भर्खरै :

मालदिभ्समा राजनीतिक सङ्कट बढ्दो

दुबई, यूएई, २२ माघ (रासस÷एएनआई) ः मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र त्यहाँको राष्ट्रपतिका कामप्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् ।
राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमको राजिनामा माग गर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउन भन्दै शहरका मुख्यमुख्य भूभाग, संसद तथा सर्वोच्च अदालतमा ठूलो सङ्ख्यामा प्रहरी तथा सेनालाई तैनाथ गरिएको यहाँको प्रतिपक्षी दल, सञ्चारमाध्यमलगायत प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रदर्शनकारी तथा प्रतिपक्षी दलले राष्ट्रप्रमुखको सर्वोच्च पदमा रहेका राष्ट्रपति यमिनले पुनरावेदन अदालतको आदेशलाई नमानेको भन्दै सत्तामा वसिरहन अयोग्य भन्दै प्रदर्शनलाई क्रमशः कडा बनाउदै लगेको बताइएको छ । उनीहरूले राष्ट्रपति भ्रष्ट भएको तथा मानव अधिकार उल्लङ्घनमा देखिएको र गलत रूपमा सत्ता चलाउन उद्दत बनेको आरोप लगाएका छन् ।
तर राष्ट्रपति यमिनले आरोपको खण्डन गर्दै आउनुभएको छ ।
मालदिभ्सको संसदमा प्रतिपक्षी दलका सदस्य इभा अब्दुल्लाहले भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा भन्नुभयो,“ राष्ट्रपतिले आन्दोलनकारी जनतासँग कि त शरण लिनुपर्छ कि राजिनामा दिनुपर्छ ।”
प्रतिपक्षी गठबन्धन दलका प्रवक्ता अहमद् महलुफले भन्नुभयो, “के राष्ट्रपति यमिनले अदालतको आदेश पालना गर्नुहुन्छ ? पक्कै गर्नुहुन्न ।”
सरकारले आन्दोलनको समर्थनमा रहेका दुई सांसदलाई सुरक्षा नियन्त्रणमा लिएको छ । सांसद अब्दुल्लाह सिनान र अहमद इल्हामलाई आइतबार पक्राउ गरी फौजदारी अदालतमा हाँजिर गराई सोमबार रिहा गरिएकको छ । उहाँहरू मालदिभ्सको निर्वाचनसम्बन्धि निकायले सर्वोच्च अदालतद्वारा पार्टी परित्यागसम्बन्धि आधारमा अयोग्य घोषणा गरेका पूर्वसरकारका करिब एक दर्जन सांसदमध्ये हुनुहुन्छ ।
प्रतिपक्षले उनीहरूको संसदमा पुनः बहाली गर्ने माग अघि सार्दै आएको छ । यदि उनीहरूको पुनः बहाली भएमा आन्दोलनरत पक्षको संसदमा बहुमत पुग्छ र सरकार गठनका लागि अधिकार जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *