भर्खरै :

जापानसँग चीनको युद्ध कसरी दीर्घकालीन भएको थियो ?

जापानसँग चीनको युद्ध कसरी दीर्घकालीन भएको थियो ?

सन् १९३७ सम्म जापानसँगको परिस्थिति जटिल भइसकेको थियो । आफ्नो राजधानी नानचिङमा बसेर जनरल च्याङ काइसेकले जापानी सेनाको खतरा निरन्तर बेवास्ता गर्नुभयो किनभने उहाँ उत्तरी क्षेत्रमा कम्युनिस्टहरूको चलखेलले विचलित हुनुहुन्थ्यो । यनान गणतन्त्रसँग च्याङ काइसेकको धुन व्यक्तिगत खतरा बन्नगयो । शान्सीमा कम्युनिस्टहरूमाथि नयाँ आक्रमण गर्न जब च्याङ काइसेक आफ्नो राजधानी बाहिर निस्कनुभयो एउटा युद्ध सरदारले उहाँको अपहरण गरे । मञ्चुरियामा जापानी कब्जाविरुद्ध नलडे सेनाधिपतिलाई मारिदिने कसम ती सरदारले खाएका थिए ।
विचारयोग्य कुरा के छ भने च्याङ काइसेकको उद्धार यनानबाट भयो । माओ त्सेतुङले जब आफ्नो दुश्मन अपहरणमा परेको सुन्नुभयो उहाँ त्यसको फिरौती दिन सहमत हुनुभएको थियो । यदि च्याङ काइसेकको जीवन रक्षा गर्न आफू सफल भए जापानविरुद्ध एकजुट हुने बाहेक च्याङसँग कुनै विकल्प नरहने माओले ठान्नुभएको थियो । उहाँले सोच्नुभयो, आक्रमणकारीहरूलाई हराएपछि भातइको झगडामा फकौँला ।
माओको विचार सही भयो । च्याङ काइसेक कम्युनिस्टहरूसँग युद्धविराम गर्न सहमत हुनुभयो । ६ महिनापछि राष्ट्रवादी सेनाले जापानीसँग पहिलोपटक लडाई लड्यो । दोस्रो चीन–जापान युद्ध प्रारम्भ भयो ।
सन् १९३७ सम्म राष्ट्रवादीहरूले एकपछि अर्को पराजय व्यहोरे । बेइजिङ, साङ्घाई र राजधानी नानचिङ जापानीको कब्जामा गयो । विशेषगरी नानचिङको कब्जा क्रूरतापूर्ण थियो । ६ हप्ताको अवधिमा जापानी सैनिकले जसरी चिनियाँ गैरसैनिकको हत्या र बलात्कार गरे त्यसको कहिल्यै कल्पना गरिएको थिएन । यो घटना इतिहासमा कुख्यात घटनाको श्रेणीमा पर्न पर्याप्त थियो ।
पराजय व्यहोर्दै जाँदा माओ त्सेतुङले टाढा आफ्नो गुफामा नौ दिनरात बसेर एकपटक फेरि आत्ममूल्याङ्कन गर्नुभयो । जब उहाँ बाहिर निस्कनुभयो उहाँसँग ‘अन प्रोट्राक्टेड वार’ ग्रन्थ थियो ।
त्यस ग्रन्थमा माओले जापानसँगको युद्धलाई रक्तपातमा डुबेको राजनीतिका रूपमा व्याख्या गर्नुभयो । उहाँले औँल्याउनुभयो, राष्ट्रवादी÷कम्युनिस्ट गठबन्धन बन्यो तर त्यो दशौँ लाख सैनिक र किसानको जीवन आहुतिको मूल्यबाट तयार भएको थियो । जापानी र चिनियाँले क्रूर रणनीति प्रयोग गरे तर विशाल देशमा एकछत्र नियन्त्रण बनाउन असफल रहे ।
जापानले हवाईमा रहेको अमेरिकी जलसेनाको आधार शिविर पर्ल हार्बरमा आक्रमण नगरुञ्जेलसम्म सैन्य अवस्थामा सुधार आएको थिएन । भोलिपल्ट अमेरिकाले जापानविरुद्ध युद्ध घोषणा गर्यो । जुन द्वितीय विश्वयुद्धको थालनी थियो । जापानले सन् १९४५ मा मित्र राष्ट्र (ब्रिटेन, फ्रान्स, अमेरिका, सोभियत सङ्घ र चीनकासाथै कयौँ अन्य देश) का अगाडि घुँडा टेक्दा पनि चीनको केही भाग जापानी सैनिकको कब्जामै थियो ।
सेनाधिपति च्याङ काइसेकमा प्रथम विश्वयुद्धको अन्त्यमा आफ्ना पूर्ववर्तीले गरेको सरह आफूले गल्ती गर्नु हुन्न भने बुद्धि पलाएको थियो । युद्धपछिको एसियामा शक्ति विभाजनमा सहमतिका लागि जब द्वितीय विश्वयुद्ध विजेताहरूबिच कायरोमा भेटघाट भयो, च्याङ काइसेकले बराबरीको उपस्थिति जनाउनुभयो । सन् १९१४ देखि जापानीद्वारा कब्जामा राखिएका सबै क्षेत्र फिर्ता पाउनु पर्ने माग उहाँले राख्नुभयो । चीन अन्ततः कम्तिमा पनि क्षेत्रगत रूपमा एकजुट हुने थियो । यो प्रश्नको उत्तर खोज्नु बाँकी थियो, विजेता देशको नेतृत्व : च्याङ काइसेक र राष्ट्रवादीहरू वा माओ त्सेतुङको कम्युनिस्टहरू, कसले लिने ?

साभार : माओ त्सेतुङबारे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *