वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
चियाङसीमा किसानको सोभियत सङ्घ गठन गर्न माओले चिनियाँ समाजवादलाई सोभियत सङ्घको भन्दा फरक स्वरूपमा स्थापित गर्न पहिलो कदम चाल्नुभयो । सोभियत सङ्घको कम्युनिस्ट पार्टीका प्रमुख जोसेफ स्तालिनले चीन सामन्ती समाज थियो र अझै पनि जमिनदार र दासबिच प्राचीन करारको सम्बन्ध रहेको विचार राख्नु हुनुहुन्थ्यो । कम्युनिस्ट इन्टरनेसनलमा एक प्रमुख वक्ताका रूपमा स्तालिनको दृष्टिकोणमा ठुलो शक्ति थियो । जब उहाँ कम्युनिस्ट राज्य बन्नका लागि चीन तयार छैन भन्नुहुन्थ्यो, यसको माक्र्सवादी सिद्धान्त तथा चिनियाँ इतिहासबारेमा आफ्नो अपूर्ण ज्ञानका आधारमा कडाइका साथ व्याख्या गर्नुहुन्थ्यो ।
अर्कोतर्फ माओसँग चिनियाँ इतिहासको धेरै राम्रो ज्ञान थियो । उहाँले माक्र्सका रचनाको अक्षरशः पालना नगरी माक्र्सवादी सिद्धान्तमा आफ्नै किसिमको दृष्टिकोण बनाउनुभयो । वास्तवमा माओले ‘क्रिटिक अफ पोलिटिकल इकोनोमी’ पढेको भए माक्र्सको विचार पनि उहाँले आफ्नै सरह पाउनुहुने थियो । माक्र्सले आधुनिक चीनलाई यथार्थमा सामन्ती समाज भन्नुभएको थिएन । चीन सरसामानको ठुलो बजार थियो । त्यहाँ कुनै पनि खालको व्यापारिक बन्देज थिएन र मनग्गे मुनाफा कमाउन व्यापारीहरू स्वतन्त्ररूपमा यात्रा गर्दथे । तथापि, औद्योगिक क्षेत्रको मूल्यमा चीनको सुदृढ व्यावसायिक क्षेत्र विकास भएको थियो । चीनका पुँजीवादीहरू उद्योगमा लगानी नगरेरै धनी भइरहेका थिए र यसले चीनको आर्थिक स्वास्थ्य कमजोर बनाइरह्यो ।
माओलाई यही विश्वास थियो । हामीले देख्यौँ, माओले मुख्य वर्गीय शत्रु ‘नोकरशाही दलाल पुँजीपति’ वा विदेशी व्यापारीका अधिकारीलाई मान्नुभएको थियो । क्रान्तिकारी पथमा उहाँ बुर्जुवालाई उपेक्षा गर्न र बरु किसानलाई सशक्त बनाउन चाहनु हुन्थ्यो, “एक तेज र प्रचण्ड शक्ति, जसलाई कुनै पनि शक्तिले पछाडि धकेल्न नसकोस् ।” त्यो आँधीबेहरीले चीनलाई आधुनिक सभ्यतामा डोहो¥याउने छ ।
चियाङसीमा माओले कम्युनिस्ट किसान समाजको व्यावहारिकता बारेमा आफ्नो सिद्धान्त परीक्षण गर्न सक्नुभयो । उहाँकै शब्दमा, “सहरलाई पछाडि छाड्ने गरी देशको निर्माण गरिनुपर्छ ।” सबै शास्त्रीय माक्र्सवादी सरह उहाँले श्रमिक किसान गठबन्धनमा विश्वास गर्नुहुन्थ्यो तर क्रान्तिमा धक्का दिने सैनिक चाँडै सङ्गठित गर्न सकिने जनता भएका ग्रामीण क्षेत्रबाट आउने विश्वास उहाँको थियो ।
सन् १९३१ नोभेम्बरमा माओ चिनियाँ सोभियतको अन्तरिम केन्द्रीय सरकारको अध्यक्ष चुनिनुभयो । यसले सारतः उहाँलाई स्वायत्त राज्यको राष्ट्रपति तथा आफ्नो दैनिक स्वास्थ्यमा जिम्मेवार बनायो । कर मिनाहा तथा कृषकहरूमा भूमिको समान विभाजन गर्ने निर्देशन जारी गरेर उहाँले सबैभन्दा पहिले जनतालाई सम्पन्न बनाउने कदम चाल्नुभयो । यी कदमबाट बेरोजगारी दर घट्यो र बजारबाट खाद्यवस्तु र सरसामान खरिद गर्न परिवारको क्रय शक्ति बढ्यो ।
दुर्भाग्यले चियाङसीमा विभिन्न वस्तुको अभाव थियो । यसो किन भएको थियो भने जनरल च्याङ काइसेकले कम्युनिस्टहरूले आत्मसमर्पण गर्ने आशामा पहाडी कन्दराहरू वरिपरि नाकाबन्दी लगाइराख्नुभएको थियो । मुनाफाखोरहरूले नाकाबन्दीको फाइदा उठाए र मूल्य अस्वाभाविकरूपमा बढाए । माओले खाद्यवस्तु वितरणमा नियन्त्रण बनाएर त्यस्ता कालोबजारीलाई समाप्त पार्ने कदम उठाउनुभयो । उहाँले किसानहरूलाई खाद्य सहकारी सञ्चालन गर्न निर्देशन दिँदै अभावमा परेकाहरूलाई न्यायपूर्ण वितरणको संयोजनका लागि केन्द्रीकृत ‘एजेन्सी अफ फुड रिलिफ’ (खाद्य राहत संस्था) स्थापना गर्नुभयो ।
आधुनिक अर्थव्यवस्था वस्तु विनियममा मात्र सीमित नरहेको बुझाइ माओको थियो । आफ्नो समाजवादी अर्थव्यस्थालाई सम्हाल्न पुँजीवादी बजारका आर्थिक उपकरण प्रयोगको विपक्षमा माओ हुनुहुन्थेन । श्रमिकहरूलाई शेयर वितरण गर्दै उहाँले ‘लाल शेयरबजार’ जारी गर्नुभयो र ३० लाख अमेरिकी डलर बराबरको ऋणपत्र निकालेर निर्माण कार्यका लागि ऋण उठाउनुभएको थियो । उहाँको दृष्टिकोणमा जनताको अतिरिक्त मूल्यको प्रतिनिधित्व गर्ने पुँजी नराम्रो हुन्छ तर जनताको सेवा गर्ने पुँजी उपयोगी हुने गर्छ । उहाँले पुँजीवादको विरोध गर्नुभयो तर पुँजीको विरोध गर्नुभएन ।
लाभकारी पुँजी उठाउनका लागि माओ ऋणमा भर पर्नुभयो । ऋण उठाउन आफूले जनताको विश्वास जित्नुपर्ने कुरा माओलाई राम्रोसँग थाहा थियो । उनीहरूको विश्वास जित्न माओले ‘जनताको समस्या समाधान गर्ने’ कुरामा केन्द्रित हुने सङ्कल्प लिनुभयो ।
उहाँले जियाङसीमा सामाजिक कार्यको एउटा सञ्जाल विकास गरी सोभियत प्रणालीअन्तर्गतको सरकारको श्रेष्ठता प्रवद्र्धन गर्न त्यसको प्रयोग गर्नुभयो । चियाङसी सोभियतका प्रारम्भिक वर्षहरूमा विद्यालय खोलिए र वेश्यालय बन्द गरिए । लाल सेना आउनु पहिले सक्रिय लागू औषध अम्मली र प्रचलनमा रहेको बाल दासत्व चियाङसीबाट गायब भयो ।
अध्यक्ष माओ, सोभियतका राष्ट्रपतिले अर्थतन्त्र विकास गर्ने र जनताको जीवन सुधारमा सामाजिक सहयोग उपलब्ध गराउनेहरूलाई पुरस्कृत गर्नुभयो । माओको विचारमा च्याङ काइसेकको खाद्यवस्तु नाकाबन्दी तथा कम्युनिस्टलाई उनीहरूको पहाडी गढमा विवश पार्ने सबै प्रयासका अगाडि ती साथीहरूले सोभियत चीनलाई टिक्न पर्याप्त बलियो बनाउने छन् भन्ने थियो । तर, माओ त्सेतुङ गलत हुनुभयो । सोभियत प्रशासनको कार्य राष्ट्रवादीहरूबाट चियाङसीलाई सुरक्षित गर्न पर्याप्त भएन । तीन वर्षसम्म टिकेपछि सन् १९३३ मा लाल सेनाले चियाङसी पहिलोपटक आउँदा माओ त्सेतुङले भनेको ः जब सेनाले आक्रमण गर्छ, हामीले पछाडि हट्नुपर्छ भन्ने अन्तिम छापामार शैली अपनायो । कम्युनिस्टहरू पहाडबाट प्रस्थान गरे ।
जब उनीहरू चीनभरि ‘लङ मार्च’ का लागि सम्मिलित भए माओ र उहाँका अनुयायीले ती तीन वर्षमा आफूहरूलाई पालेर राख्ने जनतालाई छाडेनन् । चियाङसीका महिला, बालबालिका र बूढापाकाहरूसहितका हजारौँ किसान माओले ‘विशाल घर भत्काउने कार्य’ भन्ने गरेको अभियानमा सैनिकहरूका साथमा आए ।
घर पुनः जोडिएको हेर्न तीमध्ये सबै जीवित रहेनन् होला ।
– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट
Leave a Reply