भर्खरै :

भनपाका खेलाडीलाई सम्मान तथा सांस्कृतिक परिचयसहितको भवनमा सहयोग

भनपाका खेलाडीलाई सम्मान तथा सांस्कृतिक परिचयसहितको भवनमा सहयोग

भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा २०८२ सालमा भक्तपुर जिल्लाबाट विभिन्न खेल प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेका वर्षका उत्कृष्ट पुरूष तथा महिला खेलाडी सम्मान तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल खेलाडी, रेफ्रि, निर्णायक तथा प्रशिक्षक प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकहरूलाई बुधबार सम्मान गरियो ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ४ वर्षे कार्यक्रमको अवसरमा भक्तपुर नपाको आयोजनामा भएको उक्त कार्यक्रममा वर्ष खेलाडी, रेफ्रि र निर्णायक तथा प्रशिक्षक प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षक गरी १११ जना सम्मानित भएको थियो ।
कार्यक्रममा पार्टी सचिव सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र सार्वभौमिकता रक्षाको लागि हुनुपर्ने आवश्यकता औँल्याउँदै खेलकुद पर्यटन प्रवद्र्धनसँग पनि जोडिएको बताउनुभयो ।
हाड–जोर्नीका विशेषज्ञ डाक्टरहरूले ५–७ वर्षदेखि नै बालबालिकालाई खेलकुदमा लगाउनुपर्ने र एकोहोरो कक्षा कोठामा मात्र सीमित गर्न नहुने सुझाव दिएबाट खेलकुदको महत्व स्पष्ट हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कतिपय देशमा विद्यालय र कलेजसँगै पर्याप्त खेलमैदानको व्यवस्था गरिएको हुन्छ । नेपालका अधिकांश विद्यालय र कलेजमा पर्याप्त खेलमैदानको बन्दोबस्त छैन । देशको सन्तुलित विकास गरिएको भए विद्यालय र कलेजमा पर्याप्त खेलमैदानको व्यवस्था हुने थियो ।”
सचिव सुवालले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्रीहरूको उमेर नयाँ भएर पुग्दैन । सरकारको नेतृत्वमा रहेको रास्वपाको विधानमा ‘शोषणरहित समाज बनाउने’ उल्लेख छ । यस्तो त निर्दलीय पञ्चायती सामन्तवादले पनि उल्लेख गरेको थियो । तर, शोषणरहित समाजको निर्माण भएन, पञ्चायती सामन्तवाद नै समाप्त भयो । शोषणरहित समाज निर्माणको लागि उत्पादनका साधनहरू सामाजिकीकरण हुनु जरुरी हुन्छ । रास्वपाको निर्वाचन घोषणापत्रमा आर्थिक उदारीकरण उल्लेख गरिएको छ । यसको अर्थ सार्वजनिक संस्थानहरू बिक्री गर्ने, विदेशी पुँजी र ऋण ल्याएर देशलाई नवउपनिवेश बनाउने हो ।”
“रास्वपा सरकारको नीति–कार्यक्रममा खेलकुद विकासको ठोस विषय उल्लेख भएन । विद्यालय र कलेजमा पर्याप्त खेलमैदान र खेल सामग्री व्यवस्था नहुने तथा खेलकुद भवन र रङ्गशाला धेरै भए अस्पताल र स्वास्थ्य केन्द्र कम भए पुग्ने नबुझेका सरकारहरू जनता र खेलाडीको लागि जरुरी छैन”, उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “भदौ २३ को हत्या र भदौ २४ गतेको आगजनीमा संलग्नहरूलाई उम्मेदवार हुन नपाउने व्यवस्था गरेर मात्र फागुन २१ गतेको चुनाव हुनुपर्ने थियो । यो घटनाको दोषीलाई कारबाही गर्न गठित छानबिन आयोगमा प्रहरी अधिकारीहरूले दिएको बयानमा भदौ २३ र २४ गतेको उपद्रवमा मादक र लागूपदार्थ सेवन गरेका, जेलबाट भागेका, प्रहरी सेवाबाट भागेका, गुण्डागर्दीमा लागेकाहरूले डण्डी, झम्पल, खुकुरी, गुलेलीलगायत हतियार बोकेको समेत भएको उल्लेख छ ।”
ट्रम्प र नेतन्याहुको इरानमा सैन्य आक्रमणसँगै इन्धनको अभाव बढ्ने र अबको ६ महिनामा १२० प्रतिशतसम्म मूल्य बढ्ने आकलन गरिएबाट संसारका ८० प्रतिशत गरिब जनताको जीवन थप कठिन हुने देखिएकोले खेलाडीहरूले युद्धको विरोध गर्नु जरुरी भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन आयोगले विद्युतीय मतदान र अनलाइन मतदानको व्यवस्था हुने ऐनको मस्यौदा गरेको छ । भारत र संरा अमेरिकामा यसरी भएको मतदानमा पनि सरकार पक्षले धाँधली गरेको यस अगाडि नै सार्वजनिक भएको हो । नेपाली मतदाता सबै विद्युतीय मतदान र अनलाइन मतदान गर्न सक्ने गरी शिक्षित भएका छैनन् । सरकारले नेपालका इन्जिनियरिङ कलेजहरूलाई आवश्यक सहयोग गरी विद्युतीय मतदान उपकरण र अनलाइन मतदानको सफ्टवेयरको निर्माण गराउनु आवश्यक छ । विदेशीको भरमा विद्युतीय मतदान र अनलाइन मतदानतर्फ सरकार लाग्नु उपयुक्त होइन ।”
सचिव सुवालले भन्नुभयो, “वरिष्ठ पत्रकार प्रतीक प्रधानले केही दिनअगाडि एक सञ्चारमाध्यममा ४० वर्षयता काठमाडौँ उपत्यकामा बनेका ९० प्रतिशत घरहरू भ्रष्टाचारबाट बनेको र आजका जेनजी भनिएकाहरू कतिपय तिनका छोराछोरी भएको संवेदनशील विषय राखेकोबारे सबै सचेत हुनु आवश्यक छ ।”
सरकारले देशको सन्तुलित विकास नगरेको हुँदा मुख्य मुख्य सहरमा बसोबास बढेकोले ती सहरका मानिसको फोक्सो रातो हुनुपर्नेमा कालो भएको विज्ञहरूले बताएको उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले नेमकिपाको घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले खेलाडी सम्मान, सांस्कृतिक परिचयसहितको घर निर्माणमा सहयोग, आवास योजना तथा कलेज र अस्पताल सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको इमानदारीपूर्वक सेवा गर्ने बाहेक जनप्रतिनिधिहरूको अरू कुनै छुट्टै स्वार्थ नभएको चर्चा गर्दै भक्तपुर नपाले जनताको आलोचना र सुझावहरूलाई आत्मसात गर्दै निरन्तर सेवामा समर्पित भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, भौतिक पूर्वाधार निर्माणलगायत संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माणका कार्यहरू गर्दै आएको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले खेलाडी र सांस्कृतिक गुरूहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहको स्वायत्तताको लागि हामीले लामो समयदेखि आवाज उठाउँदै आएका छौँ । हरेक सरकारले स्थानीय तहलाई केन्द्रको मातहतको एउटा निकाय वा आदेश पालकको रूपमा व्यवहार गर्दै आएको छ ।”
वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले गर्दै आइरहेको उदाहरणीय कार्यमध्ये खेलाडी सम्मान कार्यक्रम पनि एक हो भन्दै विद्यालयहरूको खेलमैदान नै खेलाडीको पहिलो कभर्ड हो भन्नुभयो ।
उहाँले खेलाडीको विकासमा राज्य जिम्मेवार नभएसम्म खेलकुद क्षेत्रलाई अपेक्षित रूपमा अगाडि बढाउन नसकिने धारणा राख्दै देशका प्रतिभाशाली खेलाडीहरू देश छोडेर विदेशको प्रतिनिधित्व गरी खेल्नु खेलाडीको निम्ति राज्यले प्राथमिकता नदिनु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको मापदण्डअनुसार मौलिक शैलीमा भवन निर्माण गर्नेलाई अनुदानको व्यवस्था गर्दै आएजस्तै खेलकुद क्षेत्रलाई अझ अगाडि बढाउन उद्देश्यअनुसार खेल क्षेत्रमा लाग्नेहरूलाई सम्मान गर्दै आएको बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले वर्ष उत्कृष्ट खेलाडीहरू घोषणा गर्दै सबैमा बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाको खेलकुद समितिलाई सक्रिय बनाउँदै खेलाडीको मनोबल बढाउन यस किसिमका गतिविधि आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्डअनुसार नियमित रूपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं. १ का सन्दिपकुमार जोन्छेलाई रु. १ लाख ४१ हजार, वडा नं. ३ का सर्जुमैंया अमात्य हाडा ÷शिवसुन्दर हाडालाई रू. १ लाख ९६ हजार, वडा नं. ५ का बुद्धलक्ष्मी मचामसीलाई रु. २ लाख ३१ हजार, वडा नं. ४ का प्रविनसिंह राठौर÷सुधिरसिंह राठौर/पुरन्द राठौरलाई रु. २ लाख ९१ हजार, वडा नं. ३ का गिरीगोविन्द सिलाकारलाई रु. ३ लाख, वडा नं. ४ का इन्द्र सिंख्वाललाई रु. २ लाख ७७ हजार, वडा नं. ५ का सुनमाया खाइतुलाई रु. १ लाख ६८ हजार, वडा नं. ७ का गीतामैंया न्हिसुतु प्रधानलाई रु. २ लाख ४ हजार गरी जम्मा रु. २१ लाख ११ हजार १३४ रुपैयाँ बराबर मोहडातर्फ प्रयोग हुने काठ, इँटा र झिँगटी खरिदको लागि अनुदान स्वरूप प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडीहरूलाई सम्मान पनि प्रमुख अतिथि सुवालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *