछिल्लो पटक पाथीभरामा केबुलकार बनाउने विषयमा पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा गोलीसमेत चलेको थियो । सांस्कृतिक सम्पदास्थलमा आफ्नो रोजी रोटीको माग गर्दै स्थानीयहरू आन्दोलनमा उत्रेका हुन् । यसरी नै उखु कृषकहरूको पनि माग पूरा भएको छैन । एमसीसीको विरोध र नेपाली नागरिकताको विषयमा देशभर विरोध प्रदर्शन भएको थियो । यो विरोध प्रदर्शनमा नेमकिपाको उल्लेख्य देन थियो । यसरी देश आन्दोलनमय बनिरह्यो ।
नेका र एमालेको नेतृत्वमा बनेको सरकारले एउटै प्रकरणको मुद्दामा आफ्नो पक्षकालाई मुद्दा नचलाउने र अरूलाई मुद्दा चलाएर विभेद गरेको समाचार पनि प्रकाशित भएको थियो । माघ २३ गतेको ‘नयाँ पत्रिका’ मा ‘अनुसन्धानको छाया : प्रतिशोध र हस्तक्षेपका दुई ताजा उदाहरण’ शीर्षकको समाचारमा ‘रविविरूद्ध सङ्गठित मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिलको सरूवा र काङ्ग्रेस सांसद चौधरी जोडिएको बाँसबारी जग्गा मुद्दा नचलाउने निर्णय’ उल्लेख गरिएको छ । यसले आफ्नो पक्षलाई छुट दिएको र अरू विपक्षलाई पेलेको थाहा हुन्छ । सोही पत्रिकामा ‘असन्तुष्ट स्वर समयमै सुन्दैन सिंहदरबार’ शीर्षकको समाचारमा महिना दिनयता मात्रै माइतीघरमा ११३ वटा विरोधको कार्यक्रम भएको खबर छ । पाथीभरामा ‘नो केबुलकार’ आन्दोलन चर्किँदै छ । जनताको समस्या सम्बोधन नगर्दा या बेवास्ता गर्दा जनताको विरोध बढ्दै गएको हो । शोषितपीडित जनताको समस्या समाधान गर्नेतर्फ सरकारको चासो गएकै छैन । यसकारण, हरेक दिनजसो कहीँ न कहीँ सरकारको विरोधमा जुलुस प्रदर्शन तथा सभा भइरहेकै हुन्छ ।
जनताले सरकारको विरोध गर्नुको अर्थ सरकारप्रति जनताको असन्तोष बढ्दै गएको अर्थ लाग्छ या सरकार जनताको समस्या समाधान गर्दैन । यहाँ कहिले जातीय विवाहको विरोधमा त कहिले बोक्सीको विरोधमा विरोध प्रदर्शन र सभा हुन्छ । तल्लो जातिले इनार, कुवामा पानी लिन नपाउने, मन्दिरमा पूजा गर्न नपाउने विभेद अद्यापि छ । बोक्सीको आरोपमा हुने शारीरिक तथा मानसिक यातना, कुटपिट, गाउँ निकाला गर्ने, दिसा खुवाउने, अर्धनग्न पार्ने, आँगनमा बाँधिराख्ने यावत् घटनाले समाजको स्थिति कस्तो रहेछ भन्ने कुरा यकिन गर्न गा¥हो छैन । नेपाली जनता सीमा अतिक्रमण, विदेशी हस्तक्षेपको विरोधमा पनि आन्दोलनमा उत्रनु जरूरी छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध तथा तटबन्धबारे पनि सीमाका जनता उठ्नु आवश्यक छ ।
यतिबेला माओवादी केन्द्र, एकीकृत समाजवादी दल वर्तमान सरकारको विरोधमा खनिएका छन् । उनीहरू सत्तामा बस्न नपाउँदाको रिस पोख्दै छन् । समाजवादी मोर्चाको चर्चा सत्तामा नरहँदा मात्र उठाउने होइन । सच्चा कम्युनिस्ट पार्टी जहिले पनि समाज परिवर्तनको निम्ति लड्छ; लड्दै छ । कम्युनिस्टहरू परिवर्तनकै निम्ति जनतामाझ पुग्छन्; जनतालाई देशको समस्याबारे अवगत गराउँछन् । जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्छ; सचेत र सङ्गठित बनाउनुपर्छ । यहाँ जति आन्दोलन हुन्छ, सङ्घर्ष हुन्छ, त्यति नै जनता सचेत र सङ्गठित हुन्छन् । आन्दोलन र सङ्घर्ष देश र जनताको समस्याबारे अवगत गराउने एउटा भरपर्दो माध्यम हो । संसद् होस् या सडकमा देश र जनताको पक्षमा कम्युनिस्ट पार्टीका नेता, मन्त्री र सांसदहरूले आन्दोलन गरिरहनुपर्छ; आन्दोलन गरेर जनतालाई सुसूचित पार्नुपर्छ । यसरी नै तराईका कृषकहरूको मोहियानी हक सुरक्षित गर्न किसान आन्दोलन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *