स्ववियु निर्वाचन चैत ५ गते हुने
- माघ ८, २०८१
काठमाडौँ, माघ २४ । त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्षको अध्यक्षतामा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा बुधबार त्रिवि उपकुलपतिको कार्यालय, कीर्तिपुरमा २०८१ चैत ५ गते तोकिएको स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनहरूसँग छलफल कार्यक्रम भयो ।
छलफलमा उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले विद्यार्थीका समस्या समाधान गर्न लागिपरेको उल्लेख गर्दै सबभन्दा बढी समस्या देखिएको परीक्षा र नतिजा प्रकाशनमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो ।
शिक्षाध्यक्ष खड्ग केसीले कुनै न कुनै पुस्ताको योगदानले देश समृद्ध हुने हुँदा हालका विद्यार्थी नेतृत्वले सो भूमिका खेल्न अनुरोध गर्दै कानुनी समस्याको कारण चैत ५ मा निर्वाचन सारेको जानकारी दिनुभयो ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले यसपटक पनि मिश्रित निर्वाचन प्रणालीमै चुनाव हुने जानकारी दिँदै चैत ५ गते हुने चुनावमा २०५३ फागुन २८ गतेपछि जन्मेका विद्यार्थी मात्र उम्मेदवार बन्न सक्ने बताउनुभयो । छलफलमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले राजनीति भनेको देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु हो भन्नुभयो ।
राजनीतिका नाममा हुने अराजनीतिक गतिविधि रोक्न र असल राजनीति सिकाउन विद्यार्थीलाई विश्वविद्यालयमा राजनीतिक गतिविधि गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यार्थी रोजगारीमा नलाग्ने हुँदा उम्मेदवारी शुल्क लिन नहुने सुझाव दिँदै केन्द्रीय अध्यक्ष गुरुङले त्रिविमा अध्ययनरत सबै विद्यार्थीलाई निर्वाचनमा भाग लिने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
“स्ववियु निर्वाचनको आचारसंहिता कडाइपूर्वक लागू गरी उल्लङ्घन गर्ने सङ्गठनको दर्ता खारेज गर्नुपर्छ, स्ववियु निर्वाचनको सम्पूर्ण आर्थिक हिसाब सार्वजनिक गरी पारदर्शी गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
स्ववियु निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सैद्धान्तिक छलफल र शैक्षिकस्तर उकास्ने दबुको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचन समितिको अगुवाइमा उम्मेदवार र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम गर्नुपर्छ भन्नुभयो ।
केन्द्रीय अध्यक्ष गुरूङले भन्नुभयो, “निर्वाचनको समयमा गैरविद्यार्थीको भर्ना रोक्नुपर्छ । स्ववियु निर्वाचन लक्षित सहुलियतमा भर्ना गर्नेहरूको भर्ना रद्द गर्नुपर्छ । गत निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा रू. २५०। मा भर्ना गर्नेहरू नै स्ववियु उम्मेदवार हुनु लज्जास्पद विषय हो ।”
“स्ववियु पदाधिकारीहरूलाई ठेक्कापट्टा तथा नियुक्तिमा भागबन्डा गर्न दिनुहुन्न । त्रिवि ध्वस्त पार्नेहरू, विद्यार्थीको कापी हराउने, नतिजा प्रकाशन अगावै कापीहरू जलाउने, परीक्षामा खुकुलो गर्ने र गराउनेलाई कारबाही गर्नुपर्छ”, केन्द्रीय अध्यक्ष गुरूङले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “त्रिविलाई निजीकरण गर्नेहरूलाई कारबाही गर्नु जरूरी छ । सर्वसाधारण जनताका छोराछोरीलाई अध्ययनबाट वञ्चित गर्नेहरूलाई कारबाही अगाडि बढाउनुपर्छ । त्रिवि क्याम्पस, विभाग तथा संस्थानहरूमा भ्रष्टाचार भइरहेको नियन्त्रण गर्नुपर्छ । वार्षिक रूपमा हिसाब पारदर्शी गर्नुपर्छ ।”
छलफलमा सहभागी विद्यार्थी सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरूले तोकिएकै समयमा निष्पक्ष र धाधलीरहित वातावरणमा स्ववियु निर्वाचन हुनुपर्ने माग राखेका थिए ।
Leave a Reply