भर्खरै :

ऋण व्यवस्थापन तालिम सम्पन्न

ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर, २९ माघ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम माघ २८ गते भक्तपुरमा सम्पन्न भयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीका अन्तर्राष्ट्रिय सात सिद्धान्तबारे प्रकाश पार्दै अध्यादेश अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त प्रतिकूल हुने गरी जारी व्यवस्थाको विरोध गर्नुभयो । सदस्यको बचत सुरक्षा र सदस्य केन्द्रित सामुदायिक सहकारी संस्थाको हितमा अध्यादेश जारी हुनुपर्नेमा उल्टै संसद् नै छलेर सहकारी ठगलार्ई पृष्ठपोषण गरेको उहाँको भनाइ थियो । उहाँले सहकारी समुदायको भएकोले सामुदायिक सहकारी संस्थालाई प्रोत्साहन हुने गरी बचतको सीमा कायम गर्नुपर्ने बताउनुभयो ।
सङ्घका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्वीकार्ने र ऋण लगानी गर्नु रहेको बताउनुभयो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा बचतसँगै ऋण लगानी सुरक्षित हुनुपर्ने बताउनुभयो । उहाँले सदस्यको विश्वास जित्ने ढङ्गबाट सुरक्षित ऋण लगानी तथा असुलीमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.का तालिम अधिकृत रवीन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । तालिम समापन कार्यक्रमको सञ्चालन सङ्घका अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *