भर्खरै :

सहकारी अध्यादेश र अभियन्ताको चेत

सहकारी अध्यादेश र अभियन्ताको चेत
नेपाल सरकारले सहकारी संशोधन अध्यादेशसहित ६ वटा अध्यादेशहरू चालु संसद्मा पेस गरेको छ । २०८१ पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सरकारी ऐन संशोधन अध्यादेशबारे विभिन्न क्षेत्र र व्यक्तिहरूबाट आ–आफ्ना प्रतिक्रियाहरू दिँदै आएको छ । यही परिप्रेक्ष्यमा सहकारी अभियन्ताहरूको दायित्व र आवाजबारे चर्चा परिचर्चा आजको सान्दर्भिकता हो । नेपाल सरकारले सहकारी अध्यादेश किन ल्यायो र त्यसको आवश्यकता किन प¥यो भन्ने विषयमा बहस गर्नु आवश्यक छ । सहकारी नियमन प्राधिकरण नै गठन गरिसकेको अवस्थामा नेपाल राष्ट्र बैङ्कसमेतको आवश्यकता किन प¥यो ? यसै विषयमा छलफल गर्नु आजको आवश्यकता हो ।
सहकारीमा सङ्कट निम्तिनुका कारणहरू
सहकारी ऐन २०७४ पछि डिभिजन सहकारी कार्यालयबाट सहकारी संस्थाको नियमन तथा अनुगमनको जिम्मा स्थानीय र प्रदेश सरकारमा गयो । सहकारी क्षेत्रमा विकृति बढ्यो । ८१ प्रतिशत स्थानीय तह र १९ प्रतिशत प्रदेशअन्तर्गत रहेका सहकारी संस्थाहरूलाई जनशक्तिको अभावमा उचित अनुगमन र नियन्त्रण गर्न सकिएन । सहकारी संस्थाहरू ऐन, नियम, मूल्य र मान्यताविपरीत पारिवारिक वा सामूहिक नाफामूलक व्यवसायको रूपमा परिचालित हुन थाल्यो । सहकारीको सुन्दर पक्ष स्वायत्तता र स्वनियमनलाई दुरूपयोग गरी सहरका सहकारी संस्थाहरूलाई सदस्यता वृद्धि तथा पुँजी वृद्धिजस्ता व्यावसायिक प्रतिस्पर्धामा उतार्ने कार्यले सहकारीको परिचय वस्तु तथा सेवाको गुणस्तरभन्दा पुँजी वृद्धि हो भन्ने भाष्य निर्माण गरियो । यहीँबाट सहकारी संस्थामा अधिक (ठुलो) रकम सङ्कलन गरी सञ्चालक तथा कर्मचारीबाट निजी व्यवसाय तथा घरजग्गामा लगानी गर्ने कार्यमा तीव्रता पायो । घरजग्गाको मन्दीसँगै बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकी एकपछि अर्काे सहकारी सञ्चालकहरूको भाग्ने प्रवृत्तिसँगै ती सञ्चालकहरूलाई उच्च राजनैतिक संरक्षण दिने कार्यले सहकारी क्षेत्र एकाएक सङ्कटग्रस्त बन्न पुग्यो । यसलाई सरकारले नियन्त्रण गर्न सकेन । इच्छाराज तामाङ, ज्ञानबहादुर तामाङ, रामबहादुर गौतम, केवी उप्रेतीलगायतका पात्रहरू उच्च राजनैतिक संरक्षणमा रही सहकारीमा सङ्कट निम्त्याउनेहरू हुन् ।
सहकारी अध्यादेश ल्याउनु पर्नाका कारणहरू
सहकारी क्षेत्रको समस्या समाधान हुनुभन्दा विगत साढे २ वर्षदेखि समस्या बढ्दै गयो । एउटै सहकारीबाट अरबौँ रकम लिएर फरार हुने सञ्चालक र व्यवस्थापकहरू एकपछि अर्काे थपिए । स्थानीय तह, प्रदेश, प्रहरी प्रशासन, सीआईबी, सहकारी विभागलगायत निकायमा उजुरीको चाङ थप्दै गयो । यसबिचमा सहकारी विभाग, सहकारी मन्त्रालय र वाग्मती प्रदेश सहकारी मन्त्रालयबाट सहकारी समस्या समाधान गर्न धेरै गोष्ठी, सेमिनार तथा अन्तरक्रियाहरू भए । ती अन्तरक्रियाहरूमा सहकारीको समस्या समाधान गर्न नसकेर सहकारी विभागले हात उठाएको थियो । त्यस छलफलमा सहकारी क्षेत्रको समस्या समाधान गर्न प्राधिकरणको गठन, नेपाल राष्ट्र बैङ्कलाई जिम्मा दिने वा दोस्रो तहको संस्था (सीटीआई) गठन गर्ने सम्बन्धमा लामो छलफल तथा बहस पैरवी हुँदै आएको थियो । यी छलफल तथा अन्तरक्रियामा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ (नेफस्कुन), राष्ट्रिय सहकारी बैङ्क लि. र राष्ट्रिय सहकारी महासङ्घको सक्रिय सहभागिता र अह्म भूमिका सबैमा जगजाहेर छ । कसैले ठोस धारणा दिने सास गरेन । केबल आ–आफ्नो दम्फू बजाउने काम मात्र भयो ।
सहकारी अध्यादेशमा अभियन्ताको धारणा
सहकारी अभियन्ताहरू पहाडको उच्च भेगमा पुगेपछि फेदलाई बिर्सेझैँ सहकारीको वास्ताविक धरातल ग्रामीण क्षेत्र र साना सहकारीलाई बिर्सने गर्दछन् । सहकारी सिद्धान्त, मूल्य र मान्यताबारे आफू अनुकूल व्याख्या गर्दछन् । सहकारी अध्यादेश आउनुभन्दा अगाडि मौन रहेका सहकारीकर्मीहरूले अध्यादेशलाई आ–आफ्नो अनुकूल मिलाएर धारणा राखेका छन् ।
अध्यादेशले सहकारीको मूल मर्म स्वायत्तता र स्वनियमनलाई विस्थापित गरी सहकारीलाई वित्तीय संस्थाको रूपमा परिणत गरेको छ । सहकारी अभियन्ताहरूले यसबारे चासो देखाएका छैनन् । अझ लाज पचाएर नेफस्कुनले छुट्टै पुनः वित्तीय सहकारी ऐन माग गरेको छ । के सहकारी वित्तीय संस्था हो ? कि जबरजस्ती वित्तीय संस्थामा धकेलिएको हो ? सहकारी अभियानको उच्च तहमा आसीन व्यक्तिहरूमा सहकारीको दर्शनबारे थोरै पनि ज्ञान छैन । सबै आर्थिक कारोबार गर्ने संस्था वित्तीय संस्था हुँदैन । सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि स्वतःस्फूर्त परम्परादेखि चलिआएका दाफा, गुठीहरूले आ–आफ्ना सदस्यलाई आवश्यक समयमा ऋण सहयोग प्रदान गरेको विगतदेखि वर्तमानसम्म जगजाहेर छ । के तिनीहरू पनि वित्तीय संस्था हुन् ? सहकारी अभियन्ताहरूको यो खोटपूर्ण विचार हो ।
अहिले सहकारी अभियन्ताहरूले सहकारी समस्या कसरी हल गर्न सकिन्छ भन्नेतर्फ समाधान दिनसकेका छैनन् । समस्याको समाधान दिन नसक्ने व्यक्तिहरू नैतिकरूपमा अभियानको माथिल्लो तहमा बस्न उपयुक्त हुँदैन । सहकारी अध्यादेशबाट उनीहरूले आ–आफ्नो स्वार्थ अनुकूल प्रेस विज्ञप्ति जारी गरेका छन् । बचतको सीमा हटाउनुपर्ने, दुई कार्यकालमात्र सञ्चालक रहन पाउने प्रावधानमा समग्र अभियानकर्ताहरू संशोधन गर्नुपर्ने पक्षमा छन् । अध्यादेशले समग्र सहकारी क्षेत्रमा के कस्तो प्रभाव पार्दछ भन्ने विषयमा राष्ट्रिय सहकारी महासङ्घ र नेपाल बचत तथा केन्द्रीय सहकारी सङ्घ (नेफस्कुन) को धारणा बनाउनुको सट्टा महासङ्घले ‘स्थिरीकरण कोष’ महासङ्घमार्फत परिचालन गर्नुपर्ने र नेफस्कुनले केन्द्रीय सङ्घमार्फत ‘केन्द्रीय वित्त सहायता कोष’ सञ्चालन गर्नुपर्ने माग गरेको छ । जहाजमा सवार सबै यात्रुहरू डुबे पनि आ–आफ्नो दुनो सोझ्याउन तल्लीन छन् महासङ्घ र नेफस्कुन । यही हो ‘बौद्धिक दरिद्रता’ ! विगत १० वर्षदेखि जिल्ला तथा प्रदेश संरचना खारेजको लविङ गरेको नेफस्कुन अध्यादेशमार्फत सफल पार्ने दाउमा छ ।
सहकारीमा नेपाल राष्ट्र बैङ्कको प्रवेश
अध्यादेशले नेपाल राष्ट्र बैङ्क ऐन ‘बैङ्क, वित्तीय संस्था वा सहकारी’ थप गरेर सहकारी संस्थालाई आर्थिक सामाजिक संस्था (Social Economic Organization) को सट्टा विशुद्ध वित्तीय संस्थाको रूपमा लिएको छ । अब सहकारी, सहकारी रहेन जसरी दलहरूले आफ्नो नामअनुसार काम गर्न नसकी नाम फेरेका छन्, सहकारीको नाम केही वर्षभित्र फेरेमा आश्चर्य मान्नु पर्दैन ।
नेपाल राष्ट्र बैङ्कले सहकारी सङ्घ संस्थालाई दिएको मस्यौदा निर्देशनमा २५ करोडभन्दा माथिका बचत तथा ऋण सहकारी संस्थालाई अनुगमन गर्ने जनाइएको छ । राष्ट्र बैङ्कको जारी मापदण्डअनुसार सहकारी संस्था सञ्चालन र परिचालन कति सम्भव हुन्छ ? आम सहकारीकर्मीहरूबिच चर्चा चलेको छ । अर्काेतर्फ सहकारी मूल्य र मान्यताविपरीतको सहकारीको आवश्यकता किन ? नेपाल राष्ट्र बैङ्कको ऐन नियममा सहकारी सञ्चालन र प्रवद्र्धन असम्भव छ र आवश्यक पनि छैन । सिद्धान्तविपरीतको सहकारी सहकारी रहँदैन । जे भए पनि महासङ्घका अध्यक्ष ओमदेवी मल्ल र नेफस्कुन अध्यक्ष चन्द्रप्रसाद ढकालको घैँटोमा बल्ल घाम लाग्यो र सहकारी मन्त्रीसँगको भेटमा सानो स्वरमा सहकारीलाई राष्ट्र बैङ्कअन्तर्गत राख्न नहुने भन्न थाल्यो । छुट्टै वित्तीय सहकारी ऐन माग गर्ने तर राष्ट्र बैङ्क मातहत नराख्ने, विडम्बना !
सारांश
दस लाख, पच्चीस लाख र पचास लाखको व्यक्तिगत बचत सीमाले हाल भइरहेको र राम्रोसँग चलिरहेको सहकारी संस्थाभित्र केही समयपछि बचत फिर्ता गर्नुपर्ने बाध्यता र ऋण नउठी समस्या निम्तिन्छ । यसतर्फ सरकार सचेत हुनैपर्दछ । अर्काेतर्फ दुई कार्यकाल मात्र सञ्चालक बन्न पाउने प्रावधान संशोधन गर्नु वाञ्छनीय देखिन्छ । तर, स्थापनाकालदेखि सञ्चालक कायम रहने प्रवृत्तितर्फ सचेत रहनुपर्दछ । समुदायमा आधारित सहकारीले समग्र देशको सहकारी क्षेत्रमार्फत आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पु¥याएको छ । सहकारी ऐन र अध्यादेशभन्दा सहकारीलाई एउटा स्थानीय तहभित्र सीमित गरी स्थायी बासिन्दाहरूबिच मात्र कारोबार गरेमा बाधा अवरोध आउँदैन । प्यास लाग्यो भन्दैमा विष पिउनु हुन्न । देशी विदेशीको इसारामा बन्ने र बनाउने ऐन, नियमभन्दा ग्रामीण भेगको माटो सुहाउँदो नियम आवश्यक छ । समुदायमा आधारित सहकारी अभियानको लागि गाउँ–गाउँबाट आन्दोलन गर्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *